पदयात्राको अर्को एक सार्थक उपलब्धि गोरखा भ्रमण र पर्यटन वर्ष २०२५
जयराम बिडारी
‘’गोरखा जहाँ इतिहास जीवित छ’’ भन्ने नाराका साथ गोरखा नगरपालिकाद्वारा सुरु गरिएको पर्यटन वर्ष २०२५ कार्यक्रमा सहभागिता जनाउनुका साथै लखन थापा गाउँपालिका,गोरखा दरवारको अवलोकन गर्दे राष्ट्रिय रुपमा ख्यातिप्राप्त लेखक,साहित्यकार तथा पत्रकारहरुको समूहको तीन दिने स्रष्टा पदयात्राको ९२ अौं शृङ्खला सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा सहभागिता जनाउन तथा गोरखाका विभिन्न स्थानको अध्ययन,अनुसन्धान र अवलोकन गर्ने उद्देश्यले ‘’स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’’ भन्ने मूल नारा अङ्गिकार गरेको पदयात्री टोली यही चैत्र १ देखि ३ गतेसम्म मन्दिरा मधुश्रीको नेतृत्वमा , त्यसतर्फ प्रस्थान गरेको थियो । पदयात्रा नेपालका जनसम्पर्क विभाग प्रमुख डा.बालचन्द्र मिश्र तथा स्थानीय संयोजकका रुपमा गोरखा नगरपालिकाका प्रथम नगरप्रमुख विश्वेश्वर कट्टेलको व्यवस्थापकीय भूमिकामा टोलीले सो कार्यक्रम सम्पन्न गरेको थियो । भाषा,कला,साहित्य र संस्कृतिमा प्रकृतिकको महक छर्दै स्थानीय क्षेत्रमा पदयात्राको दौरानमा देखे बुझेका तथा अनुभूत गरिएका कुराहरुलाई समेट्दै एक बौद्धिक खुराकलाई सार्वजनिक सम्पत्तिको रुपमा भावी पुस्तालाई हस्तान्तरण गर्ने अभिप्रायले तत् क्षेत्रको यथेष्ट जानकारी गराउनका खातिर एक दस्तावेज कृतिकै रुपमा प्रकाशित गर्नु पनि टोलीको लगभग नियमित कर्म जस्तै बनिरहेको छ । प्रत्येक महिनाको पहिलो शनिवार देशका विभिन्न स्थानको सामूहिक भ्रमण गरी तत्स्थानका विशेषतालाई सृजनामा उतार्न र नेपाली साहित्यको भण्डारको बृद्धि गर्ने उद्देश्यले २०७३ साल मंसिरदेखी सात उत्साही साहित्यकारहरुद्वारा सुरुवात गरिएको पदयात्रा कार्यक्रमको ९२औं शृङ्खलाका लागि यसपटक गोरखा जिल्ला छनौट गरिएको थियो । चैत्र १ गते काठमाण्डौबाट गोरखाका लागि प्रस्थान गरेका ३१ जनाको पदयात्री समूहले आवश्यक अध्ययन अनुसन्धान गरी समय अनुकूलमा दस्तावेज तैयार गर्ने जनाइएको छ । स्रष्टा पदयात्रा टोलीका त्यसतर्फ प्रस्थान गरेका सहभागिहरुमा अध्यक्ष शीतल गिरी, उपाध्यक्ष विमल अर्याल महासचिव गङ्गाप्रसाद भेटवाल, कोषाध्यक्ष वसन्त रिजाल, संस्थापक सदस्य डिल्लीराज अर्याल लगायत खोलाघरे साहिंलो, आजीवन सदस्य र सदस्यहरु ज्ञानुवाकर पौडेल मन्दिरा मधुश्री,शान्ति सापकोटा,डा.बालचन्द्र मिश्र ,घनश्याम प्रसाईं, हरिश कल्पित,दीपक भेटुवाल ‘दीपसागर’ सुमन पुडासैनी,नानीबाबा अधिकारी,गीता रेग्मी, शान्ता देवकोटा सुभाष ढुंगेल,अनिता कोइराला,हरिबोल काफ्ले,राजन पुडासैनी,जयराम बिडारी, विजया वस्नेत, भारती न्यौपाने, लक्ष्मी थापा,शोभा शरभ,सानु पोखरेल, त्रिपुरा पौडेल,दुर्गा भवानी भट्ट,पवित्रा अधिकारी सन्तोष अम्गाईं,र चिरञ्जीवि देवकोटा लगायतका साहित्यकारको टोली त्यस तर्फ प्रस्थान गरी जिल्लाका बिभिन्न स्थानको स्थलगत पदयात्रा (भ्रमण) गरि विविध साहित्यिक कार्यक्रम गोष्ठी, अन्तरक्रिया गरि सम्पन्न गरेको थियो । उक्त टोली गोरखा नगरपालिका वडा नम्बर ६ स्थित ठूलोआँगन पुगी गोरखा दरवार संग्रहालय, लगायत राम शाहकालीन स्थानीय रानीपोखरी, नारायण मन्दिर ,गोरखा दरवार संग्रहालय, लगायतको अवलोकन गर्दै जानकारी लिएको थियो । पश्चात् लगतै स्रष्टा पदयात्रीका लागि स्वागत गर्नका लागि नगरपालिका,प्रमुख जिल्ला अधिकारी तथा स्थानीय समुदायद्वारा आयोजना गरिएको स्वागत कार्यक्रममा सहभागी भएका थिए । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरको सभापतित्वमा सम्पन्न सो समारोहमा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर मगर, तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर ,र स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरी ,पूर्वमेयर विश्वेश्वर कट्टेल तथा जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख लीला परीयारको आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा नगरपालिकाद्वारा स्रष्टाहरूलाई रुद्राक्षको माला र नगरको लोगो अर्पण गरेर स्वागत गरिएको थियो । सो समारोहमा पदयात्रा टोलीका तर्फबाट शान्ति सापकोटाबाट कविता, ज्ञानुवाकर पौडेलबाट मुक्तक,गजल प्रस्तुत,स्रष्टा खोलाघरे साहिंलोद्वारा ‘फगुवा’ शीर्षकीय कविताा वाचन तथा पदयात्रा टोलीको अभियानका बारेमा महासचिव गङ्गाप्रसाद भेटवालद्वारा गोरखा बुझेर आउन सुझाउँने कविता वाचन गर्नुका साथै स्रष्टा पदयात्राका गतिविधिका बारेमा प्रकाश पारिएको थियो । स्थानीय मुक्तककार सन्तोष अम्गाईंबाट मुक्तकहरु,दुर्गा भवानी भट्टबाट"एक्लै" कविता,घनश्याम प्रसाईंद्वारा "सबै जुट्नुपर्छ" कविता वाचन गरिएको थियो । रचनावाचनको क्रममा व्यंग्य कविका रुपमा परिचित गोरखा जिल्ला निर्वाचन अधिकारी चेतबहादुर कोइराला बाट ‘’अरूका बा" कविता वाचन गरी कार्यक्रमलाई रोमाञ्चकता प्रदान गरिएको थियो । सो समारोहमा गीता रेग्मी द्वारा राष्ट्रिय रुपमा ख्यातिप्राप्त साहित्यकारहरुलाई आफ्नो घर आँगनमा स्वागत गर्न पाउँदा अत्यन्त पुलकित रहेको बताउँदै लेखक साहित्यकारको भ्रमणले गोरखाको ऐतिहासिकतालाई उजागर गर्नमा थप टेवा पुग्ने विचार व्यक्त गरिएको थियो । यसैगरि नगर उपप्रमुख मसलीमाया थोकरबाट साहित्य, कला संस्कृतिको विकास गर्नका लागि दत्तचित्त साहित्यकार हरुको अभियानले सिर्जनाको माध्यमबाट वास्तविकताको रहस्योद्घाटन हुने कुरामा जोड दिंदै समुन्नत समाज निर्माणको थाालनी गर्नुपर्ने बताइन् । सो समारोहमा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीद्वारा आफ्नो सम्बोधनमा गोरखनाथ ,गोरखकाली माई र गोरखाको सम्बन्ध बारेमा चर्चा गर्दै गोरखाको अस्तित्वमा सिद्धलखन थापा र विद्रोही लखन थापाले आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान दिएको बताउँदै गोरखा सामाजिक,सांस्कृतिक ऐतिहासिक,धार्मिक र पर्यटकीय हिसावले समुन्नत रहेको बताए । प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपाध्यक्ष मोहनबहादुर मगरबाट पर्यटन वर्ष २०२५ का क्रममा स्रष्टा पदयात्रीहरुले गोरखालाई छनौट गर्नुभएकोमा समग्र गोरखाका लागि उपलब्धि मूलक रहने तथा अभियानका लागि कोसेढुङ्गो सावित हुने वताउँदै आफ्नाा लेख रचनाहरुमा यथार्थ जानकारी राखी त्यसका लागि पर्यटन अभियान हातेमालो गर्न तयार रहेको बताए । पूर्व नगर प्रमुख विश्वेश्वर कट्टेलद्वारा पदयात्रा टोलीको समन्वय गर्ने सुनौलो अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै पर्यटन वर्ष २०२५ सफल पार्न पनि यस अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गरे । सो समारोहमा प्रजिअ पुण्यविक्रम पौडेलद्वारा लेखक साहित्यकार हरुको तीन दिने गोरखा बसाई उपलब्धि मूलक रहेस् भन्ने कामना गर्दै यहाँका ऐतिहासिक ,धार्मिक सामाजिक जनजीवनको अध्ययन अनुसन्धान र अवलोकन गर्नमा पदयात्रा टोलीलाई सफलता मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रमकाी सभापति तथा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरबाट गोर्खा ऐतिहासिक व्यक्तित्वहरूको चर्चा,हिमाल,पहाड,तराई सबै क्षेत्रमा रहेको गोर्खा ,प्राकृतिक ,भाषिक विकास,एकता गर्नुपर्नेमा जोड दिए । विजय उपाध्यायद्वारा गजल वाचन गरि सहजीकरण गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो । औपचारिक कार्यक्रमको समापन पश्चात् पदयात्रा टोलीलाई सूर्योदय र सूर्यास्तको समयमा पृथ्वी नारायण शाहको सालिकमा सलामी दिइने गरेको दृष्यावलोकन गर्ने सुवर्ण अवसर प्राप्त भएको थियो । कार्यक्रमको समापन पश्चात् पदयात्री समेत रहेकी गीता रेग्मीको घरमा चिया नास्ता गरेर नगरपालिका प्रमुख ,प्रशासकीय अधिकृत तथा पदयात्रीहरु अन्तरक्रियामा सहभागी भएका थिए । अन्तरकृयाका क्रममा गोरखाको समग्र विकास निर्माण तथा धार्मिक सांस्कृतिक पर्यटन कृषिको क्षेत्रमा समुज्वल उपलब्धि हासिल गर्नका लागि खेल्नुपर्ने भूमिका र लक्ष्यका बारेमा केन्द्रित रहेको थियो । अन्तरक्रियाका क्रममा मेयर कृष्णबहादुर मगरले शिक्षा, स्वास्थ्य र सुशासन,एवम् निःशुल्क रुपमा गरिने गरिने धेरै प्रकारका उपचार र कृषि उत्पादनमा जोड दिन कृषकलाई सहुलियत र प्रोत्साहन हुने नीति निर्माण गरी आम नागरिकलाई जन्मदेखि मृत्युसम्मका व्यावहारिक र निःशुल्क कार्यक्रम लागू गरेर शिशु जन्मिदा पनि विशेष सुविधा र मृत्युका घटनामा पनि आम नागरिकलाई विशेष राहत दिने गरिएको जानकारी दिइएको थियो । कार्यक्रमको दोश्रो दिन गोरखा नगरपालिकाका प्रथम मेयर विश्वेश्वर कट्टेलको नेतृत्वमा पदयात्रा टोलीले गोरखनाथ,गोरखकाली माईको दर्शन गरी गोरखा दरबारको साथै बिसे नगर्ची अवलोकन गर्दै बुङकोटस्थित नेपालको इतिहासको प्रथम शहीद लखन थापा गाउँपालिका पुगेर गाउँपालिका अध्यक्ष रमेश थापा मगरकृत गजल सङ्ग्रह ‘’वसन्तको आँकुरा’’ लोकार्पण कार्यक्रममा सहभागिता जनाएको थियो । एक विशेष कार्यक्रमकाबीच रमेश थापा मगरकृत गजल सङ्ग्रह ‘’वसन्तको आँकुरा’’ लोकार्पण ‘’कृषि पर्यटन र पूर्वाधारको दीगोपन,समृद्ध सुसंस्कृत शहीद लखन ‘’ सहिद लखन थापा गाउँपालिका गोरखाद्वारा आयोजित तथा शहिद लखन साहित्य समाजको सहआयोजन एवम् स्रष्टा पदयात्रा नेपालको समन्वयमा सञ्चालित स्रष्टा जमघट तथा सिर्जनावाचन कार्यक्रम’ का बीच रमेश थापा मगरकृत गजल सङ्ग्रह ‘’वसन्तको आँकुरा’’ लोकार्पण गरिएको थियो शहीद लखन गाउँपालिकाको वडा नं ६ को सभाहलमा सम्पन्न गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहनबहादुर मगरको प्रमुख आतिथ्यमा शहीद लखन थापा गाउँ पालिकाका अध्यक्ष समेत रहेका गजलकार ‘वसन्तको आँकुरा’ का सर्जक रमेश थापा मगरको अध्यक्षतामा वरिष्ठ मुक्तककार तथा साहित्यकार ज्ञानुवाकर पौडेल, स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी ,पूर्वमेयर विश्वेश्वर कट्टेल तथा चर्चित मुक्तककार तथा वसन्तको आँकुराका सम्पादक समेत रहेका स्थानीय साहित्यकार सन्तोष अम्गाईं लगायतको आतिथ्यमा स्रष्टा जमघट,सिर्जना वाचन तथा साहित्यिक अन्तरकृया सम्पन्न गर्ने क्रममा ‘वसन्तको आँकुरा’ लोकार्पण गरिएको थियो । प्रमुख अतिथिद्वारा व्यानर पढेर तथा पानसमाा दीप प्रज्ज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको सो समारोहमा राष्ट्रिय गान बजाई शहीदप्रति मौन धारण गरी शुरुवात गरिएको थियो । कार्यक्रममा स्थानीय बाल कालाकारहरुबाट स्वागत नाच प्रस्तुत गरिएको थियो,भने प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरद्वारा राष्ट्रिय स्तरमा पहिचान निर्माण गरेका यति धेरै चर्चित साहित्यकार हरुलाई मोफसलमा स्वागत गर्दै रचना वाचन गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै स्वागत गरेका थिए । सो समारोहमा स्रष्टा पदयात्राका नेपालकी सदस्य तथा यात्रा संयोजक समेत रहेकी मन्दिरा मधुश्रीबाट मन्तव्यका क्रममा स्रष्टाहरुलाई न्यायो आतिथ्यसहितको सत्कारले अत्यन्त पुलकित रहेको बताउँदै यो खुशीलाई स्रष्टाहरुले आफ्ना सिर्जनशील कर्मबाट अभिव्यक्त गर्ने बताउंदै आभार व्यक्त गरिन् । कार्यक्रममा पोखरीडाँडा महिला भजन समूहद्वारा ‘प्यारो छ नेपाल,सुन्दर,शान्त,विशाल’ भजन प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानीय स्रष्टा भरत खनालका हाईकूहरू प्रस्तुत भए , यसैगरी सीताराम भण्डारीका "रित्तिए छिमेकी" कविता चूडामणि न्यौपानेद्वारा नारायण प्रसाद पोखरेलका कविता सँगै गजल प्रस्तुत गरिएको थियो । जुना रेग्मीका गजल र रामचन्द्र अर्यालका मुक्तक र गजल, शिक्षा अधिकृत तथा कवि राजेन्द्र खनालद्वारा दुइवटा गजल,शिव श्रेष्ठले ‘यिनै हुन् मेरा बा’ शीर्षकीय कविता सुनाएर सवैलाई भावुक बनाएका थिए भने राधाकृष्ण भजनसमूहद्वारा भजन प्रस्तुत गरिनु का साथै स्थानीय लक्ष्मी पाण्डेद्वारा मुखाग्र रहेका केही शिलोक सुनाएर सवैको मन जित्ने प्रयास गरिएको थियो । यसैगरी वडा नम्बर ८ का वडाध्यक्ष बासुदेव ढकालद्वारा "कात्रो मात्रै साँचो रहेछ’’ कविता सुनाएर जीवनको तितो यथार्थप्रति सचेत वनाएका थिए । यसैक्रममा कोपिला साहित्य समाजका अध्यक्ष केशवप्रसाद ढकालद्वारा कोपिला वाचन गरिएको थियो । उक्त कार्यक्रममा लखन गाउँपालिका का अध्यक्ष रमेश थापा मगरकृत गजलसङ्ग्रह "वसन्तको आँकुरा" प्रमुख अतिथि, गजल लेखनका क्षेत्रमा सुप्रसिद्ध ज्ञानुवाकर पौडेल लगायतले कृतिको विमोचन गरिएको थियो । सो अवसरमा प्रशिद्ध गजलकार ज्ञानुवाकर पौडेलले संक्षिप्त मन्तव्य राख्दै गजलकारको खुलेर प्रशंसा गर्दै कुनै पत्रिकामा सर्जकको ३ गजल पढ्ने मौका मिलेको र ती गजलहरु उत्कृष्ट लागेको हुनाले प्रस्तुत वसन्तको आँकुराका लागि भूमिका लेखिदिन आफू राजी बताए । उनले राजनीतिककर्मीका रुपमा कृयाशील रहेका सर्जकको काव्यात्मक सृजनशीलता समेत अब्बल रहेका लेखकले निकट भविष्यमा अझै परिष्कृत कृति प्रकाशन गरुन् भनि शुभकामना दिए । यसैगरि कार्यक्रममा वसन्तको आँकुरा गजल सङ्ग्रहका सम्पादक समेत रहेका चर्चित युवा साहित्यकार सन्तोष अम्गाईंले गजलकारका रुपमा उदाएका गाउँपालिका अध्यक्ष रमेश थापाामगरले आफूलाई विश्वास गरेर दिनुभएको जिम्मेवारीलाई कत्तिको न्याय गर्न सकियो भन्ने कुरा पाठकीय प्रतिक्रियाको आधारमाा निर्क्योल हुने बताउँदै आफूले सम्पादन गर्ने क्रममा कृतिमा फेला पर्न सक्ने जुनसुकै गल्ती र कमजोरी फेला परेको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । उनले भाषा कला साहित्य भूगोल र इतिहासको अध्ययन भ्रमणका क्रममा साहित्यकारहरुको तीनदिने गोरखा भ्रमण अत्यन्त सार्थक र प्रभावकारी रहने बताउँदै यस्तो सृजनशील कार्यको संयोजन गर्न पाएकोमा सन्तोष लागेको बताए । यसैगरि गजलकार रमेश थापामगरले साहित्य विज्ञानको पनि जननी रहेको उल्लेख गर्दै साहित्यकारहरु मस्तिष्क जस्तो र जनप्रतिनिधी शरीर जस्तो मात्र भएको हुनाले स्रष्टाहरुसंग विकाश निर्माणका अग्रगामी कार्यमा सकारात्मक सन्देश प्रवाहका लागि आग्रह गरे ।उनले आफ्नो कृतिको विक्रिबाट प्राप्त हुने रकम मानव सेवा आश्रम गोरखालाई समर्पण गरिने जानकारी गराउँदै स्थानीय स्तरका विभिन्न धार्मिक पर्यटकीय र सांस्कृतिक अवस्थितिहरुका बारेमाा प्रकाश पर्दै मनकामना मन्दिरको उत्पत्तिका बारेमा सिद्ध लखन थापाको योगदानका बारेमा समेत प्रकाश पारेका थिए । उक्त कार्यक्रममा दार्चेका खैजडी भजन प्रस्तुत गर्दा रोमाञ्चक माहौल सृजन भएको थियो भने छन्द कवि नारायण पोखरेलले मालिनी छन्दमा ‘गाउँमै मर्न पाउँ ‘ सुनाएर सवैलाई मन्त्रमुग्ध बनाएका थिए । यसैक्रममा भारती न्यौपानेद्वारा ‘देशको स्पन्दन’ तथा डिल्लिराज अर्यालले ‘ढुङ्गालाई ढोग्छु’ शीर्षकीय कविता वाचन गरेका थिए । यसैगरि कवि घनश्याम प्रसाईंले प्यारोडी गीत र हरिबोल काफ्लेद्वारा ‘लखन थापाको पुकार’ सुनाए । स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले पदयात्रीहरुको विशेषता सहितको परिचय प्रस्तुत गरिएको सो कार्यक्रममा अध्यक्ष शीतल गिरीले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा गिरीले ऐतिहासिक गोरखा जिल्ला हरेक दृष्टिकोणले महत्वपूर्ण रहेको बताउँदै बडचुली देवचुली र हिमचुली मध्य बडचुली मगरहरुका लागि पवित्र स्थल रहेको बताए । संस्कृतिको जगेर्ना गर्नका लागि समाजबाट क्रमश हराउँदै गएको र इतिहास लुकेको मारुनी नाच, घाटु नाच तथा खाँडो जगाउने कार्यको संरक्षण गरिनुपर्ने बताए । सो अवसरमा स्रष्टा पदयात्रा नेपालका कोषाध्यक्ष समेत रहेका समाजसेवी तथा साहित्यकार वसन्त रिजालबाट स्वागत नृत्य गर्ने तीनजना बालिकाहरुलाई प्रोत्साहन पुगोस् भन्ने अभिप्रायले पुरस्कारका रुपमा जनही रू १ हजार प्रदान गरी बालकलाकारको उत्साह बढाएका थिए । सो समारोहमा ज्ञानुवाकर पौडेलबाट गजल प्रस्तुत गरिएको थियो । पूर्ण बहादुर गहतराजद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम सभ्य एवम् भव्य रुपमा पाँच घण्टासम्म निरन्तर चलेको थियो । यसैगरि तेस्रो अर्थात् यात्राको अन्तिम दिन नेपालका प्रथम शहीद लखन थापाको स्मारक निर्माण गरिएको काउले भँगारमा स्थानीय सुवास आले र गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले ऐतिहासिक महत्व बोकेर पनि इतिहासले न्याय गर्न नसकेको उक्त स्थान लगाायत जङ्गबहादुरको कोपभाजनमा परी जीवन उत्सर्ग गर्ने नेपालका प्रथम शहीद लखन थापाका विषयमा प्रकाश पारेका थिए । सो अवसरमा लखन थापा सम्बन्धि संक्षिप्त रुपमा रचना वाचन समेत गरिएको थियो । यसैक्रममा डा.बालचन्द्र मिश्र र मन्दिरा मधुश्रीले लखन सम्बन्धि संयुक्त रुपमा गीत गाएका थिए भने,विमल अर्यालबाट लोकलयमा आधारित लखनसम्बन्धी सुसेलीहरू वाचन गरेका थिए । खोलाघरे साहिलोद्वारा मालिनी छन्दमा "लखनको गाउँमा" कविता वाचन गर्दै लक्ष्मी थापाबाट ‘चुहिएका सपनाहरू’ कविता,विजया बस्नेतबाट"लखनको गाउँसम्म "अनिता कोइरालाबाट "शहीदकी छोरी शहिदको भूमिमा", ज्ञानुवाकर पौडेलले संक्षिप्त सम्बोधन गर्दै पदयात्रा टोलीको प्रशंसा गरे । उनले मौका मिलेसम्म टोलीमा नछुट्ने बाचा गर्दै तीन शेर सुनाएका थिए । भने सुवास आले मगरबाट आवश्यक जानकारी गराउँदै ३ वटा गजल सुनाएर सवैलाई मन्त्रमुग्ध बनाएका थिए ।सोही दिन स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीको जन्मदिन परेको अवसर पारी पदयात्रा टोलीको तर्फबाट आकस्मिक रुपमा जन्मदिन मनाउँदै शुभकामना व्यक्त गरिएको थियो भने भने अध्यक्ष गिरीले आफ्नो जन्मदिन लाई उल्लासमय बनाई दिएकोमा हृदयत: आभार व्यक्त गरेका थिए । यसैगरि लेखक साहित्यकारको टोलीले ९२औं श्रृङ्खला गोरखा पुगेर जिल्लाका बिभिन्न स्थानको स्थलगत भ्रमण, पदयात्रा गरि विविध साहित्यिक कार्यक्रम गोष्ठी, अन्तरक्रिया गरि सम्पन्न गरेको थियो ।