वागीश्वरीमा एसइइपछिको ३०० घण्टाको अन दी जव तालिम
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयमा सञ्चालित ९–१२ प्राविधिक धारका विद्यार्थीहरूको एसइइपछिको ३०० घण्टाको अन दी जव तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य एवं विद्यालयका पूर्व प्र.अ. मोहनप्रसाद प्रजापति विद्यार्थी को सफलता अनुशासन लगन र मेहेनतमा भरपर्ने बताउनुभयो । अतः ओजेटी जाँदा वा गर्दा पनि विद्यार्थीसँग विद्यालयको नाम र परिवारको नाम पनि सँगै जोडिने भएकोले नम्र भई मेहनत गर्नुपर्ने बताउनुभयो । वागीश्वरी मा.वि.को सफलताको श्रय विद्यार्थीको मेहेनत, शिक्षकको इमान्दारी र अभिभावकको सहयोग हो भन्नुभयो ।
विद्यालयका प्र. अ. कृष्णप्रसाद कर्मचारीले विद्यार्थीहरूलाई एसइइमा सफलताको शुभकामना दिनुहुँदै ओजेटीले विद्यार्थीहरूमा सिपसँगै आत्मविश्वास पनि बढ्ने बताउनुभयो । ९–१२ को प्राविधिक धार वागीश्वरी मा.वि.ले निजी स्तरमा सञ्चालन गरेको भए पनि ओजेटी निःशुल्क गर्न लागेको तर नगर शिक्षाले तोकेकै पाठ्यक्रम अनुसार १० मा ३०० घण्टा ११ कक्षामा ३०० घण्टा र १२ कक्षा पछि ६०० घण्टा गर्न लागेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा प्रशिक्षक निशान लवजुले ओजेटी सम्बन्धी प्रस्तुति दिनुभएको थियो भने सहायक प्र. अ. उकेश सुवालले ओजेटीमा नियमित सहभागी भई व्यवहारिक र व्यावसायिक सीप सिक्न विद्यार्थीहरूलाई निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा प्रशिक्षक सुनिल खाइतु र टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधानले पनि बोल्नुभएको थियो ।