विनायकमा पूर्व प्रा वि तहको शैक्षिक प्रदर्शनी
माघ १८, २०८१, शुक्रबार | दिउँसो ०३:२० बजे | 80
मध्यपुर ठिमी भक्तपुर रूपान्तरित शिक्षा र प्रगतिशील सोचको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८१ माघ १८ गते पूर्व प्रा वि तहमा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको आयोजना गर्यो। पूर्व प्राथमिक तहमा अध्यापनरत शिक्षक शिक्षिकाहरूको संयोजनमा भएको तथा पूर्व प्रावि तहमा अध्ययनरत विद्यार्थीहरू मात्रै सहभागी रहेको उक्त कार्यक्रम विद्यालयको पार्टी बिहार स्थित प्रि ब्लकमा आयोजना गरिएको थियो । विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिको सभापतित्वमा र अभिभावक डाक्टर दिनेश प्रजापतिको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम विद्यालयकी पूर्व प्रावि तहकी शैक्षिक संयोजक पदमकेशरी श्रेष्ठले सञ्चालन गर्नुभएको थियो। विद्यालयमा पूर्व प्रावि तहमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ को हालसम्म सिकेका कुराहरुलाई प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा सबैलाई स्वागत र धन्यवाद ज्ञापन गर्दै विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले शिक्षा किताबी ज्ञान मात्र होइन, व्यवहार हो ।रूपान्तरित र युग अनुसारको शिक्षाले मात्र हरेक बालबालिका भोलिका दिनमा आत्मनिर्भर बन्न सक्ने कुरा बताउनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सिकाइलाई बोझका रूपमा नलिई सहज र खेल्दा खेल्दै सिक्न सकेमा त्यो सार्थक सिकाइ हुने र त्यस्तो सिकाइ जीवनका लागि ,प्रगतिका लागि र उन्नतिका लागि महत्वपूर्ण हुने भएकाले विद्यालयले प्रगतिशील सोचको रुपान्तरित शिक्षा प्रदान गरिरहेको र संस्कार सीप र मौलिक परम्परालाई प्राथमिकता दिँदै आएको कुरा बताउनुभयो। पूर्व प्राथमिक तह र प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरूको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूले आफ्ना नानीहरूको सिकाइ उपलब्धि देखेर विद्यालय परिवार तथा आफ्ना नानीहरूको उज्ज्वल भविष्यका लागि अहोरात्र खट्ने शिक्षक शिक्षिकाहरुप्रति हार्दिक आभार व्यक्त गर्दै सबैलाई धन्यवादसमेत ज्ञापन गर्नुभएको थियो।