किन नेपाली समाजमा ६० वर्षीय पुरुषले पुनः विवाह गर्न सक्छन्, तर जेन–जेड महिलाहरुलाई अनुमति छैन ?
फाल्गुन २०, २०८१, मङ्गलबार | विहान १०:५६ बजे | 145
रोजी वस्नेत
कयौँ सम्बन्धको मिश्रणपछि समाज बन्छ, जसले मानिसबीच सकारात्मक भावना उत्पन्न गराउँछ । त्यस सम्बन्ध बन्नको लागि पहिला वैवाहिक सम्बन्ध बन्न जरूरी हुन्छ । दुई व्यक्तिबीचको प्रेम जब विवाहमा परिणत हुन्छ त्यसपश्चात् त्यस्तै सम्बन्धको मिश्रणबाट समाजको सिर्जना हुन्छ । तर त्यही समाजले वैवाहिक जीवनमा बाँधिएको व्यक्तिमध्ये पुरुषको निधन भएपछि उसकी जीवनसाथीलाई एक प्रकारको मानसिक जेलमा हत्कडी लगाएर राख्छ भने महिलाको मृत्यु हुँदा श्रीमानलाई दोस्रो विवाह गर्ने साँचो दिने गर्छ । “श्रीमतीको निधनपछि बुढेसकालको साहराको रूपया श्रीमानले दोस्रो विवाह गर्न मिल्ने तर श्रीमतीलाई चाहिँ बुढेसकालको साहरा नचाहिने ने हो र?” भन्ने प्रश्न आजकालको जेन–जेड युवाहरूको मनमा एउटा प्रश्न बनेको छ । साँच्चै नै हो भने समाजले विधवा महिलालाई एक प्रकारको बन्धक नै बनाएर राख्ने पाइन्छ ।
नेपाली समाजमा अहिले पनि श्रीमतीको मृत्यु भएपश्चात् पुनःविवाह गर्ने साँचो पाउँछन् तर विवाहित महिला विधवा हुँदा मात्र अपशब्द र वचन मात्र पाउने गर्छिन् । यही प्रक्रिया यदि विदेशी संस्कृतिअनुसार हेर्ने हो भने धेरै फरक देखिन्छ । त्यहाँ स्वतन्त्रता हुन्छ जसको कारणले कोही व्यक्ति कसैसँग डराउने, झुक्ने वातावरण हुदैँन । हुन त हेर्ने हो भने नेपालमै पनि धनी मानिसहरूर यो प्रक्रियाअनुसार चलेको देखिन्छ । तर गाउँठाउँमा भने लाञ्छनाको जालो वा घेराभित्र अझ पनि विधवा महिलालाई राखेको हामी नयाँ पुस्ताले सजिलै देख्न सक्छौ । अझ भन्ने हो भने त पुनः विवाह ती महिलाले गरे भने ती महिलाले समाजमा मुख देखाएर हिड्न पनि डराउनु पर्ने हुन्छ । के नेपाली विधवा महिलाले स्वतन्त्र भई बाँच्न नमिल्ने हो र ? के सँधै रंगहीन कपडामै रंगहीन जीवन उसले जीउनै पर्ने हो र ? धेरै दशकअघि सतीप्रथा नामको प्रथाले समाजमा विकृति छाएको थियो जसमा श्रीमानको मृत्यु हुँदा श्रीमती पनि जल्नुपर्ने अवस्था थियो । भन्छन्, सती प्रथाको अन्त्य भयो तर पनि श्रीमानको मृत्युपछि पनि श्रीमतीको रहर, इच्छा ऊ जलेकै सरह खरानी हुन्छन्, उनको स्वतन्त्रता खोसिन्छ । समाजको धारणामा यो घटना सबै विधवा महिलाले भोग्नुपर्छ, चाहे ती पैसा कमाउने होस् वा नकमाउने, चाहे ऊ तीस वर्ष माथिको होस् वा त्योभन्दा पनि कमकी विधवा । यस्तो असमान व्यवहार जेन–जेड पुस्ताले अब स्वीकार गर्न सक्दैन ।
पुरुषलाई समाजको त्यस अङ्गको रूपमा हेरिन्छ कि जब ऊ विधुर हुन्छ, समाजले उसलाई पुनःविवाह गर्न प्रेरित गर्छ । उसको परिवार, छरछिमेक आफन्तहरूले नै उनलाई विवाह गर्न सल्लाह दिन्छन्, ताकि उनी जिन्दगीभर एक्लो, साहराहीन हुन नपरोस् । तर एउटी युवती विधवा ? उसलाई धेरै कुरामा वञ्चित गरिन्छ । जस्तै रंगीचंगी लुगा लगाउन, श्रृंगार गर्न, सामाजिक जमघटमा सामेल हुन, आदि । उनलाई “पतिपारायण” भएर बाँच्न बाध्य बनाइन्छ । यदि उसले पुनःविवाह गर्ने कुरा सोचे पनि समाजले त्यो कुरालाई स्वीकार गर्दैन, अझ उसको चरित्रमाधि नै प्रश्न उठाउँछ । आखिर, एक युवतीलाई आफ्नो खुशी खोज्ने अधिकार किन छैन ?
सरिता परियार, हेटौंडाकी २४ वर्षीय श्रीमान् गुमाएकी युवती हुन्, जसले एक दुर्घटनामा आफ्ना श्रीमान् र तीन महिनाकी छोरी गुमाइन् । भर्खरै आमा बनेर खुसी भएकी उनी सुत्केरी फर्काउने क्रममा आफ्नो खुसी पनि फर्काउन पुग्छिन् । सँगै गाडीमा यात्रा गरिरहेको आफ्नो परिवार त्याग्न पुग्छिन् । त्यस्पश्चात् उनको जीवनले पुनः नयाँ मोड़ लियो, तर त्यो स्वतन्त्रताको होइन, बरु समाजको कठोर नियमको भारी बोकने यात्रा थियो। उनी त्यस घटनाबाट बचिन् तर छरछिमेक, परिवारको नराम्रो वचनबाट बच्न सकिनन् । “मैले मेरा प्रियजनहरु मात्र होइन, मेरो पहिचान पनि गुमाएँ,” उनी भन्छिन् ।
सरिताको माइती भक्तपुरको चाँगुनारायणमा छ, जहाँ उनको परिवारले उनलाई हौसला दिएर सम्हाल्न तत्पर रहेका छन्। तर समाजको दृष्टि उनीमाथि नराम्रो रुपमा टाँसिएको छ। उनी खाटमा पल्टिरहँदा त छरछिमेक सहानुभूति देखाउनको लागि पनि उनलाई भेट्न आउने गर्थे तर जब उनी अलि राम्रो हुन थालिन्, उनीमाथि सोही व्यक्तिहरुको नराम्रो नजर लाग्न थाल्यो। कर्मघरबाट पनि उनलाई पहिलाको जहरी स्वीकार गरिएन, र माइतीघरमा पनि उनी विवाह बन्धनमा बाँधिनु अघिको जसरी स्वतन्त्र जीवन जिउन सक्दिनन्। “मैले दोस्रो विवाह गर्ने कुरा उठाउन पनि सक्दिन, किनभने समाजलाई लाग्छ, महिलाको जीवन श्रीमानको मृत्युसँगै अन्त्य हुन्छ,” उनी भन्छिन्।
सरिता मात्र होइन, नेपालमा हजारौ विधवा महिलाहरु यस्तै यातना सहिरहेका छन्। कतिपयलाई कर्मघरबाट निकालिन्छ, कतिपयलाई माइतीको सहारामा बाँच्न बाध्य बनाइन्छ। युवावस्थामै एक्लोपन सहनुपर्ने बाध्यता, दोस्रो विवाह गर्ने सोच राख्दा नै लाञ्छना सहनुपर्ने अवस्था आज पनि समाजमा कायम छ। धार्मिक, सांस्कृतिक र पारिवारिक परम्पराले विधवा महिलालाई पवित्रताको नाममा सामाजिक जमघटबाट अलग्याउँछ।
जेन–जेडको दृष्टिकोण ः परिवर्तनको माग
हामी जेन–जेड पुस्ता स्वतन्त्रताको पक्षमा उभिन्छौँ। हामी विवाहलाई व्यक्तिगत निर्णय मान्छौँ, जबर्जस्ती होइन। यदि पुहोइहरुलाई पुनःविवाहको अधिकार छ भने, महिलाहरुलाई पनि हुनुपर्छ। समाजले महिलालाई अझै ‘त्यागको प्रतिक’ बनाएर राख्न खोज्छ, तर हाम्रो पुस्ताले अब यसलाई स्वीकार गर्नु हुँदैन।
सरिता भन्छिन्, “मेरो जीवन मेरो हो, म विधवा भएकी छु भनेर मेरा सबै सपनाहरू मर्नुपर्छ भन्ने छैन।”
समाजले परिवर्तन गर्नुपर्छ। विधवाहरुको जीवनलाई ‘शोकको कथा’ मात्र होइन, नयाँ सुरुवातको कथा बनाउनुपर्छ । परिवर्तनको समय अब आएको छ, जेन–जेड पुस्ता यो लडाइँ सहन तयार छ।
(लेखिका वस्नेत ख्वप कलेज भक्तपुरमा पत्रकारिता चौथौ वर्ष अध्ययनरत छिन् ।)