तनामुक्त गर्न सहयोग गर्ने भक्तपुरको एउटा पोखरी 


2025-03-21 02:19:14

News Image

रश्मी भुजेल 
हरेक दिनको व्यस्त दिनचर्यापछि जब समय निस्किन्छ मानिसहरू त्यस समयलाई निकै खुसी साथ बिताउन र आफ्ना परिवार वा साथीसँग समय बिताउन कुनै निश्चित गन्तव्यतिर जान्छन् । सुन्दर वातावरण, मनोरम दृश्य अनि स्वच्छ वातावरणमा मानिसले आफ्ना दुःख अनि पीडा केही समयको लागि भए पनि बिर्सिएर खुसी महशुस गर्दछ । आफ्नो मस्तिष्कका हरेक रोदन अनि तनावलाई हटाएर सकारात्मक ऊर्जा प्रदान गर्न पनि यस्ता ठाउँहरूले महत्त्वपूर्व भूमिका निर्वाह गर्दछ । सायद हामी कोई पनि छैन होला जसलाई घुम्न मन पर्दैन अनि कहीं पनि घुम्न गएका छैनौं । झन् अहिलेको समयमा मानिसहरूलाई विभिन्न किसिमका तनावहरुले सताइरहेको हुन्छ । आफ्नो दायित्व, कामको दवाब, साथीसँगको चिसिएको सम्बन्ध हरेक कुरालाई पन्छाउँदै मनमा आनन्द र उत्साह थप्नलाई नै मानिसहरू नयाँ ठाउँमा गएर आफ्नो निश्चित समय बिताउँछन् । त्यहाँको वातावरणमा रमेर, त्यस ठाउँलाई नियालेर आफैंमा पोजिटिभ भाईव महशुस गर्दछन् । जसले अर्को समय नमिलुन्जेलसम्ममा काम गर्ने ऊर्जा अनि शक्ति प्रदान गरीरहोस् ।
आजका दिनहरू व्यस्त मात्र होइन, तनावपूर्ण पनि छन् । अनि ती तनावमा रहेका मानिसहरूको गन्तव्यस्थल बन्दै गइरहेको छ भक्तपुरको केन्द्रमा रहेको एउटा पोखरी, जुन सदियौँदेखि सुन्दरताको प्रतीकको रूपमा रहँदै आएको छ । सिद्धपोखरी भक्तपुर जिल्लामा अवस्थित ऐतिहासिक पोखरी हो, जुन भक्तपुर दरबार क्षेत्रबाट केही पर रहेको छ । यो भक्तपुरकै सबैभन्दा ठूलो पोखरी हो, जसले ऐतिहासिक, धार्मिक, पर्यटकीय र मनोरञ्जनात्मक महत्त्व बोकेको छ । राजा जयस्थिती मल्लको पालामा निर्माण भएको सिद्धपोखरी आज आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ । यसको भौगोलिक अवस्थितिको कुरा गर्ने हो भने यसको लम्बाइ करिब २७५ मिटर, चौडाइ करिब ९२ मिटर र गहिराई १० फिट रहेको छ । सिद्धपोखरीको चारैतिर हरियाली, ऐतिहासिक पाटीपौवा, मठमन्दिर र परम्परागत वास्तुकलाका संरचनाहरू छन् । यसको वरिपरि बनेका ढुंगे पाटी तथा बस्ने ठाउँहरूले यसलाई झन् सुन्दर बनाएको छ ।  
सहरको भीडभाड, सवारीसाधनको कोलाहल र दैनिक तनावबाट टाढा गएर केहीबेर शान्त वातावरणमा हराउन खोज्नेहरू जो कोहीले पनि यहाँ पुगेपछि शान्त वातावरण अनुभव गर्न सक्छन् । पोखरीको पानीमा परावर्तित नीलो आकाश, वरिपरिका बुट्टेदार काठबाट बनेको ती फलचाहरु र पोखरीमा रहेका रंगीविरंगी माछाहरूले विशेष सुन्दरता दिन्छ । प्राचीन वास्तुकला हेर्ने, फोटोग्राफी गर्ने र शान्त वातावरणमा समय बिताउनेहरूका लागि यो आकर्षक गन्तव्य हो।आन्तरिक पर्यटकका प्रमुख गन्तव्य भएता पनि भक्तपुर दरबार स्क्वायर नजिक भएका कारणले गर्दा बाह्य पर्यटक पनि उत्तिकै मात्रामा देख्न सकिन्छ ।
सिद्धपोखरी भक्तपुरको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य हो । मल्लकालदेखि वर्तमानसम्म यसको आकर्षण यथावत् रहनुले यसको सांस्कृतिक मूल्य दर्शाउँछ । सिद्धपोखरीको चारैतिर हरियाली र यसको जलस्रोतले वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्याउँछ, तर बढ्दो सहरीकरण र प्रदूषणका कारण यसको संरक्षण चुनौतीपूर्ण बन्न थालेको छ।शान्त वातावरण, सुन्दर दृश्य र ऐतिहासिक सम्पदासँगको सम्बन्धले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि एक अद्वितीय स्थान बनाएको छ । संरक्षण तथा प्रवद्र्धनका पहलहरू जारी राख्ने हो भने सिद्धपोखरी केवल भक्तपुरकै होइन, नेपालकै प्रमुख सांस्कृतिक सम्पदामध्ये एक बन्न सक्छ । भक्तपुर भ्रमण गर्नेहरूका लागि छुटाउनै नहुने  गन्तव्यको रूपमा सिद्धपोखरी रहेको छ ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *