समय र विचार भाग २ पुस्तक पढ्दा


फाल्गुन ३०, २०८१, शुक्रबार | दिउँसो ०३:४४ बजे | 125


समय र विचार भाग २ पुस्तक पढ्दा

राजु तामाङ
४८ वर्षअगाडि पन्चायती राजतन्त्रको विरोधमा नेपाली काङ्ग्रेस र का.पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको साथै अन्य विभिन्न कम्युनिस्ट घटकहरू पन्चायतको विरोधमा प्रजातन्त्रको पक्षमा संघर्ष गर्दै थियो।
का.पुष्पलालकै कथनमा नेपाली काङ्ग्रेस पार्टी भनेको ’विदेशी पुँजी परस्त’ थियो। वर्तमान समयमा पनि नेपाली काङ्ग्रेस अमेरिकी साम्राज्यवाद र भारतीय जनता पार्टी ( भाजपा) को फासीवादी भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादकै पूजा गर्दै गरेको सर्वविदितै छ। त्यसबेला का.पुष्पलाल नेपाली काङ्ग्रेसविना नेपालमा तत्काल केही मौलिक परिवर्तन गर्न सम्भव छैन भनेर सोच्थे भने प्रमुख दुश्मन राजा महेन्द्र र राजतन्त्र ठान्थे। त्यसबेलाको अवस्थामा कम्युनिस्ट पार्टीभित्र सैद्धान्तिक संघर्ष हुँदा का.रोहितले भने विदेशी पुँजी परस्त पुँजीवादी पार्टी नेपाली काङ्ग्रेस
सामन्तवादमा आधारित राजतन्त्र र भारतीय एकाधिकार पुँजीरुपी तीन टाउके सर्प नै नेपाल र नेपाली जनताको मुख्य दुश्मन हो भनी ठम्याउदै सैद्धान्तिक अडान राखेका थिए।
डा.केशरजङ रायमाझी र विष्णुबहादुर मानन्धरका कम्युनिस्ट समूहहरू पन्चायतसङ्ग ’न संघर्ष न मेलमिलाप’ को नीतिमा थिए। तिनीहरू माक्र्सवादको विरोधमा बर्नस्टिनको शान्तिपूर्ण आन्दोलन र निर्वाचनबाटै समाजवाद आउने संशोधनवादी नीति ठान्थे। निर्मल लामा,मोहनविक्रम सिंह,जयगोविन्द साह र अन्य साथीहरू भने संविधानसभाको हिमायती थिए।
’व्यक्तिहत्या’ र ’व्यक्तिगत आतंकवाद’ को बाटोबाट मात्र क्रान्ति सम्भव छ भन्ने रूसको नरोधवादी र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित आजको ’एमाले’ केही व्यक्तिले समाजलाई बिटुल्याएका हुन् र केही वीरहरूले समाजमा आमूल परिवर्तन गर्नसक्छन भन्ने मान्यताको आधारमा संघर्ष गर्दै थियो। यसको ठीक उल्टो नेमकिपाले रूसको नरोधवादी र भारतको नक्सलवादी दुईवटै लाइन गलत हो,व्यक्तिहत्याबाट आमूल परिवर्तनको आशा राख्ने चिन्तन अराजकतावादी दृष्टिकोण हो,केही व्यक्ति बहादुर हुँदैमा समाजमा आमूल परिवर्तन आउँछ र गर्न सक्छ भन्ने होइन,बरु लाखौं लाख कामदार जनता राजनीतिक रूपमा सचेत नभैकन समाजमा आमूल परिवर्तन नआउने भएकोले बहुमत सर्वहारा वर्गका जनताहरूलाई क्रान्तिको निम्ति राजनीतिक रुपले सचेत,सैद्धान्तिक र वैचारिक रूपमा संगठित हुनुपर्ने आवश्यकतालाई औल्याउँदै जनतालाई समाजवादी विचारधाराले शिक्षित पार्दै जनसाँस्कृतिक स्तरलाई उँचो पार्ने काममा नेमकिपा निरन्तर रूपमा सक्रियताका साथ लागिरहेका छन्।
आत्मालोचना गरेको एमाले सङ्ग पुष्पलाल समूह र अन्य कम्युनिस्ट समूहहरू समेत एक भएका थिए। एमाओवादी भनिने प्रचण्ड समूहले पुष्पलाल र मोहनविक्रम समूहमा पसेर जनयुद्धको नाउँमा गृहयुद्ध त्यसबेला छेडिसकेको थिएन। पछि एमाओवादीले भारतीय विस्तारवादको सहयोगमा भारतकै हित हुने पाइला चाल्यो।
त्यस किसिमको अन्योलको परिस्थितिमा किसान् आन्दोलनलाई अगाडि बढाउन,नेपाली काङ्ग्रेसको सहयोगविना कम्युनिस्ट आन्दोलन अघि बढाउन,रुसी सामाजिक साम्राज्यवादको अफगानिस्तानमाथिको  हमलाको विरोध गर्न,भारतीय विस्तारवादले पूर्वी पाकिस्तानमा सैनिक आक्रमण र हस्तक्षेप गरेको एवं सिक्किमलाई भारतमा विलय गराएको विरोधको परिस्थितिमा बागमती,नारायणी र जनकपुर अञ्चलका साथीहरूसङ्ग मिलेर नेपाल मजदुर किसान पार्टीको प्रादुर्भाव भएको कुरा नेमकिपाको हरेक प्रशिक्षण,विचार गोष्ठी र अन्तरक्रिया कक्षाहरूमा छलफल व्यापक रूपमा हुने नै गर्छ।
तर,सन १९९१ डिसेम्बर २६ मा रुसी समाजवादको अस्थायी हार भयो र सोभियत संघ १४–१५ टुक्रामा विभाजित भयो।
त्यसबेला पुष्पलाल समूहको केन्द्रीय समितिमा ’नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको खोटा विचारहरूको खण्डन’ र ’सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ पुस्तकहरूमार्फत आफ्नो दृष्टिकोण राखी नेमकिपाको स्थापना भएको थियो।
नेमकिपा समाजवाद स्थापनाको निम्ति संघर्षरत छ। समाजवाद भनेको राज्यले मान्छे जन्मेदेखि मृत्युसम्मको सबै जिम्मेवारी लिनु,उत्पादनका मुख्यमुख्य साधनहरूलाई सामजिकीकरण गर्दै,व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्नु,शिक्षा,स्वास्थ्य निशुल्क गर्नु,योग्यता अनुसारको काम र सोही अनुसारको ज्यालाको बन्दोबस्त गर्नु,किसानहरूको हितलाई प्राथमिकतामा राख्दै क्रान्तिकारी भूमिसुधार लागू गर्नु,वर्गीय भेदलाई सन्तुलनमा ल्याउन प्रगतिशील कर प्रणाली लागू गर्नु,राज्यको नेतृत्वमा उत्पादन र वितरण गर्नुका साथै सिङ्गो समाजलाई नै बुद्धिजीवीकरण गर्नु हो। समाजवाद दालभात डुकुको मात्रै समस्याको समाधान होइन,बरु उच्च साँस्कृतिकस्तरले युक्त समाज निर्माण गर्नु पनि हो।
नेमकिपाका कार्यकर्ताहरू पहिलेदेखि नै इमानदारीपूर्वक देश र जनताको निस्वार्थ रुपले सेवा गर्ने भावनाले संगठनका कष्टसाध्य काममा निरन्तर रूपमा लाग्दै आइरहेका छन्। त्यसैले नेमकिपा आलुको बीउ रोपेर सुन्तलाको आशा गर्दैन। छलछामले जनताको साँस्कृतिकस्तरमा आमूल परिवर्तन हुँदैन भन्ने विषयमा नेमकिपाको नेतृत्व स्पष्ट छ। यसकारण अन्य कम्युनिस्ट र समाजवादी भनिएका दलहरूले जस्तै विश्वासको संकट नेमकिपाले झेल्नुपरेन । नेमकिपाको लक्ष्यमा अहिलेसम्म कुनै भ्रम छैन । त्यसैले अरु दलहरूको जस्तो महाधिवेशनहरूको लुछाचुँडी र भाँडभैलो नेमकिपाले अहिलेसम्म झेल्नु नपरेको कुरा छर्लङ्गै छ।
राजनीतिक दलको कार्यकर्ताहरूको अनुशासन र पार्टीको महाधिवेशनबारे पनि यस पुस्तकले सरल रूपमा बुझ्न टेवा पु¥याएको देखिन्छ। देश र जनता,सिद्धान्त र नीतिप्रति समर्पित राजनीतिक दलमात्र होइन एक प्राज्ञिक संस्थामा समेत नियम र अनुशासन लागू हुन्छ। नेमकिपाभित्र पनि सामूहिक जीवन हुन्छ,कुनै पार्टी सदस्यले मात्र होइन नेताले पनि नीति,नियम र अनुशासनमा बस्नुपर्ने हुन्छ र आ–आफ्नो कर्तव्यलाई पालना गर्नुपर्ने हुन्छ। जस्तै सोभियत संघको एकेडेमीका एक सदस्य पास्तरनाक भन्ने कवि र साहित्यकारले ’डा.जिवागो भन्ने एक उपन्यास लेख्यो। एकेडेमीले त्यो पुस्तक नछाप्ने निर्णय ग¥यो र व्यक्तिगत पनि नछपाउन भनिएको थियो। तर लेखकले गैरकानुनी रुपले वा गुप्त रुपले त्यस पुस्तकलाई इटाली लगेर छापेपछि त्यस पुस्तकलाई नोबेल पुरस्कार दिइयो।
त्यो पुरस्कार लिने हो भने लेखकले सोभियत नागरिकता त्याग्नुपर्ने घोषणा सोभियत सरकारले ग¥यो। त्यो घटना वि.स २०१५ सालतिरको हो र त्यसबेला नेपालमा पहिलो महानिर्वाचन हुँदै थियो। त्यही घटनाबारे त्यसबेला नेपालका लेखक,कवि र कलाकार दुई भागमा विभाजित भयो। एकेडेमीको सदस्यको नाताले पास्तरनाकले आफ्नो संस्थाको ऐन कानुन र नियमलाई मान्नुपर्ने थियो,त्यो पुस्तकलाई गुप्तरुपले विदेशमा छाप्न त्यहाँको तत्कालीन कानुनले दिदैनथ्यो। एकेडेमीको नियम र निर्णयको विरोध वा देशकै कानुनको विरोध भएको हुँदा पास्तरनाकको कार्य गलत,गैरकानुनी र समाजवादविरोधी थियो।
यसकारण,राजनीतिक दलमा पनि सदस्यहरूले व्यक्तिगत इच्छाको नाममा गर्ने काम कारबाही पार्टीको अहितमा हुनुहुन्न, बरु पार्टीको कामलाई प्राथमिकता दिनु आवश्यक छ। व्यक्तिको नराम्रो कामले पार्टीमा पर्ने प्रभावबारे ध्यान दिनुपर्ने हुन्छ। साथै,आआफ्नो पदअनुसारको दायित्वसङ्ग पनि पार्टी सदस्य सम्बन्धित हुन्छन् ।
हरेक राजनीतिक दलको आआफ्नो विधान अनुसार निश्चित समयमा पार्टीको महाधिवेशन पनि हुनेगर्छ। महाधिवेशन भनेको सामान्यतया हरेक राजनीतिक पार्टीको सबैभन्दा ठुलो बैठक र शक्तिशाली अङ्ग हो। अर्थात कुनै पनि दलको महाधिवेशनले त्यस दलको सिद्धान्त,नीति,नाम र झन्डासमेत फेर्न सक्छ। नेतृत्व हेरफेर गर्न सक्छ।
नेमकिपामा आबद्ध भएका संघर्षशील धेरै अनुशासित र कर्तव्यनिष्ठ कार्यकर्ताहरूमध्ये इतिहासले बिर्सन नसक्ने सिद्धान्तनिष्ठ,कर्तव्यनिष्ठ,अनुशासित,निडर एवम् पार्टी र मजदुर,किसान जनताबीचको इमानदार सेतु,एक क्रान्तिकारी योद्धा एवं किसान कार्यकर्ता का.जयराम बासुकलाको वास्तविक जीवन संघर्ष र राजनीतिक संघर्षको यथार्थतालाई पनि पुस्तकमा नयाँ पुस्तालाई प्रेरणा मिल्ने र मिलाउने गरि उल्लेख गरिएको छ। किसान कार्यकर्ता का.जयराम बासुकला भौतिक रूपमा हामीमाझ नरहे पनि पार्टी र जनताबीच अमर र अविस्मरणीय हुनुहुन्छ। उहाँको संघर्ष र योगदान नयाँ पुस्ताको निम्ति प्रेरणाको श्रोत हुनुका साथै वर्तमान समयमा पनि संघर्षमा मार्गनिर्देशक बनिरहेको छ।
देश र जनताको निस्वार्थ सेवक का.जयराम बासुकला २०२२–०२३ सालदेखि पार्टीको सम्पर्कमा हुनुहुन्थ्यो। जनतासङ्गको सेवा र सम्पर्क नै उहाँको राजनीति थियो। उहाँ पार्टीको हरेक निर्णय तथा निर्देशन जनतासम्म पु¥याउने काम गर्नुहुन्थ्यो। यसकारण,२०२७ सालतिर उहाँले पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो। उहाँ गुप्त रूपमा ’मदन’
नामले पार्टीमा परिचित हुनुहुन्थ्यो ।
जनतासङ्गको सम्पर्ककै कारण प्रतिक्रियावादीहरू उहाँसङ्ग डराउथे। २०४५ सालको राज्यस्तरको षड्यन्त्र ’भक्तपुर काण्ड’ मा इनाचो टोलमा सरकारी सुराकी ’गोपालचा’ ले कर्ण ह्योजुलाई पिटेको जयराम बासुकलाले आफ्नै आखाले देखेको कुरा जेलमा बस्दा इमानदारपूर्वक पार्टीको नेता र कार्यकर्ता साथीहरूलाई बताउने गर्नुहुन्थ्यो ।
उहाँलाई पन्चायती सरकार,जाली फटाहा र मण्डेलाहरूका सबै गतिविधि थाहा थियो। भक्तपुर काण्डमा पीडित साथीहरूलाई मद्दत गर्ने सम्भावना देखेरै पन्चायती व्यवस्थाले उहाँलाई पक्राउ गरेको थियो। कारागारमा पनि उहाँ सबै साथीहरूसङ्ग हरेक विषयमा सरसल्लाह गर्नुहुन्थ्यो।
कैदी हुँदा र खुल्ला हुँदाको उहाँको जीवनशैलीमा खास फरक थिएन। कारागारमा रहँदा उहाँमा निराशा वा दुःख मनाउ देखिन्नथ्यो। जेलमा उहाँ पुस्तक तथा पत्रपत्रिकाहरू अध्ययन गरिरहनुहुन्थ्यो। घरपरिवारको चिन्तामा डुबेका अरू साथीहरूलाई सम्झाउने बुझाउने काम गरिरहनुहुन्थ्यो। त्यसैले उहाँ आफूले आर्थिक लाभ तथा पद नपाएकोमा गुनासो नगर्ने र उहाँको नथाक्ने स्वभावबाट पार्टीको नेता र कार्यकर्ताहरू प्रभावित हुनुहुन्थ्यो। कामप्रतिको निरन्तरता,निष्ठ,सरलता,मिलनसारिता,निडर र अथक स्वभाव उहाँका गुणहरू थियो। ती गुणहरूबाट हामी नयाँ पुस्ताका साथीहरूले सिक्नु आवश्यक छ।
का.रोहितको विचार र अभिव्यक्तिहरू सङ्कलित यस पुस्तकले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सुसूचित पार्दै नयाँ र पुराना पुस्ताका कार्यकर्ताहरूलाई अझ उत्साह र सक्रियताका साथ संघर्षमा अगाडि बढ्न थप ऊर्जा प्रदान गरेको छ।

Comments