अक्षय तृतीया पर्व
बैशाख १७, २०८२, बुधबार | विहान ०४:३० बजे | 30
सुनील सापकोटा
आज अक्षय तृतीया पर्व। अक्षय भन्नाले "कहिल्यै समाप्त नहुने" अर्थात् ( जसको कहिल्यै अन्त हुँदैन) भन्ने अर्थ लाग्छ। हिन्दुहरुको मान्यतामा यो दिन सौभाग्य र सफलताको संकेत हो। यस दिनलाई ‘सर्वसिद्धि मुहूर्त दिन’ पनि भनिन्छ। किनभने यस दिन शुभकार्यका लागि पात्रो हेर्नु आवश्यक हुँदैन भन्ने विश्वास छ। हिन्दुहरुको प्रायः सबै चाडपर्वहरु मिथकमा आधारित छ। यो पर्व पनि हिन्दु धार्मिक मान्यता अनुसार आजको दिनमा भगवान् विष्णुको अवतार परशु राम जन्मिएको मानिन्छ।अनि महाभारत अनुसार पाण्डवहरूलाई यही दिनमा अक्षय पात्र (अक्षय पात्र अर्थात् कहिले नसकिने भोजनको पात्र) प्राप्त भएको थियो। भगवान श्रीकृष्णले द्रौपदीको लाज बचाउन यही दिन अक्षय पात्रबाट भोजन दिनुभएको थियो अरे। मेरो बिचारमा चाहिँ नेपाल र भारतमा बहुसंख्यक हिन्दु धर्मावलम्बी मानिसहरु बसोबास गर्ने र पेशाले कृषि गर्ने भएकाले गर्मी यामको आगमनमा हरियाली फसललाई हेर्दै मानिसहरूमा खुसीको संचार हुने हुँदाविभिन्न व्रत र पर्वहरू मनाउने चलन भएको हो कि जस्तो मलाई लाग्छ। पौराणिक मान्यताअनुसार यस दिन गरिने दान, स्नान, पूजा, जप र धार्मिक कर्मले अनन्त फल दिन्छ भन्ने विश्वास छ। तर आजको आधुनिक समाजको सन्दर्भमा हेर्दा रुढीबादी रुपले यो पर्व मनाउनु केवल ब्यक्तिको मनको शान्ति भन्दा अरु केही होइन् । यो पर्व पनि हाम्रो अरु पर्वहरु जस्तै हुने खानेहरुको लागि बाह्य प्रदर्शन र उपभोगवादी संस्कृतिको चपेटामा परिरहेको देख्छु। विशेषतः यो पर्वको दिन सुन चाँदीको किनमेल मा अत्यधिक जोड दिइनु, सामाजिक र व्यक्तिगत स्तरका लागी केही नकिने अशुभ हुन्छ’ भन्ने चिन्ता गर्नु आदि आर्थिक असमानता बढाउने प्रवृत्तिले हाम्रो समाजमा द्वन्द र असन्तोष फैलाउँछ भन्ने कुरामा पनि सबैले विचार पुर्याउदा राम्रो होला। त्यसैले अक्षय तृतीयालाई एकपटक आत्म समीक्षाको दृष्टिले हेर्ने कि ? यो पर्वको मूल उद्देश्य आत्मशुद्धि र परोपकार हो भने त्यस लाई सादा जीवनशैली, सामाजिक सेवा, ज्ञानदान वा पर्यावरणीय संरक्षण जस्ता आधुनिक सन्दर्भ संग मेल खाने कर्म संग जोड्नु यथार्थपरक र समाजोपयोगी हुन्छ कि ? अन्त्यमा अक्षय तृतीयाले वास्तवमै ‘अक्षय’ अर्थ धारण गरोस् भन्ने चाहाना राख्ने हो भने त्यो केवल पूजाआजा, सुन-चाँदीमा सीमित भएर होइन कि मानवता, समानता र विवेकमा आधारित व्यवहार मार्फत मात्र सम्भव हुन्छ होला। अक्षय तृतीया पर्वको सबैमा शुभकामना । ** धन्यवाद !