लुकेको भक्तपुर ः कहिले हेर्न आउने ?
माघ २६, २०८१, शनिबार | विहान ११:१८ बजे | 105
रेणु त्वानाबासु
भक्तपुरको नाम लिनासाथ धेरैले नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल (पाँंचतल्ले ) मन्दिर, पच्पन्न झ्याले दरबारको सहरकारूपमा मात्र सम्झन्छन् । दरवार क्षेत्र अथवा त्यो भन्दा वढी हेरे, सुनेको भए– दतात्रय क्षेत्र । तर यतिमा मात्रै सीमित छैन भक्तपुर । ऐतिहासिक सहर त हुँदै हो भक्तपुर । यसबाहेक यहाँको संस्कृति, परम्परा, मठमन्दिर, पाटीपौवा, जात्रापर्व, चालचलन र जीवनशैलीको विविधताले गाउँ र सहरको मौलिकपन एकै ठाउँमा भेटिन्छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनकै शब्द सापटी लिने हो भने भक्तपुर एउटा खुल्ला संग्राहलय हो । यो एउटा खुल्ला विश्वविद्यालय पनि हो, जहाँंबाट धेरै कुरा सिक्न सकिन्छ ।
भक्तपुर मूर्त र अमूर्त सम्पदाहरुको संगमस्थल हो । यहाँं विश्वसम्पदामा सूचीकृत पाँचतल्ले मन्दिर, सुनको ढोका तथा यहाँका कलासस्कृति मात्रै होइन, यो ठाउँं जीवन सिक्ने थलो पनि हो ।
विदेशी व्यक्तित्व अलेक्जेण्डर पावेलले आफनो पुस्तकमा लेखे जस्तै भक्तपुर नघुम्नु भनेको आधा संसार नघुम्नु जस्तो हो ।
घर
छिमेकी पुरानो नगर मध्यपुर थिमि नगरपालिका क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकहरुसँंग शुल्क उठाइँंदैन अर्थात् निःशुल्क प्रवेशको व्यवस्था छ । तर पनि त्यहाँं घुम्न आउने पर्यटकहरुको संख्या शुन्यप्रायः छ । तर भक्तपुर नगरपालिका क्षेत्रमा भने प्रति पर्यटक १५ अमेरिकी डलर प्रवेश शुल्क लाग्छ । तर पनि यहाँं नगरपालिकाकै तथ्यांक अनुसार दैनिक सालाखाला एक हजार विदेशी पर्यटक घुम्न आउँंछन् ।
भक्तपुरमा पर्यटकलाई आकर्षित गर्ने पक्षमध्येका एक हो, यहाँका घरका बनावट । भक्तपुर नगरपालिका वडा नं ५ (साविक वडा नं ८) चासुखेलका महेश ताम्राकारको घर एउटा यस्तै नमूना घर हो । भक्तपुर घुम्न आउने धेरै पर्यटक आफ्नो घर देखेर लोभिइएको बताउँछन् घरधनी । ‘हाम्रो घर देख्यो कि पर्यटकहरु आहा भन्दै लोभिहाल्छन् र फोटो खिच्न हतारिन्छन्, ताम्राकार गर्वकासाथ सुनाउँछन्।
हुन पनि उनको घर हेर्दै लोभलाग्दो छ । भक्तपुरको मौलिक परम्परागत घर जस्तो छ । सबैतिर आकर्षक काठका बुटे झ्यालहरुले सजिएका छन् । भित्र पनि उतिकै परम्परागत देखिन्छन् ।
उनीहरुको यो घर भक्तपुरको प्रसिद्ध चासुखेल मन्दिरको मुनि रहेको छ । घर पाँंचतल्ले छ । घरको सबै मोहडा पूरै परम्परागत शैलीको छ । घर हेर्दै लोभलाग्दो देखिएकाले विदेशी मात्रै होइन, स्वदेशी पर्यटकहरु तथा स्थानीयसमेत यो घरलाई वाह कस्तो राम्रो भनेर हिड्ने गरेको बताउँंछन् ।
भक्तपुरमा परम्परागत शैलीका घर धेरै देखिन्छन् तर यस्तो विधि झ्यालहरुले भरिएको परम्परागत घर विरलै भेटिन्छन् । यहाँं धेरैले व्यवसायिक प्रायोजनका लागि यस्ता परम्परागत शैलीको देखिने घर बनाएका छन् । होटल, रेष्टुरेन्ट सञ्चालन गरी पर्यटक तान्नका लागि यस्ता घर बनाएको धेरै देखिन्छन् । तर चासुखेलको जस्तो परम्परागत देखिने घर भने सायदै देखिन्छन् ।
पुरानो सहरको जीवन्तताका लागि भक्तपुर नगरभित्र आधुनिक घर बनाउन नपाइने भक्तपुर नगरपालिकाको नियम छ । मोहडामा ढलान देखाउने नपाइने, माथिल्लो तल्लामा स्ल्याब नदेखिने गरी छाना राख्नुपर्नेलगायतका नियम नगरपालिकाको छ । यसका लागि अगाडिको मोहडामा लाग्ने खर्चमा कुल खर्चमा ३५ प्रतिशत खर्च सहयोगस्वरुप नगरपालिकालें उपलब्ध गराउँछ ।
टेराकोटा
भक्तपुरको सुकुलढोकाबाट ५ मिनेटको दुरीमा टेराकोटा भवनको अवलोकन गर्न सकिन्छ । यो भवन पुरै ईंटैईंटाले बनेको छ । माटोबाट बनेको आकृतिलाई पोलिसकेपछि निस्कने रुपलाई टेरोकोटा भनेर बुझिन्छ । यस भवन नै नेपालको पहिलो टेराकोटा भवन हो । अरु घर, मन्दिर, भवनहरूमा झ्याल, टोरण, टुँडालहरु काठको हुन्छ भने यो भवनमा रहेको झ्याल, टोरण, टुडाल, आँखीझ्याल सबै ईटाको छ । यो शैलीको भवनलाई टेराकोटा भवन भनिन्छ ।
नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लको शासनकालमा हालको भक्तपुर नगरपालिकाको वडा नं ६ तुछिमला टोलमा यसको निर्माण भएको थियो । न्यातापोल मन्दिर निर्माणपश्चात् बाँकी रहेको सरसामानको प्रयोग गरी यो भवन बनाएको हो भनिएको छ । यस भवनमा गणेशको मूर्तिका साथै आकाश भैरव र अवाल परिवारहरुको आँगन देवता समेत रहेको छ । अवाल परिवारका सदस्यहरुले यहाँ रहेका आगन देवता पुजा नगरेसम्म आफ्नो घरमा पुजा गर्नु हुदैन भन्ने मान्यता रहेको छ ।
त्यस्तै घरहरुको लाममा तौलाछें टोलमा अवस्थित तलातुन्छी गणेश द्यःछें हो । जुन घरमा विश्वकर्मा खलःको अखछेंको रूपमा प्रयोग गर्दै आएको छ । यसमा विश्वकर्मा भैल प्याख खलः विश्वकर्मा धिमे खलः, विश्वकर्मा धा बाजा खलः, डाफा भजन, बासुरी बाजा, लाखे प्याख खलः समावेस छन् । यो घर एक टेराकोटाको एक अलौकिक नमुना हो, जसमा झ्याल, ढोका, आँखीझ्याल, टुडाल, टोरण, सिंहख्व, पिलर, अष्टमातृका, अष्टमंगल, श्री गणेशको मूर्ति सम्पूर्ण ईटाको बनाएको छ । घरको ढोकामा प्रजापतिहरुको पुर्खौली माटोको भाडा बनाउने कामको कलात्मक कला राखिएको छ भने दैनिक जीवनमा प्रयोग गरिएका पानी थाप्ने, रक्सी पार्ने, चिउरा कुट्ने, बत्ति कात्ने, जातोमा मकै पिन्ने, खर्पन बोकी खेत जाने लगायतका त्यतिबेलाका कामलाई कलात्मक कला टेराकोटामा उत्तारिएको छ । यो घर प्रजापति समुदायले आफ्नै स्रोत साधनमा निर्माण गरेको हो । विभिन्न प्रजापतिहरुका गुठीहरु पहलमा २०७८ सालमा यो भवनको निर्माण गरेका थियो ।
टाइचिन चिउरा
भक्तपुरको अर्को पहिचान हो, टाइचिन चिउरा । नेवारी समुदायका हरेक भोजमा टाइचिन चिउरा नभै हुँदैन । त्यसकारण भक्तपुर हेर्न मात्रै होइन, खानका हिसावले पनि उतिकै विशेष छ । यहाँंको चाइचिन चिउरा विशेष मिठासको हुन्छ । ताजा तातातो टाइचिन चिउराले त खानाका पारखीहरुलाई लोभ्याउँछ । यो चिउरा खानलाई अरु तरकारी साथी नै चाहिंदैन ।
पहिलो भए टोलटोलमा टाइचिन चिउराको मिल देख्न सकिन्थ्यो । तर आजभोलि टाइचिन चिउरा कसरी बन्छ तथा उपभोग गर्नको लागि नागपोखरीस्थित बीरेन्द्र जतिले संचालन गर्दै आएको मिलमा जान सकिन्छ । उनले करिब ५० वर्षदेखि निरन्तर टाइचिन चिउरा उत्पादन गर्दै आएका छन् ।
ताजा ताइचिन चिउरा बनाएको हेर्न विशेष गरेर भक्तपुर नगरपालिका वडा नं ५ भुलाछें टोलतिर पाइन्छ ।
हाकुपटासी
भक्तपुरको अर्को आर्कषण हो हाकुपटासी (परम्परागत कालो फरिया) अर्थात नेवारी महिलाको परम्परागत पहिरन । यो यहाँको मौलिक पहिरन हो । यसलाई भक्तपुरका ज्यापु समुदायका महिला दिदीबहिनीले आफ्नो लागि चाहिने लुगा आफै बुनेर तयार पार्ने चलन छ । पहिला यसको तान मेसिन हरेक किसानको घरघरमा हुन्थ्यो । हाकुपटासी बनाउनको लागि हाते तान, चर्खा, फेलु (धागो बेर्ने), तुकी आदि प्रयोग गरिन्छ ।
आजभोलि हाकुपटासी वा नेपाली कपडा उत्पादन हेर्नको लागि भक्तपुरको लिवाली, भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्र वा आदर्श खोरेमा गएर अवलोकन गर्न सकिन्छ । यहाँ भक्तपुरका महिलाहरुले परम्परागत रुपमा नै हाकुपटासी बुन्ने गरिन्छ ।
हाकुपटासी वा नेवारी महिलाका परम्परागत पहिरन पनि धेरै किसिमका हुन्छन्, सिपु दगु गा (खास्तो) हाकुपटासी (कालो फरिया), कालो पटासी, चार खनागु जनी अर्थात् पटुका, सिपु दगु जनी, बेल विवाह सारी, मलेगचा काप, हलेग काप, श्रीपछेलु काप, चारखना काप आदि चल्तीमा छन् अझै । यी सबै हातले बुन्ने गरिन्छ । हिजोआज विद्युतीय मेसिनले पनि बुन्ने गरिएको छ ।
बाजागाजा धिमे, धाँ, बासुरी, ...
भक्तपुर अर्को पहिचान हो, बाजगाजा । जात्रापर्व लगायतका विशेष पूजाआजामा वर्षभर बाजा बजाएको सुन्न पाइन्छ यहाँं । टोलटोलमा बाजागाजा प्रशिक्षण लिनेको भीड लाग्छ । चार्डपर्वमा भक्तपुरभरि सार्वजनिक रुपमा नै बाजागाजाको गुञ्जमान हुन्छ । यसले पनि भक्तपुरलाई छुट्टै तरिकाले प्रस्तुत गर्छ । त्यस्तै बाजागाजा बाह्य पर्यटकले पनि सिक्ने गरेको पाइन्छ ।
काष्ठकला
काष्ठकलाले भक्तपुरको अर्को पहिचान झल्काउछ । यहाँका मयुर झ्याल तथा अन्य मठमन्दिरमा प्रयोग हुने काठको बुट्टाले पनि भक्तपुरको पहिचानलाई उजागर गरेको छ । मठमन्दिरमा फरकफरक बुट्टा कोरिएका काठको प्रयोग गरिएको पाइन्छ । यो भक्तपुरस्थित इनाचो, ताथली, बराही, च्याम्हसिँह, भक्तपुर औद्योगिक क्षेत्रभित्र प्रत्यक्ष हेर्न सकिन्छ । भक्तपुरको हरेका घरको झ्याल, मूल ढोका तथा मठमन्दिरमा प्रयोग गरिने तोरनले पर्यटकलाई आर्कषक बनाएको पाइन्छ । प्रायजसो आन्तरिक वा बाह््य पर्यटकलाई मायाको चिनो काठको बनेको मयुरको झ्याल वा अन्य परम्परागत बुट्टेदार झ्याल दिने चलन छ ।
मूर्तिकला
भुलाछेँमा ढुंगाको मूर्ति बनाउन कालीगढ तल्लीन देखिन्छन् । भक्तपुरको प्राय मन्दिरहरुमा ढुंगाबाट बनाइएको सिँह, बो सिँह अर्थात् उड्ने सिँह, विभिन्न देवीदेवताको मूर्तिहरु ढुंगाबाट बनाइन्छ । यसले पुरानो भक्तपुुरलाई जिवन्त राख्ने काम गरेको छ । साथै भक्तपुरको कतिपय मन्दिरहरु त ढुंगाले मात्र पनि बनेका छन् । जस्तै भक्तपुरको दरवारस्क्वारमा रहेको सिद्धिलक्ष्मी मन्दिर, नृत्य बात्सला मन्दिर जसलाई ल्होँ देग पनि भनिन्छ ।
सुकुल भोज
नेवार समुदायले खानाको परिकार र भोज गर्ने तरिका पनि अन्य समुदायको तुलनामा भिन्न छ । तीे भोजमध्ये सुकुल भोजको भिन्नै विशेषता छ । सुकु भ्वय अर्थात सुकुलमा लहरै बसेर खाने भोजको अवलोकन र खानेकुराको स्वाद लिन नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण गुठीको भोजमा लिन सकिन्छ । केही समय अगाडि लोप हुन लागेको यो भोज पुन जीवन्त हुन थालेको छ ।
झ्व भ्वये अर्थात् सुकुल भोजमा चिउरा, लप्ते, अचार, हरियो लसुन, द्याकागु ला (झोल भएको राँगाको मासु), गेडागुडीका परिकार (केराउ, चना, सिमी, सिम्पु) काउली, आलु, छ्याला (तामाको झोल भएको तरकारी) तकोला (ठूलाठूला टुक्रा गरिएको राँगाको मासु), हरियो साग अमिलो, भुटन र दही समावेश गरिन्छ । भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाँजर र फलफूलको केही टुक्रा सलादको रुपमा राखिन्छ ।
सम्येबजी
चार्डपर्व, भोजमा सम्यबजी छुट्दैन । सरल भाषामा भन्ने हो सम्यबजी नेवार समुदायको ब्रेकफास्ट हो । सुकुल भोज भनेको डिनर हो । साथै सर्वप्रिय नेवारी परिकार हो, सम्यबजी । यो नेपाल भाषा अर्थात् नेवारी शब्द हो । जहाँ बजीको अर्थ चिउरा हो । यसलाई सितन वा स्न्याक्स जस्तै पनि मान्ने गरिएको छ, जुन कुनै मुख्य भोजन अगाडि गरिन्छ ।
भक्तपुर आएपछि सम्यबजी नाम नलिने कमै होला । भक्तपुरको सम्यबजीको स्वाद लिन भक्तपुरको लोकल खाजा पसल तथा रेष्टुरेन्टमा सजिलै खान पाइन्छ । यसमा बजी (चिउरा) त्यसमा पनि टाइचिन बजी अर्थात् विशेष स्वादिलो चिउरा, कालो भटमास, अदुवा, लसुन, छुयाला (मासुको परिकार), अण्डा, आलु, बोडी र अचार हुन्छ । यो मौलिक नेवारी सम्यबजीमा हुने परिकारहरु हुन् ।
सम्यबजी सेटमा करिब १० थरी परिकार हुन्छन् । तर आजभोलि अरु थप परिकारहरुमा पनि राखेर सम्यबजी बनाइन्छ । चार्डपर्वमा सम्यबजीलाई प्रसादको रुपमा हातमा राखेर थोरै पनि खाने चलन छ । त्यस्तै अर्को लप्टे (पातको टपरी) मा राखेर खाने गरिन्छ । अहिले भने प्लेटमा राखेर खाने चलन पनि बढ्दैछ ।
भादगाँले कालो टोपी
भादगाउँले कालो टोपी भक्तपुरको मौलिक पहिचान हो र भक्तपुर शहरको पुरानो नाम हो भादगाँउ । शहरको यही पुरानो नामको पहिचान दिने गरी मल्लकालदेखि नै भक्तपुरमा भादगाउँले टोपी उत्पादन हुँदै आएको छ । नेवार समुदायमा पनि यो टोपी प्रसिद्ध छ । यसलाई पत्यक्ष रुपमा हेर्न भक्तपुरको कमलविनायक लाम्गालमा बाहिर बसेर टोपी बनाइराखेको हेर्न सकिन्छ । साथै भक्तपुर नगरका बजारमा पनि ठाउँंठाउँंमा यस्ता टोपी बनाएको हेर्न सकिन्छ ।
यसलाई प्रर्वद्धन गर्न भक्तपुर नगरपालिकाले भक्तपुर भ्रमण आउने स्वदेशी तथा विदेशी पाहुनालाई भाद्गाउँले टोपी लगाएर स्वागत गर्ने गर्दछ । यस टोपीलाई जीवन्त राख्न भादगाँउले कालो टोपी संघ पनि छ । यो टोपी विशिष्ट व्यक्ति र सरकारी कर्मचारीहरुले लगाउने गर्दै आएका छन् ।
परम्परागत नेवारी खेल कसिमला पाँय्
कसिमला पाँय् भक्तपुरको सबभन्दा पुरानो परम्परागत खेलको रुपमा लिइन्छ । केही समय अगाडि यो लोप हुन अवस्थामा थियो । यसलाई बुढापाकाले मात्र खेल्ने गर्दथे । यसलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले यस खेललाई जिवन्त राख्न स्थानीय पाठ्यक्रममा समावेश गरेको छ ।
नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गराएपछि यस खेलले पुनर्जीवन पाएको छ । यसको पर्वद्धनको लागि यही खेलको प्रवद्र्धनको लागि २०७५ सालदेखि भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष गर्ने अन्तरनगर खेलकुद प्रतियोगितामा पनि यो खेललाई समावेश गर्दै आएको छ ।
अहिले यस खेललाई स्थानीय पाठ्यक्रमको कक्षा ६ मा समावेश गरिएको हो । कक्षा ६ अध्ययन गर्ने भक्तपुर नगरभरिका सार्वजनिक र निजी तथा आवासीय सबै स्कुलका विद्यार्थीले यसबारे अनिवार्य रुपमा अध्ययन गर्नुपर्छ । यही कारण अहिले यो खेल बुढापाकाले मात्र नभई स्कुलमा विद्यार्थीहरूले पनि मन लगाएर खेल्ने गरेका हुन् । झगडा हुने बेला कसरी आफू बचेर दुश्मनसँग भिड्ने भन्ने ज्ञान यस खेलबाट मिल्ने मान्यता छ । ‘यस खेलले मनोरञ्जनका साथै बौद्धिक खुराक प्रदान गर्ने गर्छ ।
जुजु धौं
भक्तपुरको अर्काे विशेषता हो जुजु धौ अर्थात् दहीको राजा । यहाँं अन्यत्र नपाइने जुजु धौ अर्थात् दही पाइन्छ । यहाँ जुजु धौ बनाएको प्रत्यक्ष अवलोकन गर्ने मुख्य ठाउँ हो भक्तपुरको जेँला । यहाँ अहिले पनि परम्परागत तरिकाले माटोको भाडामा भुस ओछ्याएर दही तयार गरिन्छ । भक्तपुरको सैँजु थरका समुदायले बनाउने चलन छ यस्ता दही । आजभोलि माटोको मट्का, कला तथा अन्य विभिन्न माटोको भाडामा नै दही बनाउने चलन सुरु भएको दही एसोसिएसन भक्तपुरका अध्यक्ष कृष्णगोपाल सैँजुले बताए ।
जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । जुजु धौ तयार गर्न सबैभन्दा पहिले दही बनाउने स्थानमा आवश्यकताअनुसार भुस बिछ्याइन्छ । डेरीबाट ल्याएको दूधलाई बाक्लो हुने गरी कराहीमा राम्रोसँग चलाउँदै उमाल्नु पर्दछ । दूध उमाल्दा कम्तीमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमालिएको हुन्छ ।
उमाल्न पुगेपछि भूसमाथि माटोको कतरामा लहरै राखिन्छ । कतरामा तीन चरणमा दही राख्ने गरिन्छ । पहिलो चरणमा आधा भाग मात्र दूध राखिन्छ । त्यसपछि उक्त दूध सेलाए पछि फेरि माथिबाट कतरामा दूध राख्ने गरिन्छ । त्यसपछि अन्तिममा पूरा भर्ने गरी दूध राखिन्छ । उक्त दूध सेलाएपछि दहीलाई अर्को माथिबाट कतराले नै छोप्ने गरिन्छ । त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करिब चार÷पाँच घण्टापछि जुजु धौ तयार हुन्छ ।
नेपाल भाषामा जुजुको अर्थ राजा र धौको अर्थ दही । यस अर्थमा जुजु धौको अर्थ सबैभन्दा उत्कृष्ट दही भन्ने हो । भक्तपुरमा ६५ परिवार दही बनाउने पेशामा आबद्ध रहेको जुजु धौ एशोसिएसनको अनुमान छ । त्यसमध्ये ५० परिवार एशोसिएसनमा आवद्ध छन् ।
बुराँज्या
भक्तपुरको मौलिक परम्परा हो बुराँ्ज्या । बुराँज्या अर्थ केलाउँदा धानको मात्रा बढोस् जति खर्च गर्दा खेतमै नसकियोस् र अन्नदाता करुणामयको करुणा रहिरहोस् भनेर खेतमै जम्मा गरिराखेको कालो धानको थुप्रो घरको मूलीले गरिने पुजाआजालाई बुराँज्या बुझिन्छ । यो धान काटिसकेपछि करिब ९ दिनमा खेतमा परालको सुताभित्र सुरक्षित राखिएको धान निकाल्नेर घर भित्र्याउने सास्कृतिक विधि पनि बुराँज्या हो । सरल भाषामा हाकुवा अर्थात कालो धान बनाउने मौलिक परम्पराको रुपमा लिन सकिन्छ । कालो धान बनिसकेपछिको बुराँज्या कार्यक्रम गरी नातेदार, साथीभाइ, छरछिमेकलाई बोलाएर खेतमै प्रसादको रूपमा सम्येबजी खुवाएको हुन्छ भने कसैकसैले बुराँज्या पूजामा अन्नदाता करुणामयसँग सम्बन्धित हुँदा पूजा गरी खेतमै सम्येबजी खुवाई घरमा भोज खुवाउने चलन छ ।
माटोको भाडा
माटो भाडा बनाइने भएकाले भक्तपुरलाई छुट्टै पहिचान दिएको छ । यसलाई अवलोकन गर्न चाहने बाह्य तथा आन्तरिक पर्यटनले भक्तपुरको पोटरीस्क्वयर जानुपर्ने हुन्छ । प्रजापति (थर) का स्थानीयले विभिन्न प्रकारका माटोका भाडाकुडाहरु बनाएको हेर्न सकिन्छ । यहाँ अहिले पनि परम्परागत प्रविधि अर्थात हात चलाउने चाकाबाट नै माटोका भाडाकुडा, मुर्तिहरु देख्न सकिन्छ । कतिपयले मेसिनबाट चल्ने चाकाले पनि बनाएको पाइन्छ । साथै पर्यटकको आर्कषणको लागि पर्यटकहरुले माटाको भाडा बनाउन दिइन्छ । माटोका खुटुक्के, गार्गी, दियो, मुर्ति, फिल्टर, हिटर, गमला, प्लेट इत्यादि बनाइन्छ । प्रजापति थरका स्थानीयबासीको परम्परागत पेशामा पर्दछ ।
अन्तमा
कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र साँस्कृतिक सम्पदाहरुको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धन गरी भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउने भक्तपुरको प्रयास जारी छ । भक्तपुर नगरपालिकाले “पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति” नारालाई सार्थक पार्दै विगत चार दशकदेखि यहाँका मूर्त र अमूर्त सम्पदाहरु संरक्षण गर्दै यसमा आधारित पर्यटन उद्योगको विकास गरी नगरको आर्थिक विकास गर्न विभिन्न गतिविधिका साथ अगाडि बढिरहेको छ । समाप्त