विनायकमा दीक्षान्त समारोह
चैत २७, २०८१, बिहीबार | विहान ०६:०० बजे | 15
मध्यपुर ठिमी भक्तपुर
सिप ,संस्कार र प्रविधियुक्त शिक्षा: आजको आवश्यकता भन्ने विषयलाई आत्मसात गर्दै युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल ,मध्यपुर ठिमी भक्तपुरमा यही २०८१ चैत्र २७ गते पूर्व प्राथमिक तह पार गरेका कक्षा एसकेजीका विद्यार्थीहरूका लागि दीक्षान्त कार्यक्रमको आयोजना गरियो ।विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व तथा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापतिको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला ,काठमाडौँ विश्वविद्यालयका शिक्षाविद तथा शोधकर्ता मनिराम घिमिरे, महिला वडा सदस्य अरुणा कारणजित तथा अभिभावक अतिथि सृष्टि शङ्खदेव वक्ताका रूपमा रहनुभएको थियो। विद्यालयको पूर्व प्रावी तह इन्चार्ज शोभा प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम पूर्व प्रावी तहका शिक्षिकाहरूको संयोजनमा भएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यालयले शिक्षा, सीप र संस्कार अनि प्रविधिमा जोड दिँदै आएको जसले गर्दा भोलि संसारभर टिक्ने र बिक्ने जनशक्ति उत्पादन गर्न सकिने भएकाले अभिभावक र विद्यालयले आफ्ना नानीहरुलाई उचित शिक्षा दीक्षाका साथै संस्कार सिकाउनुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रममा दीक्षित विद्यार्थीहरूले गीत नृत्य र नाटक समेत प्रस्तुत गर्दै युग सुहाउँदो र जीवन उपयोगी शिक्षा प्रदान गर्नुहुने गुरुआमा तथा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन समेत गरेका थिए।