होली गार्डेन स्कुलको वार्षिकोत्सव ः एसईई सम्मान एवं दीक्षान्त गरियो 


फाल्गुन २४, २०८१, शनिबार | विहान ०९:२५ बजे | 315


होली गार्डेन स्कुलको वार्षिकोत्सव ः एसईई सम्मान एवं दीक्षान्त गरियो 

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बाहाखाबजारस्थित होली गार्डेन इग्लिंस सेकेण्डरी स्कुलको ४२ औं वार्षिकोत्सव, एसईई सम्मान एवं प्रिस्कुल दीक्षान्त कार्यक्रम सम्पन्न भयो । होली गार्डेन स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेवको सभापतित्वमा आयोजित कार्यक्रमको मध्यपुर थिमि नपा ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिले उद्घाटन गर्दै व्यवहारिक, प्रयोगात्मक एवं प्राविधिक शिक्षा प्रदान गर्दै होली गार्डेन स्कुलले शिक्षाको विकास र विस्तारमा पु¥याएको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक रत्नमान शंखदेवले विद्यालयको वार्षिक प्रगति विवरण पेश गर्र्दै समयसापेक्ष प्राविधिक शिक्षा प्रदान गर्न स्कुलले डिजिटल बोर्डका माध्यमबाट अध्यापन गर्ने जानकारी दिनुभयो । प्रधानाध्यापक शंखदेवले होली गार्डेन स्कुलले गणित प्रयोगशालामार्फत पनि गणित अध्यापन गराउँदै आएको जानकारी दिदैं विद्यार्थीको सर्वांगिण विकासमा आफूहरु प्रयत्नरत रहेको बताउनु भयो । कार्यक्रमका सभापति नरगोविन्द शंखदेवले शिक्षाको गुणात्मक विकास, विस्तार र व्यवहारिक शिक्षाको लागि होली गार्डेन स्कुल शिक्षाकर्मी, बुद्धिजिवि, जनप्रतिनिधि सबैको साथ र सहयोगमा अघि बढिरहेको बताउनु भयो । विद्यालयको प्रागंणमा आयोजित उक्त कार्यक्रममा कक्षा ३ मा अध्ययनरत अभिनव न्यौपानेले स्कुलको आफ्नो अनुभव सहित शिक्षाको महत्वबारे दिएको अंग्रेजी मन्तव्य सुनेर उपस्थित सम्पूर्ण अतिथिगण, अभिभावक एवं विद्यार्थीहरु मन्त्रमुग्ध देखिएका थिए । कक्षा एसकेजीको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, कविता, खेल प्रदर्शन, मन्तव्य आदि मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । मध्यपुर थिमि क्षेत्रका ऐतिहासिक नाचहरु मध्ये अष्टमात्रिका लगायतका नाच प्रदर्शन गरेर विद्यार्थीहरुले संस्कृति प्रतिको आफ्नो लगाव प्रस्तुत गरेका थिए । शिक्षिका मेनका श्रेष्ठले संचालन गर्नुभएको उक्त औपचारिक कार्यक्रममा गतवर्षको एसईई परीक्षामा सफल भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयमा दुईदशक भन्दा लामो समयदेखि निरन्तर अध्यापनरत लगनशील शिक्षक रामप्रसाद न्यौपानेलाई चाँदीको सिक्का सहित दिर्घसेवा सम्मान प्रदान गरिएको थियो । नियमित विद्यालयमा हाजिर हुने विद्यार्थी र उनीहरुका अभिभावकलाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा विद्याथीहरुले कक्षागतरुपमा पनि विभिन्न गीत र नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा जेनिशा मोक्तान, समिता ढकाल, रियाना कार्की लगायतका विद्यार्थीहरुले विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापहरुको बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । विद्यालयका नेपाली शिक्षक दिपक लम्सालले कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक, विद्यार्थी एवं सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । 
 

Comments