बालबालिकाको मुटु जोगाउँ
विनायक शिक्षा निकेतनको आयोजनामा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा बालबालिकाको मुटु जोगाउँ भन्ने नारासहित बालबालिकाहरूको मुटुको परीक्षण कार्यक्रम सम्पन्न भयो। उक्त परीक्षण कार्यक्रममा मुटुरोग विशेषज्ञ डाक्टर प्रमिला शाक्य ज्यू र डाक्टर उरुषा घुलु ज्यूबाट करिब २०० जना बालबालिकाहरूको मुटुको परीक्षण गरियो। उक्त कार्यक्रममा बोल्नुहुँदै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले बालबालिकाहरूको मुटु रोग सम्बन्धी समस्याहरू बेलैमा उपचार पाएको खण्डमा निको हुने र बालबालिकाहरूको मुटुलाई जोगाउन सकिने भएको कारणले आजको कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो। साथै मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का महिला सदस्य अरुणा कारजितज्यूले पनि विनायक शिक्षा निकेतनलाई धन्यवाद दिँदै स्थानीय बालबालिकाहरूको मुटुसम्बन्धी रोगहरु पत्ता लगाउनको लागि यस कार्यक्रमले सहयोग पुर्याउने आशा व्यक्त गर्नुभयो। हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँका उपसभापति श्री मधुसुदन कारजीत ज्यूले पनि यस्तो कार्यक्रमले बालबालिकाहरूलाई मुटुसम्बन्धी समस्याबाट जोगाउनको लागि निकै महत्वपूर्ण भएकोले यस्तो कार्यक्रमहरूमा उहाँको संस्थाबाट सदैव सहयोग गर्ने वचन दिनुभयो।