शीर्षक :समय र विचार भाग-२ पुस्तक पढ्दा


फाल्गुन २९, २०८१, बिहीबार | विहान ०५:३१ बजे | 55


शीर्षक :समय र विचार भाग-२ पुस्तक पढ्दा

राजु तामाङ,काभ्रे 
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ( रोहित) को श्रमिक साप्ताहिक र मजदुर दैनिक लगायत अन्य सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ता सङ्कलन 'समय र विचार 'पार्टीको सातौं महाधिवेशनको अवसर पारी वि.स २०७६ साल असोजमा प्रकाशित गरिएको थियो भने अहिले पार्टीको आठौं महाधिवेशनको सङ्घारमा का. रोहितको सङ्कलित अन्तर्वार्ता 'समय र विचार ' भाग-२, वि.स २०८१ फागुनमा पत्रकार समाज नेपालद्वारा हालसालै प्रकाशित भएको छ। यस सङ्कलनमा पार्टीको 'श्रमिक 'साप्ताहिक 'मजदुर' दैनिक र जनवर्गीय एवम् पेशागत समाज लगायतका प्रकाशन तथा अन्य सञ्चार माध्यममा
का.रोहितले व्यक्त गर्नुभएको विचार र अभिव्यक्तिहरू सङ्ग्रहित छन्।
पाठक वर्गले सहजै पढ्न र बुझ्न सक्ने गरि सरल भाषामा सम्पादित यस पुस्तकमा का.रोहितले नेपालको विभिन्न कालखण्डमा भएको आन्दोलनको इतिहास,देशका शासक दलहरूको राजनीतिक सिद्धान्त र चरीत्र,सच्चा कम्युनिस्ट पार्टीको सिद्धान्त,उदेश्य र व्यवहार सङ्गै नेपालको शासक कम्युनिस्ट पार्टीको सिद्धान्त र व्यवहार,नेमकिपा र अरु दलहरूबीचको भिन्नता,देशघाती एमसीसी र एसपीपी सम्झौता,एकाधिकार पुँजी,साम्राज्यवाद र विस्तारवादको चरीत्र,फासीवाद,अवसरवाद,अराजकतावाद,साहित्य,
,नाजीवाद,,बडा राष्ट्रवाद अहंकारवाद,सङ्कीर्ण राष्ट्रवाद, अन्धराष्ट्रवाद र पार्टीको महाधिवेशन लगायतको विषयमा जनतालाई बुझाउने हेतुले अध्यक्ष रोहितले सरल र स्पष्ट भाषामा दिनुभएको अभिव्यक्तिहरू धेरै महत्त्वपूर्ण र अहिलेको अवस्थामा समेत  समयसान्दर्भिक र त्यति नै अध्ययनुपायोगी छ।
राजनीति भनेको राज्य नीति हो,अर्थात नीतिहरूको राजा नै राजनीति हो। प्रकारान्तरमा निस्वार्थ रूपले ईमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित सार्वभौम सिद्धान्तमा आधारित नीति भनेकै राजनीति हो। त्यसैगरी कुनै एउटा निश्चित दर्शन,विचार एवं वर्गीय सिद्धान्तको आधारमा आदर्श समाज निर्माण गर्ने उदेश्यले स्थापित व्यक्तिहरूको संगठित समूह नै राजनीतिक दल हो। तसर्थ हरेक राजनीतिक दलको मुटु भनेको त्यसले अङ्गीकार गरेको सिद्धान्त नै हो,जसरी एउटा मान्छेको जीवन मुटुबिना सम्भव छैन त्यसरी नै सिद्धान्त र निश्चित गन्तव्यबिनाको राजनीतिक दलको जीवन्त पनि सम्भव हुने गर्दैन। त्यसैले मार्क्सवाद,लेनिनवाद र माओत्सेतुङ विचारधारालाई अङ्गीकार गर्दै जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य लिएर नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो। नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारहरूको खण्डन,रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन,
पाकिस्तानको विभाजन र नेपालको तात्कालिन स्थितिमा मजदुर संघर्ष सङ्गसङ्गै किसान संघर्षलाई पनि वर्ग संघर्षको रूपमा अगाडि बढाउने जस्ता सैद्धान्तिक आधारशिलाताको जगमा टेकेर नेमकिपाको स्थापना भएको हो। वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवाद विरुद्ध संघर्ष गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई जगैदेखि उठाउने उदेश्यले संशोधनवाद र अराजकतावादविरुद्ध स्थापनाकाल देखि नै नेमकिपा संघर्षरत छ। नेमकिपा स्थापनाकाल देखि नै निस्वार्थ रुपले ईमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित छ। त्यसैले नेमकिपाले हरकोहीलाई राजनीति भनेको सिद्धान्त बेचेर खाने व्यापार नभै निस्वार्थपूर्वक गरिने देश र जनताको सेवा हो भन्ने शिक्षा निरन्तर रूपमा दिदै जनताको सैद्धान्तिक र साँस्कृतिक स्तर उकास्ने काममा लागिपर्दै आइरहेको छ। नेपालको शासक कम्युनिस्टहरू माओवादी र एमाले रूसको नरोधवादी र भारतको नक्सलवादी विचारधारात्मक लाइनबाट प्रभावित र निर्देशित छन्। परिणाम स्वरुप २०२८ सालको झापा विद्रोहमा व्यक्ति हत्याको लाइन अङ्गीकार गर्दै आएको एमाले र दस बर्से सशस्त्र जनयुद्धको नाममा हतियार उठाएर १२ बुँदे दिल्ली सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा पदार्पण भइ सत्ता पुगेका माओवादी अहिले उम्किनै नसक्ने गरि संशोधनवाद र दक्षिणपन्थी अवसरवादमा पतन भएको कुरा घाम जतिकै छर्लङ्ग छ। त्यसैले नेपाल मजदुर किसान पार्टीले सैद्धान्तिक संघर्षमा व्यक्ति हत्या र संसदवादी संशोधनवादको लाइनबाट  समाजमा आमूल परिवर्तन गर्न सकिदैन भन्ने कुराको वैज्ञानिक अध्ययन र गहन छलफल गर्दै अराजकतावाद र
संशोधनवादविरुद्धको संघर्षलाई अगाडि बढाएको हो।
हरेक कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन्।
देशभक्त भनेको देशलाई माया गर्ने,देशको स्वतन्त्र,
सार्वभौमिकता,स्वाधीनता र अखण्डतालाई अक्षुण्ण राख्दै त्यसको  रक्षाको निम्ति बाहिरी र भित्री देशघाती र देशद्रोही शक्तिको विरुद्धमा हर्दम संघर्ष गर्ने भावना बोकेर मुकाबिला गर्नु नै देशभक्त हो । कुनै एक देशको परिधिभित्र केन्द्रित हुनुलाई सङ्कुचित ठानी विश्वका सबै देशहरूलाई एकै एकाइको रूपमा लिएर विश्व वा पुरै मानव जातिलाई अखण्ड मानी सोही अनुरुप सङ्गठित वा असङ्गठित रूपमा आचरण तथा कार्य गर्नमा जोड दिने सिद्धान्त नै अन्तर्राष्ट्रवाद हो। प्रकारान्तरमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्षेत्र,अन्तर्राष्ट्रिय कर्तव्य
र विश्वबन्धुत्ववाद नै अन्तर्राष्ट्रवाद हो। यसर्थमा नेमकिपाले सा-साना स्वतन्त्र र सार्वभौम देशहरूमाथि साम्राज्यवादी,विस्तारवादी तथा उपनिवेशवादीहरूले गरेको नाङ्गो हस्तक्षेप,थिचोमिचो,अन्याय र अत्याचारको विरुद्धमा सडक र सदनमा संघर्ष गर्दै संसारको जुनसुकै देशमा भएको देशभक्तिपूर्ण आन्दोलनहरूको पक्षमा समर्थन जनाउदै आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पुरा गरि सच्चा अन्तर्राष्ट्रवादी कम्युनिस्ट पार्टीको रूपमा आफूलाई विश्वमाझ परिचित गर्दै आइरहेको छ। नेपालको छदमभेषी शासक कम्युनिस्ट पार्टीहरूले भने साम्राज्यवादी र उपनिवेशवादीहरूको हमला,थिचोमिचो,अन्याय र अत्याचारको विरुद्धमा संघर्ष नगरी उल्टै समर्थन जनाउदै आफ्नो अन्तर्राष्ट्रिय कर्तव्यबाट च्युत भएको कुरा घाम जतिकै छर्लङ्ग छ। नेपालको ७१ स्थानमा ६० हजार हेक्टर भन्दा बढी भूमि भारतीय विस्तारवादले मिचेको छ । नेपालका नदीनालाहरूमा भारतीय एकाधिकार पुँजीले हैकम जमैरहेको छ। नेपाललाई भारतको सुरक्षा छातामा राख्ने गरि भएको सन्.१९५० को देशघाती असमान सन्धिले नेपाल सार्वभौम देश होइन भारतको प्रदेश जस्तै बनाइएको छ। भारतीय विस्तारवादको यस्तो देशघाती असमान सन्धि,थिचोमिचो र हस्तक्षेपको विरुद्धमा नेमकिपा स्थापनाकालदेखि नै सडक र सदनमा देशभक्त जनताको आवालाई बुलन्द गर्दै निरन्तर रूपमा संघर्षरत छ। यसको ठीक उल्टो नेपालको कम्युनिस्ट र प्रजातन्त्रवादी भनाउदा शासक दलहरू भने आफ्नो देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको निम्ति एक शब्द,एउटा वाक्य समेत बोल्न डराउछन। आफ्नो देशको निम्ति लडाइँ लड्दै मर्नु पर्ने शासकहरू भारतीय विस्तारवादको अन्याय,अत्याचार,थिचोमिचो र हस्तक्षेपको विरोध बोल्न डराएर विस्तारवादी शासक वर्गको सामू आत्मसमर्पण गर्दै उठबस गर्नु लम्पसारवादी किन होइन। यी शासकहरू न त कम्युनिस्ट हुन्,न त यिनीहरू प्रजातन्त्रवादी नै हुन्। माओले भन्नुभएको छ ' कम्युनिस्टहरूले यमराजको ढोका ढकढक्याउछन्,साम्राज्यवादी र विस्तारवादीहरूसङ्ग डराउनेहरू प्रजातन्त्रवादी र कम्युनिस्ट हुन सक्दैनन्।'

नेपाल मजदुर किसान पार्टी सिद्धान्त र व्यवहारको सवालमा अरु भन्दा धेरै भिन्न छ। नेमकिपा सिद्धान्तमा हिमाल झैँ अटल र व्यवहारमा चट्टान झैँ मजबुत हुँदै सम्झौताहीन संघर्षमा छ। नेमकिपाले क्रान्तिकारी संसदवादलाई उपयोग गर्दै आइरहेको छ। यदि नेमकिपाले क्रान्तिकारी संसदवादलाई उपयोग नगरेको भए पानीभित्र लुकेका चट्टानहरूले राती ठुल्ठुला जहाजलाई पनि क्षति पुर्‍याएजस्तै रातो लुगा लगाएका नक्कली कम्युनिस्ट,नक्कली वामपन्थी र नक्कली समाजवादीहरूले सारा जनतालाई थाहै नदिई पुँजीवादी नर्कमा पुर्‍याउने थिए।
तर,नेमकिपाले सदन र सडक,अन्तरक्रिया र गोष्ठीहरूमा साधारण कामदार जनता र बुद्धिजीवी जनताको बीचमा कुनै कुरालाई नलुकाई देखिने वर्ग शत्रु र रातो लुगामा हरियो घाँसभित्र लुकेका सर्परुपी वर्ग शत्रुहरूलाई जनतामाझ उदाङ्ग्याउने कामलाई स्थापनाको समय देखि नै निरन्तर गर्दै आइरहेको छ। हो,हाम्रो जस्तो गरिब,निराक्षर र साँस्कृतिक स्तर नउठेको बहुसंख्यक कामदार जनता भएको देशमा मार्क्सवाद र लेनिनवादजस्तो गम्भीर सिद्धान्तलाई तुरुन्तै अनुसरण गराउन समय लाग्नु स्वभाविक हो। हजारौं वर्षको अन्धविश्वासको कारण बोक्सी,छारे रोग र अन्य मानसिक रोगमा समेत अरुलाई दोष दिने तथा महिलाको महिनावारीमा छाउगोठमा राख्ने अन्धविश्वासको विरोधमा संघर्ष गर्न समेत झन्डै २०-३० वर्ष लाग्यो भने सामन्तवाद र पुँजीवादको विरोधमा संघर्ष गर्न निश्चय पनि एक ऐतिहासिक समय लाग्छ। तर,बहुमत कामदार जनताको चेतनास्तर माथि उठ्दै जाँदा संघर्षलाई अगाडि बढाउन सक्ने परिस्थिति अनुकुल हुँदै जानेछ।
हिजो नेमकिपालाई संसदवादी आरोप लगाउने रातो झन्डाको विरोध गर्न रातो झन्डामाथि उठाउने अवसरवादी र नक्कली कम्युनिस्टहरू आज संसदबाटै सरकारमा गएर पुँजीपति वर्ग र व्यवस्थाको हित गर्ने ऐन कानूनहरू बनाउदै आइरहेका
छन्। संरा अमेरिका र भारतीय विस्तारवादको अगाडि आत्मसमर्पण गर्दै एमसीसीको डुङ्गामा बसेर हिन्द-प्रशान्त रणनीतिक वा सैन्य गठबन्धनमा सामेल हुँदै छन्। नेपाली जनताका आफ्नै पिछ्छलग्गूहरूको आखाको पट्टी खोलेर देखाउन नेमकिपाले पुरानो र नयाँ पुस्तालाई विश्वको जटिल राजनीतिबाट शिक्षित गर्न कष्टसाध्य काम बडो साहस र फुर्तिका साथ गर्दै आएको छ। नत्र अन्जानमा हाम्रो देश विदेशी सेनाको अखडा बन्नेछ। हाम्रो देशलाई दक्षिण एसियाको काबुल( अफगानिस्तान) बनाइनेछ।
नेमकिपालाई संसदवादी भन्नेहरू अहिले आफ्नो मुकुन्डो खोली सबैको सामुन्ने साम्राज्यवाद र विस्तारवादको पिछलग्गू सावित भैसकेका छन् ।
इतिहासलाई नियालेर हेर्दा ४८ वर्ष अगाडि देशमा एकदलीय पन्चायती व्यवस्था थियो। राजतन्त्र र पन्चायतको नाममा केही शोषक ,सामन्त र जमिनदार वर्गले जोताहा किसान जनतालाई शोषण गर्दै थिए। गाउँ- गाउँका सबल युवाहरूलाई बेलायत र भारतीय गोर्खा सेनामा भर्ती गराउन पठाउथे,त्यसबाट शासक एवं सम्भ्रान्त वर्गले आर्थिक लाभ पाउथे। त्यसकारण २००७ सालदेखिका सबै प्रकारका सरकारहरूले आजसम्म गोर्खा भर्ती केन्द्रको असमान सन्धिलाई खारेज गरी आफ्नै देशमा योग्यता अनुसारको काम र काम अनुसारको ज्याला वा पारिश्रमिक पेसा दिन सकेका छैनन्।

Comments