भक्तपुरको काक्राबारीको प्लटिंग पीडितको हारगुहार जस्ताको तस्तै  


बैशाख १६, २०८२, मङ्गलबार | दिउँसो ०१:०२ बजे | 160


भक्तपुरको काक्राबारीको प्लटिंग पीडितको हारगुहार जस्ताको तस्तै  

सूर्यविनायक नगरपालिका वडा नं ९. काँक्राबारीस्थित घिसिङ डाँडामा निक भुजिकीक हाउजिङ् कम्पनीले दैनिक २५ देखि २७ वटासम्म डोजर चलाएर सामुदायिक भित्री वनको क्षेत्र अतिक्रमण गरी वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूलसमेत बिगार्ने काम भएको छ । साथै स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको पाइपलाइनसमेत क्षतविक्षत पारेर स्थानीय जनतालाई खानेपानीबाट वञ्चित पारिएको छ ।
उक्त हाउजिङ कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी पुरिएर पानीको निकाससमेत थुनिएको छ । निकास थुनिएको कारण वर्षामा आउने भेलले स्थानीयको घरबारी बगाउने खतरा बढ्दो छ । घिसिङ् टोलमा आयोजना सञ्चालन गर्दा घिसिङ् टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । आयोजनाले स्थानीय जनताको सहमतिविना जबरजस्ती व्यक्तिको जग्गासमेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको छ ।
वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमासमेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर ’निक भुजिकीक हाउजिङ् कम्पनी’ ले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ् कम्पनीका डिल्ली बराइली, सुधीर अधिकारी, प्रविण कुस्मा र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कार्वाई गर्न हामी स्थानीय वासीले २०८१ चैत २१ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई निवेदन दिएका थियौँ । सो को बोधार्थ सूर्यविनायक नगरपालिका, सूर्यविनायक नगरपालिका ९ नं वडा कार्यालय र डिभिजन वन कार्यालय, भक्तपुरलाईसमेत दिएका थियौँ । तर, निवेदन दिएको यतिका समय बित्दा पनि सम्बन्धित निकायबाट कुनै किसिमको कार्यवाही अगाडि बढेको देखिएन ।
उक्त हाउजिङ कम्पनीले अवैध ढङ्गले स्थानीय तहको नियमसमेत मिचेर प्लटिङ्गको कार्य निरन्तर अगाडि बढाइरहेको छ । हाउजिङ कम्पनीको उक्त गतिविधिले स्थानीय जनता मर्कामा परेका छन् । पीडित जनताले न्यायको निम्ति सम्बन्धित निकायमा गृहार्दा पनि अवैध गतिविधि नरोकिएको कारण राज्यको चौंथो अङ्ग सञ्चार माध्यमलाई गुहार्नु परेको हो। पत्रकार मित्रहरूले आफ्नो पत्रपत्रिका तथा सञ्चार माध्यममार्फत यो विषयलाई प्रचार गरेर अवैध गतिविधिमा संलग्नहरूलाई खबरदारी तथा कार्वाईको निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराई स्थानीयवासीलाई न्याय दिलाउनुहुने हामीले अपेक्षा गरेका छौं । यहाँहरूको सहयोग र सद्भावप्रति हामी आभार प्रकट गर्दछौं ।
प्रेमबहादुर तामाङ्ग
अध्यक्ष, सङ्घर्ष समिति
२०८२ वैशाख १६ गते
 

Comments