आर्थिक बिकासका लागि स्थानिय निकायसँग नीजि क्षेत्रको सहकार्य आवश्यक
आर्थिक सम्बृद्धिकालागि सार्वजनिक र नीजि क्षेत्रको साझेदारी थप सशक्त गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन । ललितपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको संघको ५८औं स्थापना दिवस कार्यक्रममा ललितपुरमा आयोजित संघको ५८औं स्थापना दिवसमा बिशेषतः स्थानिय निकायको बजेट कार्यक्रमहरुमा संघको सरोकार, सहकार्य र समन्वय भूमिका प्रभावकारी बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका हुन ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संगठित पैरवीको महत्वमा जोड दिंदै केन्द्रिय सरकारसँगको सहकार्य र सहजीकरणमा नीजि क्षेत्र सम्बन्धित ऐन कानूनमा संशोधन हुनेमा बिश्वस्त रहेको बताए । उनले आर्थिक समृद्धि हासिल गर्न आवश्यक वातावरण निर्माणमा नीजि क्षेत्र नै प्रमुख रहेकोमा जोड दिंदै उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्ने गरी कानुन आउने हल्लाले एक किसिमको त्रास सिर्जना गरेको भए पनि उद्योग वाणिज्य महासंघको प्रयासमा अहिले त्यो अवस्था समाधान भएको उल्लेख गरे ।
‘रोजगारी सिर्जना, पूर्वाधार निर्माणको काम निजी क्षेत्रको हो, यसका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य अनिवार्य छ, ललितपुर महानगरले निजी क्षेत्रलाई गरेको प्रोत्साहन सराहनीय छ, देशभरको संघहरुको अनुभवका आधारमा स्थानिय बिकासका सम्बन्धित बजेट निर्माण र सेवा प्रवाहमा संघको भूमिका प्रोत्साहनले यसको थप प्रभावकारिता रहेको देखिएको छ । यसतर्फ आवश्यक प्रशासनिक र नीतिग व्यवस्था निर्माणमा सहकार्य रहनेमा म बिश्वस्त भएको छु ।,’ ढकालले भने ।
कार्यक्रमका विशिष्ट अतिथी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउन आफू तत्पर रहेको बताए । ‘हामी ललितपुर उद्योग संघ र उद्योगी व्यवसायीबीच सहकार्य गर्न तत्पर छौँ, संघले बिनियोजित बजेटको सदुपयोग गर्दै आगामी वर्षको कार्यक्रम र बजेटमा निर्माण छफलमा सहकार्यमार्फत हालको प्रतिफल बृद्धि गर्न प्रतिबद्ध छु,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले ललितपुर उद्योग वाणिज्य संघबाट नेपाल उद्योग वाणिज्य महासंघमा सबै कार्यकालमा सक्रिय प्रतिनिधित्व रहेको बताउँदै जिल्लाको आर्थिक सामाजिक बिकासकालागि संघको गर्विलो ईतिहास रहेको स्मरण गरे । संघका बिषयगत दक्षता बोकेका उद्यम व्यवसायीहरुको साथ सहकार्यमार्फत महानगरपालिकाका सम्बन्धित गतिविधीहरु आपसमा नदोहोरिने गरि समन्वयात्मक रुपमा थप प्रभावकारी हुनेमा उहाँको जोड थियो । राज्यका नीतिगत सुधार संशोधनमा संस्थागत पैरवीको महत्वमा जोड दिंदै उनले भने, ‘ राज्यको आगामी बजेट निर्माण सम्बन्धमा संघको धारणा, सुझाव संकलन कार्यमा पनि तीव्रताकालागि अनुरोध छ ।’
‘ललितपुरमा व्यवस्थित रुपमा लगानी भित्राउने उद्धेश्यकासाथ संघले जिल्लाको तथ्यपरक आर्थिक पाश्र्वचित्र अध्ययन गरि प्रकाशनमा ल्याउने छौं, जसको प्रतिफल अनुरुप आगामी दिनमा गैर आवसीय नेपाली लगायत अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजनाको तयारी हामीले गरिरहेका छौं,’ उनले भने । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा रहेका घरेलु तथा लघु उद्योग प्रवद्र्धनमा हस्तकला नगरी बिकास अवधारणासहित स्थानिय निकायले प्रवद्र्धन गर्ने मेला महोत्सवलाई व्यवस्थित गर्न संघको प्रत्यक्ष सहकार्य गर्न तत्पर रहेको बताए । ललितपुर उद्योग वाणिज्य संघको एप बनाउने तयारीमा रहेको जानकारी गराउँदै अर्थतन्त्रलाई चलायमान बनाउन ललितपुर महोत्सव गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।
संघको पूर्वअध्यक्षहरुको योगदानलाई उच्च कदर गर्दै पूर्वअध्यक्षज्यू तथा पदाधिकारीज्यूहरुलाई दोसल्ला तथा कदर प्रदान गरिएको सो स्थापना दिवस कार्यक्रममा यस वर्षको श्रष्टा सम्मान नेपालभाषा तथा ईतिहासविद छत्र बहादुर कायस्थलाई नगद सहित सम्मानित गरिएको थियो । नेपालभाषा कला र संस्कृतिको ईतिहास उत्खनन, लेखन तथा साहित्य क्षेत्रमा निरन्तर पुस्तक प्रकाशन समेत गर्दै आउनुभएका उहाँको सम्मानले संस्कृतिसँग गाँसिएका ललितपुरका हस्तकला, प्रस्तरकला आदिका व्यवसाय प्रोत्साहन, प्रवद्र्धनमा पनि सहयोग मिल्ने आयोजकले बताएका छन । महासचिव भूमि नन्दन कर्माचार्यले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमा संघका वरिष्ठ उपाध्यक्ष सुसन महर्जनले महानगरपालिकाको ईतिहासमा संघले राजश्व संकलन लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कार्यको पुनः मुल्यांकन सहित सहकार्यको ईतिहास नवीकरणकालागि अनुरोध गर्दै धन्यवाद मन्तव्य राखेका थिए ।