ओलीजीले सम्मानजनक बहिर्गमन गर्नु राम्रो !
बैशाख ११, २०८२, बिहीबार | विहान ०७:२५ बजे | 100
संसदका दुई ठूला दलको अस्वाभाविक मेलजोलका कारण बनेको सत्ताशीन गठबन्धन सुशासनको त के कुरा ! औसत स्तरको प्रशासन सञ्चालन गर्न पनि असफल साबित भएको छ । दुई-तिहाईको नजिक पुगेको बहुमत साथमा भएको सत्ताले निर्धक्क भएर आम जनताको हित र कल्याणमा केन्द्रित भएर काम गर्नू पर्नेमा दलगत र व्यक्तिगत स्वार्थको आहालमा चुर्लुम्म डुबेको यो गठबन्धन पूरै कर्तव्यच्युत, अनैतिक र अराजक व्यक्तिहरूको डफ्फा बन्न पुगेको छ । यसका नेता प्रधानमन्त्री के पी शर्मा ओली आधुनिक नेपालका प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा बढी आलोचित, विवादास्पद र बदनाम ठहरिएका छन् । न यिनको बोलीको ठेगान छ न आफ्नो कर्तव्यप्रतिको बोध न सुशासनप्रतिको निष्ठा ! अहंकार यस्तो कि आफ्नो दल मात्र होइन देशलाई नै कुशबिर्तामा पाएको सम्पत्ति सम्झिने !
वर्तमान गठबन्धन सरकार शारीरिक एवं मानसिक दुवै स्तरमा रुग्ण प्रम ओलीको सनकका भरमा चलेको देखिन्छ जुन देशकै दुर्भाग्य बन्दैछ । यसले सफल प्रबन्धक कुलमान घिसिङलाई बर्खास्त गरेर क्षमतावान् राष्ट्रसेवकहरूलाई तर्साएको छ । समयमा केन्द्रीय ब्याङ्कको गभर्नरको नियुक्ति गर्न सकिरहेको छैन । आन्दोलित शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न सकिरहेको छैन मात्र होइन समस्याको समाधान गर्न प्रयत्न गरिरहेकी शिक्षा मन्त्रीलाई राजिनामा दिन बाध्य पारेको छ । त्रिभुवन विश्वाविद्यालयमा नाजायज हस्तक्षेप गरेर उपकुलपतिलाई रुवाएको छ । देश वित्तीय प्रबन्धन खराब भएका कारण ग्रे लिस्टमा परेको छ त्यसबाट बाहिर निकाल्न कुनै कार्ययोजना ल्याउन सकेको छैन । जता हेर्यो उतै लथालिङ्ग भताभुङ्ग छ तर प्रम ओली भने आफ्नै अध्यक्षतामा सुशासन आयोग गठन गर्ने तरखरमा देखिन्छन् । यो तरखर यिनी दिमागी स्तरमा पूरै टाट उल्टेको कुराको दह्रो प्रमाण हो ।
गठबन्धनको जेठो साझेदार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पछिका लगभग सबै नेताले केपी ओलीको आलोचना गरिसकेका छन् । आम जनताको मूडको त कुरै नगरे हुन्छ ! जनता ओलीको क्षुद्र बोली सुन्नू भन्दा उनी उपस्थित भएको सभाबाट हुल बाँधेर बाहिरिन थालेका छन् । यसले प्रष्ट संकेत गर्दछ ओलीजी अति भयो ! सिंहदरबारबाट सम्मानजनक बहिर्गमन गर्नू राम्रो !