भक्तपुरमा ङालाकेगु जात्रा सुरु ः कुन दिन कता ?


2025-01-14 03:04:36

News Image

नारायणमान बनमाला विश्व प्रसिद्ध भक्तपुरको नवदुर्गाको ङालाकेगु जात्रालाई नेपालको सबभन्दा लामो समय सञ्चालन हुने जात्राको रूपमा लिइन्छ । भक्तपुरको नवदुर्गा मन्दिर भक्तपुर नगरपालिका वडा नं. ९ गछेँ टोलमा अवस्थित छ । मानव समाजमा आधारित भक्तपुरको नवदुर्गाको ङालाकेगु जात्रा भक्तपुर जिल्लामा मात्र नभई काठमाडौँ र काभ्रे जिल्लामा पनि निरन्तर सञ्चालन भइरहेको छ । यस जात्रा सञ्चालन गर्न नेवार समुदायको उजाजु (बनमाला) जातिको महत्वपूर्ण भूमिका देखिन्छ । सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक नवदुर्गाको ङालाकेगु जात्रा भक्तपुर नगरपालिकामा पुस २९ गतेदेखि सुरु हुँदै छ । ङालाकेगु जात्रामा निम्न अनुसारका नाच, गतिविधि तथा जात्राहरू हुने गरिन्छ । ङालाकेगु जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको खःप्याखं प्रदर्शनी हुने, मुःवाहा जात्रा र चाःप्याखं (रात्रि नाच) हुने गर्दछ । भोलिपल्ट बिहान बाराही प्याखं; सिम्ह दुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुन्छ । दिउँसो महाकाली प्याखं; साँझ महाकाली र श्वेत भैरवको गा तोकेगु प्याखं (खास्तो निकाल्ने नाच) हुन्छ । त्यसपछि सिम्ह दुम्ह र श्वेत भैरवको ना होलेगु प्याखं (पानी निकाल्ने नाच) सँगै श्वेत भैरवको ङालाकेगु जात्रा हुन्छ । ङालाकेगु जात्रा सकेपछि सिम्ह दुम्ह र श्वेत भैरवको प्वास्याकेगु प्याखं (पेट दुखाउने नाच); बालकुमारी (इन्द्रायणी) र श्वेत भैरवको मतिना प्याखं (मायाको नाच); सिम्ह दुम्ह र श्वेत भैरवको वस हियेगु प्याखं (लुगा धुने नाच); श्वेत भैरवको वस हियेगु प्याखं र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी गरिन्छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको विभिन्न २१ स्थानमा नवदुर्गाको ङालाकेगु जात्रा गरिन्छ । भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी (त्वचा) मा पुस २९ गते वापी पाछाकिगु जात्राबाट ङालाकेगु शुभारम्भ हुनेछ । माघ १ गते साँझ भक्तपुरको सूर्यमढी टोल परिक्रमा गरी राति सूर्यमढी डबली अगाडि खःप्याखं (नाच) प्रदर्शन हुने र च्याम्हासिंह क्षेत्रमा मुःवाहा जात्रा हुनेछ । माघ २ गते सूर्यमढीमै ङालाकेगु जात्रा हुनेछ । माघ २ गते मध्यराति नै तचपाल टोल परिक्रमा गरी दत्तात्रय मन्दिर अगाडि खः प्याखं प्रदर्शन हुने र महेश्वरी पीठ पूर्व क्षेत्रमा मुःवाहां जात्रा हुनेछ । माघ ३ गते तचपालमा ङालाकेगु जात्रा हुनेछ । सोही राति क्वाठण्डौ टोल परिक्रमा गरी खः प्याखं प्रदर्शनी र कमलविनायक पोखरी परिसरमा मुःवाहां जात्रा हुनेछ । माघ ४ गते क्वाठण्डौ टोलमा ङालाकेगु जात्रा हुनेछ । त्यस्तै, माघ ५ गते गछेँ टोल परिक्रमा गरी गछेँ नारायण मन्दिर अगाडि खःप्याखं (नाच) प्रदर्शनी हुने र ६ गते ङालाकेगु जात्रा हुनेछ । भक्तपुर नपाको चार स्थानमा ङालाकेगु जात्रापछि माघ ११ गते बिहान काठमाडौँको साँखुमा नवदुर्गा प्रस्थान हुने र साँझ त्यहाँका टोलहरूको परिक्रमा हुनेछ । माघ १२ गते पनि साँखुको विभिन्न टोलहरू परिक्रमा गरी शाखा टोलमा खः प्याखं हुने र मुःवाहां जात्रा हुनेछ । माघ १३ गते सोही टोलमा ङालाकेगु जात्रा सम्पन्न गरी सोही राति साँखुकै क्वाख टोल परिक्रमा गरी खःप्याखं प्रदर्शन हुनेछ । माघ १४ गते क्वाख टोलमा ङालाकेगु जात्रा सम्पन्न गरी माघ १५ गते बिहान साँखुबाट चाँगुनारायण मन्दिरतर्फ प्रस्थान हुनेछ । चाँगुनारायणमा बिहान टोल परिक्रमा गरी चाँगुनारायण मन्दिर परिसरमा खःप्याखं प्रदर्शनी तथा मुःवाहा जात्रा हुनेछ । माघ १६ गते ङालाकेगु जात्रा सम्पन्न गरी साँझ भक्तपुर फर्किने छ । माघ २४ गते बिहीबार दथु टोल परिक्रमा गरी दथु टोल चोकमा खःप्याखं प्रदर्शनी हुने र माघ २५ गते ङालाकेगु जात्रा हुनेछ । माघ २६ गते शनिबार इनाचो टोल परिक्रमा गरी इनाचो स्वँगल्वहँते खःप्याखं प्रदर्शन हुने र महेश्वरी खेल मैदानमा मुःवाहा जात्रा हुनेछ । माघ २७ गते ङालाकेगु जात्रा सम्पन्न भएपश्चात् सोही राति गोल्मढी टोल परिक्रमा गरी गोल्मढीमा खःप्याखं प्रदर्शनी तथा भेलुखेलमा मुःवाहां जात्रा हुनेछ । माघ २८ गते गोल्मढीमा ङालाकेगु जात्रा हुनेछ । माघ २९ गते मङ्गलबार याछेँ टोल परिक्रमा गरी याछेँ गणेश मन्दिर अगाडि खःप्याखं हुने र महाकालीस्थान ख्यःपुखुचा क्षेत्रमा मुःवाहां जात्रा हुनेछ । माघ ३० गते याछेँमा ङालाकेगु जात्रा सम्पन्न भएपछि राति नवदुर्गा मन्दिरको चोकमा पहिलोपल्ट आरती नाच हुनेछ । फागुन १ गते बिहीबार बिहान भक्तपुर र काभ्रे जिल्लाको सिमानामा पर्ने साँगा नवदुर्गा देवगणहरू प्रस्थान हुने र साँझ टोलहरू परिक्रमा गरी खःप्याखं प्रदर्शन हुनेछ र नारायणस्थानमा मुःवाहां जात्रा हुनेछ । फागुन २ गते ङालाकेगु जात्रा सम्पन्न भएपछि राति नै भक्तपुर फर्किने छ । फागुन ३ गते शनिबार टौमढी टोल परिक्रमा गरी भैरवनाथ मन्दिर अगाडि खःप्याखं प्रदर्शन हुनेछ र ४ गते ङालाकेगु जात्रा हुनेछ । सोही राति तालाक्व टोल परिक्रमा गरी खःप्याखं प्रदर्शनी गर्ने र सूर्यविनायक चोक क्षेत्रमा मुःवाहां जात्रा हुनेछ । फागुन ५ गते तालाक्वमा ङालाकेगु जात्रा गरिनेछ । फागुन ६ गते मङ्गलबार नासमना न्हेस टोल परिक्रमा गरी राति नासमनामा खःप्याखं प्रदर्शन गर्ने र बाराही पीठमा मुःवाहां जात्रा गर्नेछ । फागुन ७ गते नासमनामा ङालाकेगु जात्रा हुनेछ । फागुन ८ गते गःहिटी टोल परिक्रमा गरी गःहिटीमा खःप्याखं प्रदर्शन गर्ने र ल्योसिंखेलमा मुःवाहां जात्रा गरिनेछ । फागुन ९ गते गःहिटीमा ङालाकेगु जात्रा गरिनेछ । फागुन १० गते शनिबार क्वाछेँ टोल परिक्रमा गरी क्वाछेमा खःप्याखं प्रदर्शन गर्ने र भगवतीस्थानमा मुःवाहां जात्रा गरिनेछ । फागुन ११ गते क्वाछेमा ङालाकेगु जात्रा सम्पन्न भएपछि मन्दिर फर्किने र राति नै टिबुक्छेँ तथा चासुखेल टोल परिक्रमा गर्न लाने, टिबुक्छेँमा खःप्याखं प्रदर्शन गर्ने र ल्योसिंखेल उत्तरतर्फ क्षेत्रमा मुःवाहां जात्रा गरिनेछ । फागुन १२ गते टिबुक्छेँमा ङालाकेगु जात्रा सम्पन्न भएपछि नवदुर्गा मन्दिरको चोकमा दोस्रो आरती नाच प्रदर्शन गरिनेछ । फागुन १३ गते बिलाछेँ भण्डारखाल टोल परिक्रमा गरी लाय्कु (दरबार स्क्वायर) मा खःप्याखं प्रदर्शन हुनेछ र फागुन १४ गते ङालाकेगु जात्रा हुनेछ । फागुन १५ गते खौमा टोल परिक्रमा गरी खौमा प्रवेशद्वार अगाडि खःप्याखं प्रदर्शन हुनेछ र मिबा (भक्तपुर औद्योगिक क्षेत्र परिसर) मा मुःवाहां जात्रा हुनेछ । फागुन १६ गते खौमामा ङालाकेगु जात्रा गरिनेछ । फागुन २० गते मङ्गलबार इटाछेँ टोल परिक्रमा गरी इटाछेँ च्वङा गणेश द्यःछेँ अगाडि खःप्याखं र फागुन २१ गते ङालाकेगु जात्रा हुनेछ । फागुन २३ गते शुक्रबार बिहान काभ्रे जिल्लाको नालामा नवदुर्गा देवगणहरू प्रस्थान हुने छन् । नाला पुगेपछि साँझ नालाका टोलहरू परिक्रमा गरिनेछ । फागुन २४ गते नालाको लाय्कुमा मुःवाहां जात्रा हुनेछ, पुनः टोलहरू परिक्रमा गरी नाला भगवती मन्दिर अगाडि राति खःप्याखं प्रदर्शन गरिनेछ । फागुन २५ गते नालामा ङालाकेगु जात्रा सम्पन्न गरी फागुन २६ गते सोमबार बिहान धुलिखेल प्रस्थान हुनेछ । दिउँसो धुलिखेलका टोलहरू परिक्रमा गरी राति तवली चोकमा खःप्याखं र फागुन २७ गते ङालाकेगु जात्रा सम्पन्न गरिनेछ । ङालाकेगु जात्रा सकेपछि जात्राखेल चोकमा मुःवाहां जात्रा हुनेछ । त्यसपछि बिदाइ पूजा गरी धुलिखेलमा हुने नवदुर्गाको सम्पूर्ण जात्रा सम्पन्न गरिन्छ । फागुन २८ गते बिहान नवदुर्गा गण धुलिखेलबाट श्रीखण्डपुरमा प्रस्थान हुनेछ । त्यहाँ बिहान गणेश, कुमार, सिम्ह, दुम्ह (प्यम्हाद्यो)÷(चार जना देवगण) को नाच प्रदर्शन हुनेछ । दिउँसो चौकोट भन्ने स्थानमा प्यम्हाद्योको नाच प्रदर्शन गरी जात्रा सम्पन्न गरिन्छ । त्यसपछि श्रीखण्डपुरबाट भक्तपुर फर्किनेछ । पाहाँ चरे तिथिपछि भक्तपुरको बालाखु टोल, मातातीर्थ औँसी तिथिमा काभ्रेको बनेपा र पनौती नगरपालिकामा ङालाकेगु जात्रा हुने गर्छ । त्यसपछि भक्तपुरकै तुलाछेँ र चोछेँमा ङालाकेगु जात्रा हुन्छ । सितिनखाको आठ दिनपश्चात् भक्तपुर दरबार क्षेत्र इछु टोलमा यस वर्षको अन्तिम ङालाकेगु जात्रा गरिन्छ । (लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *