कामदार वर्गको मुक्तिको लागि वैज्ञानिक समाजवाद
पुष १५, २०८१, सोमबार | विहान ०५:०६ बजे | 0
राजु तामाङ, काभ्रे मानव सामजको विकासक्रममा आदिम साम्यवादी समाज पछिको कुनै पनि युगमा जीवन निर्वाहको निम्ति आवश्यक पर्ने वस्तुहरू उत्पादन गर्ने उत्पादनका साधनहरूको स्वामित्व समाजको अधीनमा रहेन।उब्जाएको वस्तुहरू पनि आवश्यकता अनुसार होइन,नाफा नोक्सानको आधारमा किनबेच र वितरण गर्ने प्रणाली चल्यो। समाजको सदस्य भएर पनि व्यक्ति नै सर्वेसर्वा भए। समाजको हित,अहितको ख्याल गरिएन। जसले गर्दा शोषण,उत्पीडन कायम रह्यो र मान्छे मान्छे बीच भेदभाव,असमानता र कलहको स्थिति रह्यो। हुर्कदै गरेको नयाँ उत्पादक शक्ति मजदुर वर्ग समाजको सबभन्दा ठुलो हिस्सा भएर पनि मानव जीवनको निम्ति चाहिने वस्तुहरू उब्जाउने किसानहरू-मजदुरहरूले नै सधैं अभाव खप्नुपर्यो।समाज समान रूपमा शान्तिपूर्वक अघि बढ्न सकेन।फलस्वरूप नयाँ समाज व्यवस्थाको माग हुन थाल्यो। मजदुरहरूले मालिकको लामो शोषण विरुद्ध संघर्ष गरे। किसानहरू सामन्ती र जमिन्दारी प्रथा विरुद्ध विद्रोहमा ओर्लिए। चिन्तनशील र परोपकारी व्यक्तिहरूले सिङ्गो मानव जातिको हित गर्ने नयाँ समाज व्यवस्था बारे सोच्न थाले। मानव समाजको सबभन्दा सक्रिय,परिश्रमी र हुर्कदो अवस्थामा रहेको मजदुर वर्गलाई शासक वर्गको रूपमा स्थापित गर्ने नयाँ समाज व्यवस्थाको परिकल्पना र ब्याख्या गरे। काल्पनिक ढंगले प्रस्तुत गरिएको समानतापूर्ण,शोषणविहीन, समाज व्यवस्थालाई काल्पनिक समाजवाद भनिन्छ। वैज्ञानिल समाजवादको जन्म हुनुभन्दा अगाडि काल्पनिक समाजवादी विचारधाराको उदय भयो। काल्पनिक रुपरेखामा आधारित भएर प्रयोगात्मक रूपमा वस्ती बसाल्ने प्रयास पनि गरियो। बेलायतको आन्दोलन र फ्रान्सेली राज्य क्रान्तिको अनुभवहरू र मजदुर वर्गको वास्तविक जीवन,पुजीपति वर्गको शोषण,दमन,छल,प्रपन्च,र धोका मानव समाजमा विकसित भै आएका आर्थिक प्रणाली सबैको व्यापक र विस्तृत अध्ययन,विश्लेषण र परीक्षणबाट समाजवादको वैज्ञानिक आधारहरू तयार भयो। काल्पनिक दर्शनको दुनियाँमा सीमित काल्पनिक समाजवादलाई धेरै लामो गम्भीर अध्ययन र अनुसन्धानपछि विभिन्न तथ्यपूर्ण कारणसहितको सैद्धान्तिक आधारहरू प्रस्तुत गरि वैज्ञानिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभयो। वैज्ञानिक समाजवाद प्राप्त गर्नको लागि क्रान्ति वा सशस्त्र संघर्षको आवश्यक हुन्छ। यस किसिमको संघर्ष बहुमत कामदार जनताको नेतृत्वमा हुने भएकोले व्यापक उत्पीडित कामदार जनता राजनीतिक र सैद्धान्तिक रुपले शिक्षित,सचेत र सङ्गठित हुनुका साथै बौद्धिक र साँस्कृतिक स्तर उठ्नु र उठाउनु आवश्यक हुन्छ। यिनै परिस्थितिको बीचमा आफ्नो अध्ययन र अनुसन्धानको क्रममा मार्क्स र एङ्गेल्सले अठारौं शताब्दीको भौतिकवादी विचारधारा,पुजीवादी प्रजातान्त्रिक क्रान्तिका अनुभवहरू,हेगेलको द्वन्द्ववादी पद्धति,फायरबाखको भौतिकवादी मान्यता,काल्पनिक समाजवादी विचारधारा, र डेबिट रिकार्डो तथा एडम स्मिथको आर्थिक सिद्धान्त जस्ता विषयहरूको गहन अध्ययनले कार्लमार्क्सलाई तीन प्रमुख विषयमा खोजबिन र निचोड निकाल्न प्रेरित गर्यो। यसरी दर्शनशास्त्र,राजनीतिशास्त्र र अर्थशास्त्र जस्ता प्रमुख विषयमा अध्ययन केन्द्रित रहदै मार्क्सले समाजमा सबभन्दा ठुलो संख्यामा रहेको उत्पादन शक्ति मजदुर-किसान श्रमजीवी जनसमुदायको आन्दोलनहरूको लेखाजोखा गर्नुभयो। एङ्गेल्सले प्रकृतिकोद्वन्दवाद बारे गहन अध्ययन गर्दै समाज विकासको ऐतिहासिक रुपरेखा कोर्नुभयो। डार्विनको खोजलाई पुष्टि गर्दै परिवार र राज्यसत्ताको उत्पत्ति बारे निचोड निकाल्नुभयो। ततपश्चात् वैज्ञानिक समाजवादसम्म पुग्ने मार्गदर्शनको रुपमा मार्क्सले वर्गसंघर्ष, द्वन्द्वात्मक भौतिकवाद,अर्थशास्त्रमा अतिरिक्त मुल्यको सिद्धान्त लगायतका सैद्धान्तिक आधारहरू अगाडि सार्नुभयो। यसरी मार्क्स र एङ्गेल्सले समाजवादलाई आदर्श कल्पनाको तहबाट वैज्ञानिक धरातलमा उभ्याउनु भयो।लेनिनले त्यसलाई सर्वप्रथम व्यावहारिक जीवनमा लागू गरि रुसको भूमिमा समाजवादी व्यवस्था स्थापना गर्नुभयो। पुजीवादी व्यवस्था अल्पमतले बहुमतमाथी शासन गर्ने व्यवस्था हो भने समाजवादी व्यवस्था बहुमत जनताको हितमा सर्वहारा वर्गको नेतृत्वमा हुने शासन व्यवस्था हो। वैज्ञानिक समाजवादी व्यवस्था मार्क्सवादी सिद्धान्त अनुरुप सर्वहारा वर्गले बलपूर्वक सशस्त्र संघर्षको माध्यमबाट सामन्ती र पुजीवादी व्यवस्थालाई ध्वस्त गरि राज्यसत्ता कब्जा गरिन्छ र आफ्नो हुकुम चलाउछ। मुलतःसमाजवादी व्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व लागू हुन्छ र व्यापक कामदार वर्गको हितमा राज्यको शासन सत्ता सञ्चालन हुन्छ। यो व्यवस्थाले गरीब,शोषित,उत्पीडित र शासित कामदार जनताको हित(मुक्ति ) को निम्ति उत्पादनका मुख्य मुख्य साधनहरूलाई सामाजिकीकरण गरिन्छ। व्यक्तित्व विकासमा समान अवसर राज्यले प्रदान गरिन्छ। शिक्षा,स्वास्थ्य पूर्ण रूपमा नि:शुल्क,शारीरिक श्रम र बौद्धिक श्रम बीचको भेदको अन्त्य,रोजगारीको सुनिस्चित गर्न राज्यले उद्योग,कलकारखानाको स्थापना गरि राज्यकै स्वामित्वमा सञ्चालन गरिन्छ। कुनै कारणवश राज्य प्रदत्त रोजगारीबाट कोही बन्चित भएमा त्यसलाई बेरोजगारी भत्ताको बन्दोबस्त गरिन्छ। योग्यता,क्षमता र गुण अनुसारको काम र सोही अनुसारको ज्यालाको बन्दोबस्त गरिन्छ। वर्गभेद हटाउन अर्थात वर्गीय खाडल पुर्नको लागि शोषणरहित आर्थिक समानतासहितको समाज व्यवस्थाको निम्ति प्रगतिशील कर प्रणाली लागू गरिन्छ। बैंक,ठुलठुला उद्योगधन्दा,वायुसेवा, यातायात लगायतका साधनहरू राष्ट्रियकरण गरिन्छ। किसानहरूको हितमा क्रान्तिकारी भूमिसुधार लागू गरिन्छ। दलाल पुजीपति वर्गलाई दण्डित गर्दै विदेशी पुजी विस्तारै-विस्तारै विस्थापित गरिन्छ। आम गरीब,शोषित र पीडित कामदार वर्गको ऋणलाई सहुलियत वा छुट गर्दै प्रतिक्रियावादी सरकारले देश र जनतामाथि थोपरेको ऋण नवगठित क्रान्तिकारी सरकारले नतिर्ने खुल्लमखुल्ला घोषणा गरिदिन्छ। देशलाई स्वाधीन र सार्वभौम ढंगले अगाडि बढाउन स्वावलम्बी र आत्मनिर्भरतासहितको अर्थतन्त्रको विकास गरिन्छ। मार्क्सवादको क्रान्तिकारी धारलाई बङ्ग्याउने र खत्तम पार्ने उदेश्यले मार्क्सकै चेला एडुअर्डो बर्नस्टिनले प्रतिपादन गरेको वर्गसमन्वयमा आधारित क्रान्तिविरोधी सिद्धान्त संशोधनवाद हो। संशोधनवाद पुजीवादभित्रको अवसरवादी विचार हो। अवसरवाद भनेको दीर्घकालीन मुल लक्ष्यलाई छोडेर क्षणिक स्वार्थपूर्ति गर्ने तर्फ लाग्नु हो। अवसरवाद पनि दुई किसिमको हुन्छ,पहिलो वामपन्थी अवसरवाद र दोस्रो दक्षिणपन्थी अवसरवाद हो। क्रान्तिको परिस्थिति तयार नहुदै क्रान्ति गर्न खोज्नु वामपन्थी अवसरवाद हो,भने क्रान्तिको परिस्थिति तयार भएर पनि क्रान्ति गर्न नखोज्नु दक्षिणपन्थी अवसरवाद हो। यसले वास्तविक कम्युनिस्ट आन्दोलनलाई अगाडि बढ्न दिदैन र दिशाहीन बनाउने कुचेष्ट गर्छ। सिद्धान्तको कसीमा घोटेर हेर्दा नेपालमा पनि जनताको बहुदलीय जनवाद(जबज) लाई अङ्गीकार गरेको नेकपा एमाले कम्युनिस्ट पार्टी होइन अर्थात कम्युनिस्ट नै होइन। किनकि गैर मार्क्सवादीहरू कम्युनिस्ट हुन सक्दैनन्। एमालेको जबज स्वत:बर्नस्टिनको वर्गसमन्वयमा आधारित वर्गसंघर्ष विरोधी संशोधनवादी सिद्धान्त हो। कम्युनिस्टहरूले क्रान्ति र वर्गसंघर्षमा विश्वास गर्छन। वर्गसंघर्ष र क्रान्तिलाई त्याग्नेहरू कम्युनिस्ट हुन सक्दैनन्। तसर्थ देशमा क्रान्तिको वस्तुगत परिस्थिति तयार नहुँदै भारतीय विस्तारवादी शासक वर्गको निर्देशन अनुसार हातहतियार ल्याएर,उतैबाट तालिम लिएर देशमा जनयुद्ध र सशस्त्र संघर्षको नाममा बमबाड गर्दै उपद्र मच्चाउने माओवादी पनि कम्युनिस्ट होइनन्,वामपन्थी अवसरवादी हो।सशस्त्र संघर्ष गर्ने सबै कम्युनिस्ट हुँदैनन तर कम्युनिस्टहरू सशस्त्र संघर्षमा विश्वास गर्छन्। अर्थात 'माओवाद ' भन्ने शब्दै गलत हो। माओत्सेतुङको कुनै वाद छैन,माओत्सेतुङको विचार मात्रै हो। वाद र विचारमा फरक हुन्छ। माओवाद भन्ने शब्द चिनिया कम्युनिस्ट पार्टी र माओत्सेतुङ स्वयंले अस्वीकार गरेको शब्द हो। व्यवहारत:सरकारमा गएर शोषित कामदार जनताको हितमा माओवादी र एमाले दुबैले काम गरेको छैन। नेपालीमा एउटा उखान छ 'गाई मारेर बाघलाई पोस्ने' भने झैँ उल्टै सरकारमा गएर कामदार जनताको नाममा कामदार वर्गलाई नै शोषण गरेर पुजीपति वर्गलाई पोसेर व्यापक कामदार वर्गको अहितमा विविध ऐन कानून,र नीति कार्यक्रमहरू बनाउदै आएको यथार्थ घाम जतिकै छर्लङ्ग छ। जस्तै कम्युनिस्टहरूले समाजवादी अवधारणा अनुरुपको राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्ने काम गर्छ। तर माओवादी र एमाले दुबैले समाज र राज्यको स्वामित्वमा उद्योग,कलकारखाना हरू खोल्ने,योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोबस्त दिने,शिक्षा स्वास्थ्य निशुल्क गर्ने,क्रान्तिकारी भूमिसुधार लागू गर्ने,उत्पादनका साधनहरू सामाजिकीकरण गर्ने र गरीबहरूको ऋण छुट गरेर ऋणबाट मुक्त गरिदिने लगायतको समाजवादसङ्ग सम्बन्धित क्रान्तिकारी सरकारले गर्नुपर्ने यी कामहरू गरेन। त्यसैले यी दुबै पार्टीहरू कम्युनिस्ट होइनन्। यस्तो छदमभेषी र नक्कली कम्युनिस्टहरू विरुद्ध सैद्धान्तिक रूपमा,वैचारिक रूपमा,स्थापनाकालदेखि सडक र सदनमा नेमकिपा संघर्षरत छ।