सन्दर्भ : शिवरात्री बारे !


फाल्गुन १४, २०८१, बुधबार | विहान ०६:३२ बजे | 130


सन्दर्भ : शिवरात्री बारे !

सुनील सापकोटा

आज शिवरात्री पर्व । हिन्दू धर्ममा भगवान शिवलाई समर्पित एक प्रमुख पर्व हो। प्रत्येक वर्ष फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा मनाइने यो पर्व सबैभन्दा महत्वपूर्ण हो।यस दिन भगवान शिव र देवी पार्वतीको विवाह भएको विश्वास गरिन्छ। अर्थात् शिव र पार्वतीको हनिमुनको रात हो यो। आत्मा टुक्रिएको अंशहरू हुन् र तिनीहरूबीचको आकर्षण, प्रेम र दाम्पत्य फेरि एकरूप हुन खोज्ने अनन्त तडप हो। सृष्टिको यो आदिम उत्सव केवल धार्मिक आख्यान मात्र नभई प्रतीकहरूमा सिर्जनाको अद्भुत, अलौकिक, ब्रह्माण्डीय घटनाको स्मृति पनि हो! हाम्रा पौराणिक देवताहरूमा सबैभन्दा सफल दाम्पत्य भगवान शिव र देवी पार्वतीको मानिन्छ। उनीहरूको जोडीलाई हाम्रो संस्कृतिको पहिलो 'भ्यालेन्टाइन जोडी' र उनीहरूको विवाहलाई पहिलो प्रेम विवाह पनि भन्न सकिन्छ। यो रात शिव तत्व (शक्ति र चेतना) को जागरणको रात हो,जसमा भक्तजनहरू उपवास बस्ने रात्रिभर जागरण गर्ने र भगवान शिवको पूजा-अर्चना गर्ने परम्परा छ। हिन्दु धर्ममा भगवान शिवलाई आदि पुरुष ( चेतना) र पार्वती लाई आदि प्रकृति (शक्ति) मानिन्छ। शिवरात्री शक्ति (ऊर्जा) र शिव (चेतना) को मिलनको प्रतीक हो। आजको रात अन्धकारबाट प्रकाशतर्फ यात्रा हो। शिवरात्री आत्म शुद्धि, अज्ञानबाट ज्ञानतर्फ जाने मार्ग र आन्तरिक शान्तिको खोजको संकेत हो। शिवरात्रीमा विशेषगरी ध्यान, जप, र साधना गर्नाले मानसिक शान्ति प्राप्त हुने विश्वास गरिन्छ। यो समय ऋतु परिवर्तनको चरण पनि हो।जसले शरीर र मस्तिष्क मा विशेष प्रभाव पार्छ। यो बेला ध्यान र योग गर्नका लागि उत्तम समय मानिन्छ। किनभने पृथ्वीको चुम्बकीय ऊर्जा मानिसको मेरुदण्डमा सकारात्मक प्रभाव पार्छ भन्ने आस्था छ। धेरै के लेखुँ । शिवरात्रीको सबैमा शुभकामना !

Comments