‘भक्तपुर महोत्सव एक खुल्ला विश्वविद्यालयको रुपमा रहनेछ’
मंसिर २८, २०८१, शुक्रबार | दिउँसो ०३:५५ बजे | 5
सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
साँस्कृतिक नगर, नाचगानको राजधानी, जिवित संग्राहलयको रुपमा परिचित भक्तपुरमा आजबाट पुस २ गते (पाँच दिन)सम्म भक्तपुर महोत्सव हुँदै छ । महोत्सवलाई भव्य रुपमा सफल पार्न कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण भक्तपुर बासी तथा स्वदेशी र विदेशी मित्रहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्द छौं ।
भक्तपुर कला र संस्कृतिको केन्द्रको रुपमा विकास हुँदै छ । यहाँ लिच्छबिकालीन र मल्लकालीन असंख्य मूर्त र अमूर्त सम्पदाहरु जिवन्त देख्न पाइन्छ । दरवार क्षेत्रमा अवस्थित ५५ झ्याल दरवार र सुनढोका, टौमढी स्थित ३२० वर्षभन्दा पहिले निर्मित ङातापोल्हँ(५तले मन्दिर) र भैरवनाथको मन्दिर तथा दतात्रयमा रहेको दतात्रय मन्दिर काष्ठकला, धातु कला र प्रष्टर कलाका अनुपम उदाहरणहरु हुन् । टोल टोलमा रहेका दाफा भजन, परम्परागत नाचगानहरुले भक्तपुरलाई साँस्कृतिक रुपमा अति सम्पन्न बनाएका छन् । भक्तपुरमा रहेका यी नै सम्पदाहरुको उच्च मूल्याङ्कन गरी सन् १९७९ मा युनेस्कोले दरवार क्षेत्र र टौमढी क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गरेको थियो भने बजार क्षेत्रलाई सम्पदामा राखिएको थियो ।
भक्तपुरको मौलिकतालाई जोगाइ राख्न भक्तपुर नगरपालिकाले प्राचीन शहर भित्र परम्परागत शैलीमा घर बनाउनेहरुलाई अनुदानको व्यवस्था, परम्परागत घर निर्माण गर्ने डकर्मी र सिकर्मीहरुको तालिम तथा सम्पदाको महत्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न स्थानीय पाठ्क्रमको व्यवस्था गर्दै आएको छ । हाम्रो भाषा र संस्कृति नै हाम्रो पहिचान हो । भाषा र संस्कृति नरहे हाम्रो पहिचान गुम्न सक्छ । यसबारे नगरपालिका अत्यन्त सचेत छ । सम्पदाहरुको मौलिकतालाई बचाइ राख्नु हामी भक्तपुर बासीहरु सबैको साझा कर्तव्य र जिम्मेवारी हो ।
२०७२ को भूकम्पले भक्तपुरका हजारौं घरहरुका साथै सयौं सम्पदाहरुमा क्षति पुर्यायो । हाम्रा पूर्खाहरुले निर्माण गर्नु भएका ती क्षतिग्रष्त अधिकाँश सम्पदाहरु विदेशीको कुनै सहयोग नलिइ पुरानै शैलीमा पुनःनिर्माण र जिर्णोद्वार सम्पन्न गरि सकेका छौं । अझै थंथु दरवार, इखालाछी मठ जस्ता केही महत्वपूर्ण सम्पदाहरु निर्माणाधिन अवस्थामा छन् । सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्वार कार्यमा स्थानीय श्रोत, साधन र प्रविधिको अधिकतम प्रयोग गरेका छौं ।
आर्थिक अनुशासन, पारदर्शिता र इमान्दारीपूर्वक जनताको सेवा गर्ने भावनाले भक्तपुर नगरपालिकाका हामी जन प्रतिनिधिहरु कृयाशील छौं । शिक्षा, स्वास्थ्य उपचार, सरसफाई, सम्पदा पुनःनिर्माण र जिर्णोद्वार तथा विकास निर्माणका कार्यहरु समेत जनतामा केन्द्रित गरेर गर्दै आएका छौं । इमान्दार राजनैतिक नेतृत्व, जन प्रतिनिधि, स्थानीय जनता र कर्मचारीहरुको मजबुत एकता भए भन्ने छिटो परिवर्तन सम्भव छ भन्ने भक्तपुर एक उदाहरण हुन सक्छ ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तर्फ हाम्रो ध्यान केन्द्रित छ । अहिले वर्षेनी लाखौंको संख्यामा विदेशी पर्यटकहरु भक्तपुर आउने गरेका छन् भने आन्तरिक पर्यटकहरु पनि दिनानुदिन बृद्धी भइरहेका छन् । नेपाल आउने विदेशी पर्यटकहरुमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याँङ्क छ । भक्तपुर महोत्सव स्वदेशी र विदेशी पर्यटकहरुको प्रबद्र्धन गर्ने महोत्वपूर्ण आधार बन्ने हाम्रो अपेक्षा हो ।
भक्तपुर महोत्सवकै क्रममा खुल्ला बाँसुरी बाजा प्रतियोगिता पनि हुने छ । देशका विभिन्न जिल्लाका ४७ वटा बाँसुरी बाजा समूहहरुले भाग लिएको उक्त प्रतियोगिता महोत्सवको एक महत्वपूर्ण आकर्षण हुने छ ।
भक्तपुर नगरपालिकाले यस महोत्सवमा नगरका १० वटै वडा समेटिने गरी ३२ ठाउँमा महत्वपूर्ण गतिविधिहरु गर्ने स्थल तोकेको छ । टोल टोलमा भजन गायन, हलिमली प्रदर्शनी, परम्परागत जात्रा, भेषभुषा र खेलकुद प्रदर्शनी हुने छ भने भक्तपुरका मौलिक उत्पादन जुजु धौ, ताइचिन च्यूरा, भादगाउँले टोपी, हाकु पटासी, परम्परागत खाना, पुस्तक प्रदर्शनी, बालमैत्री प्रदर्शनी जस्ता गतिविधिहरु पनि हुने छन् । नेवार समुदायको संस्कार र चाल चलन, कला प्रदर्शनी, चित्रकला प्रदर्शनी पनि हुने छन् भने ठाउँ ठाउँमा दिपंकर प्रदर्शनी, परम्परागत च्यूरा कुट्ने, कपडा बुन्ने प्रदर्शन, माटाका भाँडा बनाउने प्रदर्शनी, पुस्तक प्रदर्शनी, सहकारी उत्पादनका प्रदर्शनीका साथै ठाउँ ठाउँमा नाचगान भइरहने छन् । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप कलेजहरुलगायतका शैक्षिक संस्थाहरुमा शैक्षिक प्रदर्शनी हुने छ । यस अवधिमा पुरै नगर महोत्सवमय हुने छ । महोत्सव अवलोकन गर्नेहरुले भक्तपुरको मौलिकता प्रष्टैसँग देख्न पाउने छन् ।
विद्यार्थी, शिक्षक, प्राध्यापक तथा सर्वसाधारण जनताको लागि समेत भक्तपुर महोत्सव सिक्ने ठाउँ हुने छ । साँचो अर्थमा भक्तपुर महोत्सव अवधिभर भक्तपुर एक खुल्ला विश्वविद्यालयको रुपमा रहने हाम्रो विश्वास छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सव भक्तपुरका जनताको साझा महोत्सव हो । यसलाई सफल पार्नु पनि हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो । आत्मनिर्भरतालाई जोड दिंदै काम गरिरहेको भक्तपुर नगरपालिकालाई अगाडि बढ्न निरन्तर साथ र सहयोग गर्ने यहाँका हजारौं सहयोगी हातहरु नै हाम्रो काम गर्ने उर्जाका श्रोतहरु हुन् ।
एक घर एक स्नातक घोषणा गरेर भक्तपुरको शैक्षिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नु हुने र सय वर्ष पछिको पुस्तक लेखेर भक्तपुरको भविष्यको रुप रेखा कोर्नु हुने तथा निरन्तर भक्तपुरको विकासको निम्ति सल्लाह र सुझावहरु दिएर हामीलाई संधै निस्वार्थ रुपले जनताको सेवा गर्न उत्साह दिइ रहनु हुने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छे(रोहित) प्रति भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्द छौं ।
भक्तपुरको गौरव बढाउने कार्यमा संधै साथ र सहयोग गर्ने भक्तपुरका इमान्दार श्रमजिबी जनताप्रति हार्दिक आभार व्यक्त गर्द छौं । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, सफा नगर, सम्पदा संरक्षित नगर बनाउन निरन्तर प्रयाश गर्ने यहाँका अग्रजहरु प्रति पनि उच्च सम्मान व्यक्त गर्द छौं । ५ दिनसम्म चल्ने भक्तपुर महोत्सव अवलोकन गरेर हाम्रा कमी कमजोरीलाई रचनात्मक आलोचना गरी सहयोग गर्नु हुन पनि सम्पूर्णमा हार्दिक आग्रह पनि गर्द छौं ।
(भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाँचदिने भक्तपुर महोत्सवको उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)