सन्दर्भ : गोत्र परम्परा र कौडिन्य गोत्रीय सापकोटा


फाल्गुन २१, २०८१, बुधबार | विहान ०५:३४ बजे | 305


सन्दर्भ : गोत्र परम्परा र कौडिन्य गोत्रीय सापकोटा

सुनील सापकोटा

भक्तपुर हिन्दु गोत्र परम्परामा वैज्ञानिक रूपमा जेनेटिक विविधता (Genetic Diversity) जोगाउन निर्माण भएको हो भन्ने ठोस प्रमाण नभए पनि परम्परागत रूपमा यसको उद्देश्य रक्त शुद्धता (Avoiding Inbreeding) जोगाउनु थियो होला। हिन्दू धर्ममा गोत्र भनेको वंश परम्परा हो। जसले पुरुष पक्षको पितृवंशलाई जनाउँछ। विवाह गर्दा एउटै गोत्र भित्र विवाह गर्न नहुने परम्परा वैदिक कालदेखि चल्दै आएको छ। वैज्ञानिक रूपमा एउटै पुर्खाबाट आएका व्यक्तिहरूबीच विवाह गर्दा जीन (DNA) धेरै मिल्ने सम्भावना हुन्छ। यदि नजिकको रक्तसम्बन्धीबीच विवाह भयो भने जन्मिदा समस्या, अनुवांशिक रोग र कमजोर सन्तान जन्मने सम्भावना बढ्छ भनेरै होला गोत्रको नियमले आफन्त भित्र विवाह रोक्ने भूमिका खेलेको हुन सक्छ। गोत्र परम्परा वा प्रथाले समाजलाई ब्यवस्थित गर्न परिवारको पहिचान Identification सुरक्षित राख्न मद्दत गरेको हुन्छ। जसलेगर्दा विवाह गर्दा समान पितृवंशबाट आएका मानिसहरूबीच सम्बन्ध रोक्ने नियमले परिवारगत पहिचान बलियो बनाउँछ। आजको आधुनिक विज्ञानले पनि हिन्दुहरुको गोत्र नियमलाई समर्थन गर्छ। तसर्थ हिन्दूहरूको गोत्र परम्परा र आधुनिक DNA विज्ञान आंशिक रूपमा मिल्छ। तर यो गोत्र नियम पूर्ण वैज्ञानिक आधारमा बनेको हो भन्ने प्रमाण छैन। हिन्दू धर्ममा कौडिन्य गोत्र वैदिक ऋषि कौडिन्यको नामबाट उत्पन्न भएको मानिन्छ। यो गोत्र विशेष गरी ब्राह्मण समुदायमा पाइन्छ। तर क्षेत्रीय र अन्य समुदायहरूमा पनि यो गोत्र लेखिएको देखिन्छ। ऋषि कौडिन्य एक प्रसिद्ध वैदिक ऋषि थिए। जसको नाम धेरै वैदिक ग्रन्थहरू, उपनिषद्हरू र पुराणहरूमा उल्लेख गरिएको छ। उनी विशेष गरी कौडिन्य धर्मसूत्रका रचनाकार मानिन्छन्। उनले विवाह, सामाजिक नियम र नैतिक आचार संहिता सम्बन्धी शास्त्रीय व्यवस्थाहरू प्रतिपादन गरेका थिए भनिन्छ। हिन्दू गोत्रहरु भित्र पनि अनेक प्रवरहरु पनि हुन्छन्। प्रवर भनेको कुनै गोत्रका प्रमुख ऋषिहरू (ऋषिप्रम्परा) हुन्, जसबाट त्यो गोत्र उत्पन्न भएको मानिन्छ। गोत्र भनेको परिवारको पितृ वंशीय पहिचान हो। जुन मूलतः प्राचीन ऋषिहरूदेखि आएको हुन्छ। तर एउटा गोत्र एक मात्र ऋषि बाट बनेको हुँदैन,त्यस गोत्रमा अन्य ऋषिहरूको पनि संलग्नता हुने भएकाले ती प्रमुख ऋषिहरू लाई प्रवर ऋषि भनिन्छ। सामान्य रूपमा एउटा गोत्रमा तीनवटा प्रवर ऋषिहरू हुन्छन्। जसलाई त्रि-प्रवर (त्रय प्रवर) भनिन्छ। तर केही गोत्रहरूमा चारवटा प्रवर हुन्छन् (चतु:प्रवर)। केहीमा दुईवटा प्रवर पनि पाइन्छ (द्वि-प्रवर) । तर अधिकांश हिन्दू परम्परामा त्रिप्रवर प्रणाली नै प्रचलित छ। प्रवरको प्रयोग मुख्य रूपमा वैवाहिक नियम र धार्मिक अनुष्ठानहरूमा गरिएको देखिन्छ। कौडिन्य गोत्रको प्रवरहरू ( ऋषिहरू) निम्न छन्: १) कौडिन्य २) वसिष्ठ ३ भारद्वाज त्यसैले कौडिन्य गोत्रमा भएका व्यक्तिहरू लाई "कौडिन्यगोत्रीय वसिष्ठ-भारद्वाज-कौडिन्य त्रिप्रवरान्वितः" भनेर चिनिन्छ। ** धन्यवाद !

Comments