रंगहरुको पर्व होलीको महिमा


फाल्गुन २६, २०८१, सोमबार | विहान ०७:०७ बजे | 55


रंगहरुको पर्व होलीको महिमा

सागर गुरागाईं
होली शब्दमै उमंगको अनुभूति हुन्छ । उमंग, भ्रातृत्व र पवित्रताको पर्वले हामीलाई एउटा आनन्दको अनुभूति दिनेछ । होली पर्व मनाउनुका अनेक कारण छन् । कतिले यसलाई अपनत्व, भ्रातृत्व, बुद्धत्व, पवित्रता र आत्मीयताको पर्वका रुपमा परापूर्वकालदेखि मनाइदै आएको संस्कारका रुपमा लिन्छन् । कतिले सत्ययुगमा राक्षसी होलिकाले भक्त प्रह्लादलाई झुक्याएर मार्न खोज्दा आफैं जलेर भष्म भएपछि त्यसैको खुसीमा उत्सव मनाउदै आएको मान्यताका रुपमा लिन्छन् । जे होस, हिन्दुहरुका लागि होली पर्वको खास महत्व छ । उसो त वसन्त पञ्चमीको सुरुवातले नै एक खालको नयाँपन आमनेपालीको मनमस्तिष्कमा भरिदिने गर्छ । ऋतुको राजा भएर पनि होला, वसन्त पञ्चमीदेखि नै जाडो कम, रात छोटो अनि नयाँ पालुवाको मौसम सुरु भइदिन्छ । जंगलमा हुने पत्झड् र बस्तीमा चल्ने सिरसिर बतासले पनि मनमा अर्कै खालको तरगं फैलाउंछ । वसन्त पञ्चमीपछि आउने शिवरात्रि र त्यसपछि आउंदै गरेको होली पूर्णिमाको नेपाली जीवनमा फरक महत्व छ । पछिल्ला दिनमा यूवापूस्ताले शिवरात्रिमा गाँजा र होलीमा भगौटा खाने आमचलनजस्तै बनाउन थालेका छन् । शिवरात्रि र होलीले गृहस्थ जीवनमा रहेकालाई मात्रै छुदैँन । साधु सन्त, महन्त र साधकलाई पनि यसले प्रभावित गरेका हुन्छ । प्रकृतिको घुमाइअनुसार वर्षमा १२ वटा पूर्णिमा पर्छन् । हरेक पूर्णिमाको आआप्mनै महत्व छ । फागुपूर्णिमा विभिन्न रंगविरंगसँग सम्बन्धित छ । प्रकृतिको परिवर्तनअनुसार यसलाई मानिएको छ । यस दिन जसले होली मनाउँछ, त्यो पूर्णिमाको उत्सव मनाउनु हो । जसरी चन्द्रमाका १६ कला छन्, यस होली पर्वले पनि मानव जीवनमा मन, बुद्धि, चित्तमा परिवर्तन ल्याउँछ ।
होली पर्व त फूल, चन्दन, रगं र जलले एकले अर्कालाई शुद्धीकरण गर्ने पर्व हो । पूजन गर्ने पर्व हो । जलले एकले अर्कालाई छर्कदा शीतलता प्रदान गर्छ । शीतलता चन्द्रमा भनेकै जलको प्रतिक हो । गर्मीमा चन्द्रमाको सेवन गर्नु उत्तम हुन्छ भन्ने प्रकृतिको सन्देश पनि होली पूर्णिमा हो । शिव र पूर्णिमा (चन्द्र) का लागि त शुद्ध चित्त, व्रत धारण पो गर्नुपर्छ । भजनकीर्तन नाच्ने हो । चन्द्रमाका १६ मध्ये एउटा कला नृत्य, गायन र संगीत हो । आखिर भगवान् शिवले पनि ताण्डव नृत्य त गर्थे नि । होलीलाई विकृति होइन पवित्रताका साथ सबै नेपालीले सुगन्धित रुपमा मनाउन सके हामी सबै एकआत्मा हौं भन्ने दर्शाउने छ । विधिवत् रुपमा होली पूर्णिमा मनाउनु नै पशुपतिनाथको पाशुपत धर्म धारण गर्नु हो, पाशुपत धर्म भन्नाले वेद वेदांगलाई बुझ्नुपर्छ । आफूले आफैंलाई सम्मान गर्ने पर्व हो होली । चन्द्रमाको स्थानमा आज्ञाचक्र छ । यस दिन आज्ञा चक्रमा चन्द्रमाको ध्यान गर्नाले कल्याण प्राप्त हुन्छ । यो त पवित्रताको पर्व हो, यसमा विषाक्त मिसाउनु विकृति हो ।
 

Comments