मेरो शिक्षण यात्रा: रोम्वस नेशनल स्कूलमा दुई वर्षको अविस्मरणीय अनुभव
फाल्गुन २५, २०८१, आइतबार | दिउँसो ०३:१२ बजे | 110
विपना बानिया
मेरो शिक्षण यात्रा सन् २०७९ मा रोम्वस नेशनल स्कूल बाट सुरु भएको हो। यो विद्यालय मेरो जीवनको पहिलो शैक्षिक स्थल थियो, जहाँ मैले बाल्यकालमा शिक्षा प्राप्त गरेकी थिएँ। आज म यहाँ शिक्षिकाको रूपमा कार्य गर्दै छु र यो यात्रा मेरो लागि एक विशेष आशीर्वादको जस्तो अनुभव बनिसकेको छ।
शिक्षक बन्ने मेरो सपना यहींबाट सुरु भएको थियो। यो विद्यालयले मलाई केवल किताबका पन्नामा मात्र होइन, जीवनका महत्त्वपूर्ण पाठहरू पनि सिकायो। जब मैले यहाँ शिक्षिकाको रूपमा काम गर्न सुरु गरें, त्यस समयमा मलाई यस्तो अनुभूति भयो, यो एउटा गहिरो कनेक्शन थियो – बचपनका ती पाठहरू आज म अरूसम्म पुर्याउँदै छु।
प्रधानाध्यापक डा. राजेन्द्र कोजु सरसँगको मेरो पहिलो भेट अहिले पनि मेरो मनमा ताजै छ। उहाँको विश्वास र हौसलाले मलाई शिक्षण कार्यमा साहस दिने काम गर्यो। उहाँ सधैं मेरो साथमा थिए – जब म असहज महसुस गर्थें, उहाँको सकारात्मक शब्दहरूले मलाई फेरि उठ्ने साहस दिन्थ्यो। उहाँको मार्गदर्शन र समर्थनले मलाई शिक्षक बन्नको वास्तविक अर्थ सिकाएको छ।
हाम्रो विद्यालयकी संस्थापक सरिता कोजु म्याम जस्तै प्रेरणादायक व्यक्तित्वबाट मैले बाल्यकालमा शिक्षा लिएको थिएँ। आज म उहाँकै विद्यालयमा शिक्षकको रूपमा काम गर्दै गर्दा मलाई गर्व महसुस हुन्छ। उहाँसँगको मेरो यात्रा निरन्तर प्रगति भएको छ। उहाँले मलाई जस्तो बच्चालाई शिक्षक बनाउन सकिन्छ भन्ने कुरा देखाउनुभयो। जब जब मलाई समस्या आएका छन्, उहाँले मेरो पक्षमा उभिएर मलाई हौसला दिनुभयो।
उपप्रधानाध्यापक अमृता ढकाल म्याम ले पनि मेरो आत्मविश्वास वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाउनुभयो। उहाँका शब्दहरूले मलाई आत्मसम्भाल र साहस दिएका छन्। शिक्षणको क्षेत्रमा बोल्न र आफ्ना विचारहरू स्पष्ट पार्नमा उहाँको सल्लाहले मलाई धेरै सहयोग पुर्यायो।
विद्यालयका सबै शिक्षकहरू मेरो लागि मित्र जस्तो भएका छन्। सबैको सहयोग र साथले मलाई निरन्तर अगाडि बढ्न मद्दत पुर्याएको छ। यहाँको एकता र सहकार्यको कारण, मैले आफ्नो शिक्षण विधिमा सुधार गर्न र विद्यार्थीहरूसँग अझ नजिक जान सकें।
आज म प्राथमिक तहका विद्यार्थीहरूलाई अंग्रेजी विषय पढाउँछु। यी बच्चाहरूको शिष्टता र जिज्ञासा देख्दा म भावुक हुन्छु। उनीहरूको आँखामा चमक र उनीहरूको हर्षले मलाई यो पेशामा अझ राम्रो काम गर्न प्रोत्साहित गर्छ। मैले सिकाएको हरेक कुरा उनीहरूले जस्तै उत्साह र ध्यानपूर्वक सिक्ने प्रयास गर्छन्, जसले मलाई धेरै खुशी दिन्छ।
मेरो यो शिक्षण यात्रा दुई वर्ष पुरा भइसक्यो, र यसले मेरो जीवनका धेरै महत्त्वपूर्ण पलहरू बनाइदिएको छ। यस यात्रामा मैले धेरै कुरा सिके, धेरै चुनौतीहरू सामना गरे, र हरेक सफलताले मलाई अझ राम्रो शिक्षक बनाउनका लागि प्रेरित गरिरहेको छ।
अब, यो यात्रा नयाँ नयाँ अनुभवहरूको साथ अघि बढ्ने छ, र म निरन्तर आफैलाई अझ सक्षम र सशक्त शिक्षक बनाउनको लागि प्रयत्नशील रहनेछु।