मइ दिवस : चुनौतीहरुको घेरा भित्र


बैशाख १८, २०८२, बिहीबार | विहान ०४:४२ बजे | 35


मइ दिवस : चुनौतीहरुको घेरा भित्र

सुनील सापकोटा,भक्तपुर आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। यसलाई मजदुर दिवस , मइ दिवस आदि नाउँले पनि बुझिन्छ। अमेरिकाको शिकागो बाट आठ घन्टा काम,आठ घन्टा मनोरञ्जन र आठ घन्टा विश्रामको माग राखी शुरु भएको त्यो मजदुरहरुको आन्दोलनको फलस्वरूप दुनियाँका विभिन्न ट्रेड युनियनहरुको आज यो विकसित रुप हो भन्न सकिन्छ। श्रम इतिहासको अध्यन गर्दा आज श्रमिकहरुको जुन अवस्था छ त्यस्तो पहिले थिएन। अहिलेको आधुनिक सन्दर्भमा श्रमिकवर्ग लाई दुई भागमा बाँडेको पाइन्छ । एउटा कोठामा बसी मानसिक रुपमा कलम बाट काम गर्ने कर्मचारीवर्ग। जसलाई " ह्वाइट कलर लेवर " । अर्को फ्याक्ट्री मा शारीरिक श्रम गर्ने मजदुरवर्ग जसलाई " ब्लू कलर लेवर " भनिन्छ । नेपालमा अहिले ट्रेड युनियन ऐन लागु भएपनी मजदुर वा श्रमिक वर्गहरु ठगिएकै छन्। बीस बर्षको मेरो बैंक जागिर अवधीमा मैले लगभग बार्ह बर्ष ट्रेड युनियनमा सक्रिय भइ काम गरिसकेको अनुभवले भनेको हुँ । जब म २०४६ सालतिर बेला नेपाल बैंक लिमिटेडमा कार्यरत थिए, त्यो समयमा सो बैंकका कर्मचारीहरु आफ्नो पेशागत हक - हित र अधिकारका सवालमा बोल्न सक्तैन थिए । त्यो बेला कर्मचारीहरू बैंक ब्यवस्थापनको डर, दबाब र अन्योल बीच आफ्नो दैनिकी बिताइरहेका थिए। सोही समयमा केही निडर उत्साही सहकर्मीहरू साथिहरु सँग मिलेर हामिले नेपाल बैंक कर्मचारी संघ नामक एक बैंक युनियनको स्थापनामा गर्‍यौ । त्यसपछि दस वर्ष भन्दा बढि समय मैले सो युनियन र अर्को युनियन नेपाल वित्तीय संस्था कर्मचारी संघको विभिन्न पदिय तहहरुमा बसेर नेतृत्व गरेको हुँ । त्यो यात्रा सहज थिएन। तर अत्यन्त महत्वपूर्ण थियो। आज झन्डै २२ वर्षपछि म मइ दिवसको अवसरमा म फेरि एकपटक श्रमिक आन्दोलनका मूल्य र वर्तमान अवस्थाबारे सोच्न बाध्य छु। त्यो बेलामा हामीले जुन आशा, आत्मबल र इमानदार उद्देश्य सहित युनियन खडा गरेका थियौं। आज त्यो भावना यहाँ अहिलेका अधिकांश युनियनहरूमा हराएको देखिन्छ। नेपालमा आजको युनियनहरूको चरित्र प्रायः राजनीतिक दलहरूको शाखा संगठन जस्तै देखिन्छ। युनियनको शीर्ष नेतृत्व दलको निर्देशनमा काम गर्ने र श्रमिकको असल मुद्दा द्वितीयक बन्ने प्रवृत्तिले युनियन को मूल उद्देश्यमै आज प्रश्न उठाएको छ। जब युनियनहरु राजनीतिक रंगले रंगिन्छ, तब त्यो श्रमिकभन्दा पहिले पार्टीको स्वार्थमा समर्पित र यहींबाट सुरु हुन्छ , श्रमिक आन्दोलन पतन। अब समय आएको छ कि हामी स्वतन्त्र, उत्तरदायी र श्रमिककेन्द्रित ट्रेड युनियनहरूको सुदृढ संरचना निर्माणतर्फ अघि बढौं। यस्ता युनियनहरूले न कुनै दलको भजन गाउने, न अरूको एजेन्डा बोकेर हिंड्ने छन। अब यहाँ येस्ता युनियनहरूको स्थापना हुनु पर्छ। अहिले पनि यदि केही समर्पित, विवेकशील र अनुभवी श्रमिक अगुवाहरूले अघि सरे भने स्वतन्त्र ट्रेड युनियनहरू स्थापना सम्भव छ। यस्ता संगठनले श्रमिकको न्यूनतम पारिश्रमिक, स्वास्थ्य सुरक्षा को प्रत्याभूति, कामको ग्यारेन्टी र सामाजिक न्यायका सवालमा प्रभावकारी दबाब सिर्जना गर्न सक्छन्। अहिले श्रमिक वर्गहरुको समस्या र चुनैती विगतको तुलनामा धेरै छ। वर्तमान बिश्व आर्थिक मन्दीको बेला सबैभन्दा पहिला त हाम्रो जस्तो गरिव मुलुकहरूमा मजदुरहरु लाई चाहिने न्यूनतम तलब, भत्ता सुबिधा नै हो। त्यसपछि ब्यापक बेरोजगारी अनि पेन्सनको ब्यवस्था नहुनु पनि एक प्रमुख समस्या हो। आज नेपालमा श्रम बजार पनि राजनैतिक दलका केहि नेताहरु , केही पुँजिपतिहरु , ठेकेदारहरु र दलालहरुको कब्जामा हुनु , श्रमिक महिलाहरु माथि यौन शोषण हुनु , समाजमा जताततै वाल मजदुरहरु देखिनु , असंगठित क्षेत्रका मजदुरहरुको हक - हितका लागि अहिलेसम्म ट्रेड युनियनहरुले केहि गर्न नसक्नु , हाम्रो जस्तो देशमा स्वतन्त्र ट्रेड युनियनहरु नहुनु र ट्रेड युनियन ऎन आए पनि CBU " कलेक्टिभ बार्गेनिङ युनिट " को निर्वाचन एक दुईभाग स्थान बाहेक अहिले सम्म हुन नसक्नु आजको ठुलो चुनौती हो। ज्यादा के लेखुँ । अन्तरास्ट्रिय मइ दिवसको अवसरमा सबैमा मेरो हार्दिक शुभकामना । इति।

Comments