विनायकमा अक्षरारम्भ तथा सरस्वती पूजा
मध्यपुर ठिमी भक्तपुर शिक्षाबाट सभ्यता, संस्कृति र संस्कार सिकाउन सकिन्छ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै परम्परागत मूल्य मान्यता र संस्कारलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल , मध्यपुर ठिमी भक्तपुरले यही २०८१ माघ २१ गते श्री पञ्चमीको पावन अवसरमा सरस्वती पूजा तथा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अक्षरारम्भ कार्यक्रमको आयोजना गर्यो ।विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विधिवत रूपमा पूजाआजा गरी सुरु गर्नुभएको उक्त कार्यक्रम विद्यालयको मुख्य ब्लक ( secondary block) तथा पार्टीबिहार स्थित पूर्व प्राथमिक तहमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले श्रीपञ्चमीको महत्व दर्शाउँदै सरस्वती संकल्प पत्र वाचन गराउनुभएको थियो भने कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सरस्वती सम्बन्धी कविता र मन्तव्य समेत राखेका थिए। साथै सो अवसर पारेर विद्यालयको पार्टी बिहारमा अवस्थित पूर्व प्रावी तहको ब्लकमा नव आगन्तुक विद्यार्थीहरूका लागि अक्षरारम्भ कार्यक्रमको समेत आयोजना गरिएको थियो। सो कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि युगको चाहना अनुसारको वैज्ञानिक, गुणस्तरीय एवं सभ्यता संस्कृति र संस्कार निर्माण गर्ने व्यावहारिक र जीवनोपयोगी शिक्षा विद्यालयले प्रदान गरिरहेको बताउँदै सरस्वती पूजाको सबैलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।