सन्दर्भ : मिरा र राधा


फाल्गुन १८, २०८१, आइतबार | दिउँसो ०१:५५ बजे | 310


सन्दर्भ : मिरा र राधा

सुनील सापकोटा

भक्तपुर हिन्दु धर्मावलम्बीहरुमा राधा र मिरा दुबै भगवान् श्रीकृष्णको प्रेमिका हुन् भन्ने धार्मिक मान्यता रहेको पाइन्छ।राधा श्रीकृष्णको समकालीन प्रेमिका हुन् भने श्रीकृष्णको देहावसान भएको ६५०० बर्ष पछी मिराको श्री कृष्ण प्रति एकतर्फी प्रेम भएको कथाहरु पाइन्छ । राधा श्रीकृष्णको अत्यन्तै प्रिय प्रेमिका मानिन्छिन्।तर उनीहरूको सम्बन्धको स्वभाव धार्मिक ग्रन्थहरूमा स्पष्ट रूपमा परिभाषित छैन। महाभारत जस्तो प्राचीन ग्रन्थ, विष्णु पुराण जस्ता मूल ग्रन्थहरूमा राधाको उल्लेख पाइँदैन। उनीबारेको चर्चा प्रायः पछि लिखित ग्रन्थहरू विशेषगरी ब्रह्मवैवर्त पुराण, गीतगोविन्द र भक्ति मार्गका अन्य ग्रन्थहरूमा मात्र पाइन्छ। केही पुराण र जनश्रुति अनुसार राधा वृषभानु नामक गोपकी छोरी थिइन् र विवाह पश्चात अयन घोष (अयनगोप) की पत्नी भइन। उमेरमा राधा श्रीकृष्ण भन्दा १६ बर्ष उमेरले जेठि थिइन् र टाढाको नातामा राधा श्रीकृष्णको माइजु पनि पर्थिन भन्ने कुरा मैले कुनै लेखकको लेखमा पढेको थिए। तर धार्मिक साहित्य अनुसार राधा कृष्णको सर्वोच्च भक्ति र प्रेमको प्रतीक हुन्। भक्तिमार्गी परम्परामा कृष्णलाई परमात्मा र राधालाई भक्तिका रूपमा लिने गरिन्छ। केही परम्परामा राधा-कृष्णलाई युगल जोडी भनेर पनि मानेको देखिन्छ। जसको विवाह सांसारिक अर्थमा नभई आध्यात्मिक रूपमा भएको मानिन्छ। साहित्यमा पछी भक्ति आन्दोलनको प्रभावको उत्कर्ष १६ औं शताब्दीमा भएपछि मात्र राधाकृष्ण सम्बन्धलाई भक्ति भावना सँग जोडेर बढी महत्त्व दिइएको पाइन्छ। राधा सम्भवतः लोककथाबाट विकसित पात्र हुन् ।प्रारम्भिक वैष्णव परम्परामा राधाको चर्चा नभए पनि पछीका ग्रन्थहरूमा (जस्तै ब्रह्मवैवर्त पुराण, गीतगोविन्द) उनी प्रमुख पात्रको रूपमा प्रस्तुत गरिइन्। संक्षेपमा राधा-कृष्ण सम्बन्ध धार्मिक, दार्शनिक र लोक परम्पराको मिश्रण हो र जसलाई भक्ति आन्दोलनले विशेष रूपमा लोकप्रिय बनायो। मलाई ब्यक्तिगत रुपमा सोध्नु हुन्छ भने मेरो बिचारमा श्रीकृष्ण र राधा समेत मिथक हुन्। प्राचीन कथाहरुको पात्रहरु मात्र हुन जस्तो लाग्छ। तर मिरा इतिहासको पात्र हुन् । मीरा इतिहासको सन् १५०३ – १५६० सम्मको राजस्थानको मेवाड़ राज्य हालको कुंभलगढ़/चित्तौड़ मा जन्मेकी एक राज कुमारी थिइन् भन्ने छ । उनी भक्तिकालकी प्रमुख सन्त र कृष्णभक्त कवयत्री हुन्। भनिन्छ कि बाल्यकालदेखि नै उनी श्रीकृष्णलाई आफ्नो पति वा प्रियतम का रूपमा मान्थिन्। उनको मेवाड़का भोजराज (चित्तौड़गढका राजा राणा साँगाका छोरा) सँग विवाह भएपनि पतिको मृत्युपछि उनले दरबारको राजनीति अस्वीकार गर्दै श्रीकृष्णप्रेममा पूर्ण रूपमा समर्पित भइन् भन्ने छ । मिरा पूरा नाम मीराबाई ऐतिहासिक व्यक्ति हुन्। मिथक होइनन् । तर उनका जीवनसँग जोडिएका धेरै घटनाहरू भक्ति कथाहरूमा अलौकिक रूपमा चित्रण गरिएका छन्। मीराबाईले रचेका कृति ,भजनहरु धेरै छन । भारतको राजस्थान, गुजरात, ब्रज, द्वारका आदिमा उनको जीवन सँग जोडिएको सम्बन्धित ठाउँहरू हुन् । केही मेवाड़का इतिहासमा पनि उनको नाम उल्लेख गरिएको छ। मिराको मिथक पक्षहरु चाहिँ के हो भने जनश्रुति अनुसार उनलाई विष दिन खोजिएको थियो अरे। तर उनले विष पिउँदा अमृतमा बदलियो अरे। त्यस्तै केही कथाहरू अनुसार उनी आफ्नो अन्तिम समयमा कृष्णको मूर्ति सँग विलीन भइन् अरे। भक्तिकालीन साहित्यमा उनलाई "कृष्णकी प्रेमदासी" को रूपमा चित्रण गरिएको छ। मीराबाई ऐतिहासिक पात्र भएपनी भक्तिभाव र लोककथाले उनलाई अलौकिक रूपमा चित्रण गरेका छन्। उनी भक्तिकालकी सबैभन्दा प्रसिद्ध कृष्ण भक्त सन्तहरू मध्ये एक हुन्। इति **

Comments

ताजा खबर