बुबा, हजुरको जस्तो क्यान्सरको रोकथामको लागि खोप उपलब्ध छैन, तर पाठेघरको मुखको क्यान्सर रोग रोकथाम गर्न एचपीभी खोप लगाउन पर्ने रहेछ.....


2025-02-04 04:55:56

News Image

रुपा प्याथ
विश्वमा हरेक वर्ष फेब्रुअरी ४ को दिन विश्व क्यान्सर दिवसको रुपमा मनाइन्छ।यस दिन क्यान्सर  सम्बन्धि जनचेतना अभिवृद्धि गर्न मनाइँदै आएको हो। क्यान्सर जनस्वास्थ्यमा  एउटा प्रमुख समस्या तथा चुनौती हो, जसले ठूलो, सानो, धनी, गरीब केही भन्दैन। यो रोग लागेपछि शारीरिक र मानसिक रुपमा धेरै असर गर्दछ। रोग लागिसकेपछि विरामी, परिवार, समुदाय, देश, विश्वलाई नै ठूलो समस्यामा पार्दछ। यसले गर्दा स्वास्थ्य समस्या र आर्थिक भार धेरै नै पर्ने गरेको छ । क्यान्सर मानिसहरुको मृत्युको एउटा मुख्य कारण पनि हो तथापि समयमै रोगको पहिचान गरि उपचार गरेमा सफल उपचारको सम्भावना बढ्न सक्छ र मृत्युलाई पछाडि धकेल्न सकिन्छ ।

जब शरीरमा शरीरको कोष वा कोषिकाहरुको समूहको सामान्य तरिकाबाट हुनु पर्ने विकास र वृद्धि नभइकन अस्वभाविक तरिकाबाट वृद्धि हुन्छ, यसलाई नै क्यान्सर रोग भनिन्छ। यसलाई एक किसिमको गिर्खा वा ट्युमर पनि भनिन्छ। ट्युमर घातक र नम्र प्रवृत्तिका गरी दुई प्रकारका हुन्छन । घातक प्रवृत्तिको ट्युमरको उग्र अस्वभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो। शरीरको कुनै पनि भाग अथवा अङ्गबाट शुरु हुन सक्छ र शरीरको अरु भागसम्म पनि क्यान्सर फैलिन सक्छ जसलाई मेटास्टासिस भनिन्छ। नम्र प्रवृत्तिको ट्युमरले कुनै पनि हानी गर्दैन र शरीरको अन्य भाग सम्म पनि फैलिँदैन।अस्वस्थ आहार, अत्याधिक मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, वंशानुगत कारण, जीवाणुका कारण, वातावरणीय प्रदुषण, हानिकारक विकिरणहरु क्यान्सरका कारणहरु हुन।त्यसैले यसको रोकथामको लागि सन्तुलित र स्वस्थ आहारको सेवन गर्ने, महिलाहरुले आफ्नो स्तन तथा पाठेघरको मुखको नियमित परीक्षण गराउने, नियमित शारीरिक व्यायाम गर्ने, धुम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थको सेवन नगर्ने र हरेक वर्ष आफ्नो स्वास्थ्यको नियमित परीक्षण गराउने गर्नु पर्छ।
क्यान्सर रोगको बारेमा अलि धेरै पढ्न, बुझ्न, र नजिकबाट नियाल्न पाएको भनेको म वि। एस्सी नर्सिङ दोस्रो वर्षमा अध्ययन गर्दा गर्दै हो। जब प्रयोगात्मक शिक्षाको लागि क्यान्सर अस्पताल गयौँ, त्यहाँ विभिन्न किसिमका क्यान्सर र क्यान्सरको विभिन्न चरणका आधारमा विभिन्न किसिमका उपचार पद्धतिहरुको बारेमा बुझ्न र देख्न पाइयो । विरामीहरुको उपचारको क्रममा स्वास्थ्य अवस्थामा सुधार आएमा औधी खुसी लाग्थ्यो। तर जब लामो समयसम्म विरामीको अवस्था झन झन गम्भीर सुधार नआएमा मन दुस्खी हुन्थ्यो । उपचारको क्रममा विरामी छटपटाएको, मृत्यु भएको देख्दा कयौँ पटक आफै रुने र उदास हुन्थेँ। क्यान्सरको कारणले अति नै दुःख पाएको, निकै कष्ट सहनु परेको र मृत्यु  भएको देख्दा हे भगवान, यो क्यान्सर भन्ने रोग कसैलाई पनि नलागोस भनी धेरै पटक प्रार्थना गरेको छु। तर सोचेको जस्तो नहुँदो रहेछ।विस्तारै विस्तारै समुदायमा क्यान्सर रोग यति धेरै फैलिन्छ होला भन्ने मैले सोचेको पनि थिइनँ। आफ्नै परिवारका सदस्यहरू र नातेदारहरुमा क्यान्सर रोग देखिन थाले पछि झन धेरै डर पैदा गर्न थाल्यो।

क्यान्सरको उपचारमा नयाँ प्रविधिहरुको विकास संग संगै क्यान्सरको उपचारमा सुधार भएको थुप्रै उदाहरण हरु देख्न सक्छौं। तर आफू स्वास्थ्यकर्मी भएर पनि क्यान्सरका विरामीको उपचारमा संलग्न हुँदा मनै सिरिङ्ग हुने गर्दछ। विशेष गरी समस्याहरुबाट पिडित विरामीहरुको, विषेश गरी बच्चाहरूको खभष्ल यउभल गर्दाका अनुभवहरु र उनीहरुले औषधीले पोल्छ नलगाउने भन्ने गरेको कुराहरु अझै पनि कानमा गुन्जिन्छन। कयौँ पटक उनीहरू सँगसँगै आफू पनि आँखा रसाउँदै, मन रूवाउँदै काम गरेको अझै पनि ताजै छ। लामो समयसम्म उपचारको क्रममा संधै यी विरामी छिट्टै निको होउन र शरीरमा यो रोगको असर घटोस भन्दै प्रार्थना गर्थेँ।

२०७९ माघ महिनाको अन्ततिर मेरो बुवाको स्वास्थ्यमा निकै समस्याहरू आइरहेको थियो । उहाँ करिब १५ वर्षदेखि अल्सरेटिभ कोलाइटिस रोगबाट ग्रसित हुनुहुन्थ्यो। उहाँको निरन्तर ‌औषधी उपचार भइरहेको थियो।डाक्टरको सल्लाह अनुसार नियमित जाँच गर्ने क्रममा कोलोनोस्कोपीको रिपोर्टमा  स्युडोपोलिप्स अथवा धेरै स्थानमा मासु बढेको देखिन थालेको थियो। उहाँको उमेर र स्वास्थ्य अवस्थाको कारणले अपरेशन गरेमा झनै समस्या बढ्न सक्ने अवस्था थियो।बायोप्सी जाँचमा भने क्यान्सर देखिएको थिएन। तर, यो रोग लागेको १० वर्ष पछि क्यान्सर हुन सक्छ भन्ने अनुमान थियो। उपचार गर्दै गर्दा उहाँको स्वास्थ्यमा सुधार पनि भइरहेको थियो। सुधार हुँदाहुँदै पनि बेला बेलामा क्यान्सर त भएको छैन छोरी भनी सोध्नु हुन्थ्यो। बुबालाई आफ्नो रोगको बारेमा हदै सम्म थाहा थियो र आफै मनोबल दरो बनाएर स्वास्थ्यमा सुधार ल्याउन रोगसंग  लडिरहनु भएको थियो। उहाँलाई यस्तो समयमा क्यान्सर नै भएको थाहा भयो कि जब मैले उहाँको लागि समय नै दिन सकिरहेको थिइन। डाक्टरले मेटास्टासिस भएको जस्तो देखिन्छ, अब धेरै समय छैन भने पछि बुबाले मलाई हारेक पलमा मेरो साथ खोजिराख्नु भयो। भर्ना भएको एक, दुई दिनमा अस्पतालमा जाँदा बुबाले मलाई नै खोजिरहनु भएको र मैले समय नदिएको प्रति उहाँको उदासीनता मैले देखें। बुबाको अवस्था देख्दा एकछिन पछि नछोडुँ जस्तो लाग्थ्यो तर मेरो बाध्यता,  परीक्षाको धमाधम थियो मलाई।
हुन त सबै रोगले केही न केही हदसम्म सताउँछ, अरु रोगमा झैँ यस रोग लाग्दा पनि आत्मबल दरो बनाइ स्वास्थ्यकर्मी तथा डाक्टरको सल्लाह अनुसार उपचार गर्यो भने स्वास्थ्यमा राम्रो सुधार ल्याउन सकिन्छ।
जसो तसो पढाई र बुबालाई समय मिलाउँदै, आफ्नो बच्चालाई पनि समय दिँदै आफ्नो अन्तिम परीक्षा  सकाएँ आफूलाई परेको यो अति नै दर्दनाक परिस्थिति केही साथीहरुलाई मात्र भनेको थिएँ। बुबाको अवस्था देख्दा परीक्षाको तयारी नै गरौँ कि नगरौँ,  परीक्षा नै दिउँ कि नदिउँ जस्तो लाग्थ्यो। तर मलाई मेरो श्रीमान र सम्पूर्ण परिवार सबैले तिमी ढुक्क भएर परीक्षा देउ, बुवालाई हामी हेर्छौँ भन्नु भयो। तर कहाँ मन बुझाउन सक्थेँ र। परीक्षामा बेला बेलामा बुबालाई भेट्न र सके जति केयर गर्थेँ। बुबालाई भेटेपछि छुट्टिन मन लाग्दैन थियो तर बाध्यता म जानै पर्थ्यो।त्यो तीन महिना बुबाको समय लगातार अस्पताल अथवा घरमै अस्पतालको बेड, अक्सिजन, अस्पतालको जस्तै सेट गरी राखिएको ठाउँमा बित्यो । 
परीक्षा सके पछि एकछिन पनि नछोडिकन बुबासँगै बसेँ, उहाँको स्याहार सुसारमा लागेँ म।करिव १५, १६ दिन पछि उहाँले मेरै हातमा हुँदा प्राण त्याग्नु भयो। मेरो दिदी र म बेड सोर भएको ठाउँमा ड्रेसिङ गर्दै थियौँ, बोल्दा बोल्दै स्वाँस फेर्न छोड्नु भयो। यति छिटो छोडेर जानु होला जस्तो लागेको थिएन। 
त्यो दिन विहान देखि नै उहाँको व्यवहारमा परिवर्तन देखिएको थियो। बोली पनि लडबडिएको जस्तो थियो । निन्द्रामै जस्तो हुनुहुन्थ्यो, उदास देखिनु भएको थियो। मैले व्हीलचेयरमा  राखेर झ्यालबाट घर पछाडि उहाँले रोप्नु भएका तरकारी, फूल तथा फलफुलका विरुवाहरु मज्जाले हुर्केको देखाएँ र बाहिर पट्टिको गेटसम्म घुमाएँ। धेरै दिन देखि बेड रिडन हुनुहुन्थ्यो । उहाँले प्राण त्याग्नु भएको बेला, अझ मेरै हातमा बित्नुहुँदा, मेरो बुबाले मृत्युको लागि म नर्स छोरीलाई नै कुरि रहनु भएको भान भयो, म नर्स छोरी कै स्याहार, सुसार र समय पाउन कुरिरहनु भए झैँ लाग्यो। बुबा, हजुरको क्यान्सर भन्दा अगाडिको रोग अथवा अल्सरेटिभ कोलाइटिस रोग पहिचान भए बाटै आफ्नो तर्फबाट सक्दो स्याहार सुसार, सह‌योग गर्ने, समय दिने गर्थेँ। तर विभिन्न समस्या, बाध्यताको कारण हजुरलाई हेर्नु पर्ने समयमा उल्टै मलाई र मेरो बच्चालाई हेर्नुपरेको कुरा मलाई राम्रो संग थाहा छ। क्यान्सर भनेर पहिचान भए पछि को, हजुरको जीवनको अन्तिम तीन महिनाको समय, जुन, समयमा मैले हजुरलाई समय दिन सकिनँ, र हजुरलाई नर्स छोरीले जुन स्याहार सुसार गर्छ भन्ने लागेको थियो। सायद मबाट हजुरको त्यो आशा पूरा हुन सकेन। त्यसैले मलाई माफ गरिदिनुहोला बुबा। वर्तमान परिवेश हेर्दा म जस्तै चाहेर पनि आफ्ना परिवारलाई अत्यावश्यक परिस्थितिमा पनि समय दिन नसक्ने धेरै जना छौँ। म त एउटा सानो उदाहरण मात्रै हुँ। तर पनि सकेसम्म आफ्नो र आफ्नो परिवारको लागि समय छुट्याउन र स्वास्थ्यमा ध्यान दिन अत्यन्त जरुरी छ। क्यान्सर जस्ता रोग लागेमा अझ बढी ध्यान दिन अत्यन्त जरुरी छ किनकि समयमै उपचार गरेमा सफल उपचार गरी मृत्युलाई पछाडि धकेल्न सकिन्छ।

बुबा, हजुरको जस्तो क्यान्सरको रोकथामको लागि खोप उपलब्ध छैन, तर महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोग रोकथाम गर्न एच।पि।भी। ९ज्गmबल एबउष्िियmबखष्चगक० नामक भाइरस विरुद्धको खोप यस वर्ष विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू, र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई आज देखि लगाउन गइरहेको छ। विश्वमा हरेक वर्ष ५,७०,००० महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र यो रोगबाट हरेक वर्ष ३,११,००० जना महिलाहरूको मृत्यु हुन्छ।नेपालमा हरेक वर्ष २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । हरेक वर्ष १,३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ। सके सम्म लक्षित समूहको  किशोरीहरूलाई यो खोप लगाउन आफुले साक्दो पहल गरौ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *