भक्तपुर महोत्सव–२०८१ बारे छोटो चर्चा


मंसिर २६, २०८१, बुधबार | दिउँसो ०३:०५ बजे | 0


भक्तपुर महोत्सव–२०८१ बारे छोटो चर्चा

(मंसिर २८ गतेदेखि पुस २ गतेसम्म)
रामकृष्ण प्रजापति
आठौं शताब्दीमा स्थापित भक्तपुर नगर १२ औं शताब्दीमा राजा आनन्द मल्लले राज्य गरेपछि १५ औं शताब्दीमा राजधानी शहर लिच्छवी कालमा स्वर्ण युग भनेर चिनिने भक्तपुर मल्लकालसम्म यहाँको सम्पदाहरु हेर्ने हो भने ईन्जिनियरिङ्ग हिसावले होस वा मठमन्दिर, पाटीपौवा, ढुङ्गेधारा, दरवार, ध्वाका, मौलिक घर र कलाकृर्ति उत्कर्ष नमूनाको थियो । साथै यहाँको चाँडपर्व पनि प्रकृति र मौसमसंग जोडिएर मानिसको जीवनशैलीमा सरसफाई, स्वास्थ्य, प्रकृति पुजा र यहाँको कृषि कामसंग मिल्ने यहाँका नगरवासीहरुको कला संस्कृति र संस्कार उच्चकोटिको रहेको छ । यहाँका चाँडपर्व बैज्ञानिक, ईन्जिनियरिङ्ग हिसाबले महत्व बोकेको विस्केट जात्राको भैरव रथ तान्ने पनि हो । भैरव रथ दुईतिरबाट तान्दा भैरव रथ हल्लिने, उफ्रिने र बजार्ने कार्यमा उत्पन्न हुने भूकम्पको मापन १० रेक्टर स्केलभन्दा कम हुँदैन । फलामको किल्ला विना बनेको रथ चुकुल र परम्परागत टिबाट बाँधेर बनाएको रथ नबिग्रने गरी बनाउनु भूकम्पबाट घर, मठमन्दिर, दरवार, ध्वाका निर्माण गर्दा भूकम्पिय जोखिमबाट बचाउने तरिकाले भूकम्प प्रतिरोधात्मक नमूना हुन भने बरिष्ठ आर्टिचेक्टर, ईतिहासविद्, संस्कृतिविद्हरुले अथ्र्याएका छन् । त्यस्तो साँधुरोबाटोमा भैरव रथ तान्ने प्रविधि मानौं त्यतिवेला नै अहिलेको ट्राफिक ईन्जिनियरिङ्ग सोचले त्यसलाई व्यवस्थापन गरेको देखिन्छ भने भैरवरथ मन्दिर शैलिमा निर्माण गरेर त्यतिवेलाको बास्तुशास्त्र, कलासंस्कृति, त्यसमा राखिने बेताल र भैरब रथ, रथमा कुँदिएको मूर्तिकला, काष्ठकला, चित्रकलाको नमूना प्रदर्शन, बैज्ञानिक र ईन्जिनियरिङ्ग हिसावले महत्वपूर्ण नमूना रहेको छ । यो त एउटा उदाहरण मात्र हुन् । यहाँ हुने हरेक पन्ध्र दिनको एकपटक आउने पर्व, प्रकृति, कृषि, मानव विकासको सभ्यता, कलासंस्कृतिसंग जोडिएर आउने गरेको छ । साथै त्यतिबेलाको संस्कार, संस्कृति ठूलालाई आदर सानालाई माया गर्नेदेखि लिएर अतिथि सत्कार, शरण लिनेलाई मरण नगर्ने, सहयोगी भावना, निस्वार्थ रुपमा अरुको सेवा गर्ने, भ्रष्टाचार विरुद्धको भावनाले ओतप्रोत थियो । पछिल्लो समयमा पनि मल्ल राज्यमाथि हमला गरी शाहबंशले शासन गर्न थालेपछि राणा र पञ्चायतबाट शासित हुँदा भक्तपुर लगायत काठमाण्डौं उपत्यकामा अंध्यारो कालकोठरीमा थुनिएका जनताहरु रैति अथवा दास बन्न पुगे भने शासकहरु राजा र भगवान बन्न पुगे त्यसपछि शिक्षा, स्वास्थ्य, कला संस्कृति सबै प्रायः लोपोउन्मुख, मास्ने, मठमन्दिर जिर्ण हुन थाले । नेवारी संस्कृतिको महत्व नबुझेका ईतिहास नबुझेका शासकहरुले भक्तपुरका बौद्धिकता मास्ने काम भयो । शासन लाठ्ठीको भर अथवा जसको शक्ति उसको भक्ति, बल र बन्दुकले शासन गर्न थाले । समाजलाई अगाडि लाने भन्दा पनि शासकहरुले जनतालाई दास बनाएर मालिकको सेवा गराउने ध्याउना बाहेक समाज उत्थानमा केहि गरेन । अमेरिका पत्ता नलाग्दा भार्वाचो ध्वाका निर्माण भई सकेको इतिहास बोकेको नेपाल अहिले अमेरिका आर्थिक, सामरिक र विकासको हिसाबमा कहाँ पुगिसकेको छ । तर नेपाल अहिले अर्ध उपनिवेशिक देशको रुपमा अगाडि बढेको छ भने यहाँका युवाहरु सबै बैदेशिक रोजगार, शिक्षाको निम्ति देश छोडेर लाखौलाख विदेशि रहेका छन् । देशभक्ति भावनाबाट ओतप्रोत हुनुपर्ने युवाहरुमा दास मानसिकताले जरा गाडेको छ । जसले गर्दा पैसाको निम्ति विदेशी भूमिको सेवा गरेर नेपाललाई अंधकार र मरुभूमि बनाउँदै छ । जेष्ठ नागरिक वा बृद्धाहरुको देश बनाउन खोज्दै छ । आफ्नै देशमा रोजगारी र शिक्षाको उचित बन्दोबस्त नहुँदा र पूँजीवादी रोग जसरी भएपनि पैसा कमाउने मानसिकताले पनि देश दिन दुई गुणा रात चौगुणा पछाडि धकेलिरहेको छ । यस तर्फ शासक दलहरुको ध्यान नपुग्दा बहुदल हुँदै गणतन्त्रसम्म पनि शासन सत्तामा पुगेका शासकहरुले अझै पनि देशलाई उकास्ने, जनताको निःस्वार्थ रुपमा सेवा गरी आर्थिक र सामाजिक स्तर उकास्ने, सरसफाई, शिक्षा, स्वास्थ्य, रोजगारीको बन्दोबस्त र यहाँको कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्ने तर्फ ध्यान गएको छैन् । मानव सभ्यताको विकासमा महत्वपूर्ण युगको रुपमा विकास गरेको अथवा स्वर्ण युग कहलाउन सफल भएको काठमाण्डौं उपत्यकाबासीहरुले देशको परिचय बोकेको, इतिहास बोकेको नेवार लिपि, भाषा, कलासंस्कृति माथि यसबारे अध्ययन नगरेका व्यक्तिहरु शासन सत्तामा पुग्दा देश भड्खालोमा पुगेको सर्वत्र अनुभव गरेको देखिन्छ । यी यस्ता इतिहास बोकेको भक्तपुरलाई पुरानै लयमा फर्काउन सय बर्ष पछिको भक्तपुरका लेखक नेमकिपाका श्रद्धय अध्यक्ष का.नारायणमान विजुक्छे(रोहित)को सोचमा भक्तपुरलाई अगाडि बढाउने कार्य अन्तर्गत हुन गई रहेको भक्तपुर महोत्सव आफैमा नयाँ पुस्तालाई यहाँको धरोहर हस्तातरण गर्ने एउटा मेसो पनि हो । डाइमण्ड सम्सेर राणाले नाचगानको शहर भनेर चिनिने भक्तपुर चिनिया विदेशमन्त्रीले चिनियाहरुको तिर्थस्थलको रुपमा परिभाषित गरेको छ भने ई. पावेलले भक्तपुर नघुमे आधा संसार नघुमेको सरह हुने बताउनु भएको भक्तपुर अहिले पनि त्यतिकै जीवन्त बनाउन भक्तपुर नगरपालिका र भक्तपुरका जनताले त्यतिकै मेहनत गरिरहेको जग जाहेर छ ।
भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय नगरलाई ख्वप पनि भनिन्छ भने नेपालको रोम शहरले चिनिने नेपाल सांस्कृतिक रत्न भक्तपुर  विश्व सम्पदा सूचिमा सुचिकृत नगरमा जुजु धौ, भादगाउँले टोपी र हाकुपटासी प्रख्यात छन् ।
“पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” भन्ने मूल नारा र “सफा शहर, साँस्कृतिक नगर, पर्यटकीय गन्तव्य स्थल” भन्ने लक्ष्यका साथ भक्तपुर नगरपालिका वागमती प्रदेशको भक्तपुर जिल्लामा रहेको भक्तपुर शहर आठौं शताब्दी(बा¥ह सय बर्ष अगाडि)मा स्थापना भएको हो । नेपालको राजधानी काठमाण्डौंबाट १३ कि.मी पूर्व अवस्थित यो नगरपालिका क्षेत्रफलको आधारमा देशको सानो नगरपालिका हो । वि.सं. २००६ असार २४ गते मिन्यूसपल्टीको नाममा आएको यो नगरपालिका वि.सं.१९७३ सालमा सफाई अद्दाको रुपमा कार्यरत थियो । यसको सीमाना (चार किल्ला) उत्तर पूर्वमा चाँगु नगरपालिका, पश्चिममा मध्यपुर थिमी नगरपालिका, दक्षिणमा सूर्यविनायक नगरपालिका रहेको छ । यहाँ तामक्रम अधिकत्तमः ३२, न्यूनतमः २ सम्म हुने गरेको छ ।
 यो नगरपालिका अक्षांश २७ डिग्री ३९ मिनेट ५६ सेकेण्ड –२७ डिग्री ४१ मिनेट ५ सेकेण्ड र देशान्तर ८५ डिग्री २४ मिनेट ३९ सेकेण्ड –८५ डिग्री २६ मिनेट ५५ सेकेण्डमा अवस्थित छ । यस नगरपालिका १४०१ मि. समुद्र सतह भन्दा माथि छ । यसको दीर्घकालीन सोच ः सफा स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र शिक्षाको केन्द्रको रुपमा विकास गर्ने हो । भक्तपुर जिल्लामा रहेको भक्तपुर नगर १० वडामा विभाजित छन् । यो नगर ६.८८४० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यो नगरमा जनसंख्या  ७९१३६ जना,  पुरुष ३९७५५, महिला ३९३८१, जनसंख्या वृद्धिदर ०.५३, औसत परिवार संख्या ४.१७, जनघनत्व ११४८६, घर घुरी संख्या १८९८७,  (२०७८)को जनगणना अनुसार रहेको छ । यहाँको मुख्य जाति नेवार समुदाय नै हो । भक्तपुर नगरको मुख्य पोखरीहरुमा सिद्ध पोखरी, भाजु पोखरी, कमल विनायक पोखरी, गुह्ये पोखरी छन् भने ऐतिहासिक धार्मिक स्थलहरुमा दत्तात्रय मन्दिर, भैरव मन्दिर, पाँच तले मन्दिर (न्यातापोल), ५५ झ्याल दरवार, सुनढोका, दरवार क्षेत्र लगायत छन् । 
दविएर रहेको भक्तपुरले फड्को मारेको नमुना सरसफाई, सम्पदा संरक्षण, पर्यटकीय गन्तव्य स्थल, ज्ञान विज्ञानको केन्द्र र पारदर्शी नगरपालिका बनाउने कार्यमा भएको प्रगति, यहाँको मूर्त र अमूर्त सम्पदा, कलासंस्कृति र संस्कार, चाडपर्व, रहनसहन, भेषभूषा, लवाईखवाई, पेशा व्यवसाय, मौलिक र परम्परागत खाना, खेल, जीवनशैली अथवा जन्मेदेखि मृत्युवरणसम्म गर्ने संस्कार यी यस्ता नयाँ पुस्तालाई हस्तान्तरण गरी जीवन्त नगर बनाई यहाँका युवाहरुलाई शिक्षा र रोजगार प्रदान गर्ने, श्रमलाई माया गर्ने र पुरानो बस्तुले नयाँ युगको सेवा गर्ने विषयबस्तु रहेको देखिन्छ । कला संस्कृतिलाई भौतिकवाद संग जोड्दै सांस्कृति क्रान्तिबाट अन्धविश्वास चिर्न यो महोत्सव सफल हुनेछ भने अध्यात्मिक र वैज्ञानिक सम्मिश्रणले प्रेमको संदेश र सार्वभौमिकता जोगाउन महोत्सवले कार्य गर्ने छ ।
भक्तपुरको जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत गतिविधि प्रदर्शन गर्ने उद्देश्य महोत्सवको रहेको छ ।
भक्तपुरको सीप र उत्पादन विश्वसामु प्रदर्शन गर्ने महोत्सवको मुख्य उद्देश्य हुनेछ । 
युवाहरुमा अहिले पूँजिवादी विचारले सामाजिक बन्नुपर्ने मानिसहरु स्वार्थी र व्यक्तिवादी हुँदा देशभक्ति भावनाहरु मरिरहेको छ भने यस धर्तीमा जन्मेर देश समाजको निम्ति केहि गर्नुपर्छ भने भावनाले ओतप्रोत हुनु पर्ने युवाहरु विकृति र विसंगति, निरुत्साहित जीवनका कारण लागुपदार्थ जस्ता दुव्र्यसनी, पूँजीवादी झिलिमिलि, संचार माध्यम र नग्न फिल्महरुले पथभ्रष्ट बनाई रहेकोले त्यस्ता विकृति र विसंगतिबाट उन्मुक्ति दिलाई श्रम प्रति माया गर्ने, सामाजिक बन्न, असल, चरित्रवान, सुसंस्कृत जीवनयापन गराउने सोचले शिक्षा, रोजगार, देशभक्ति भावना, समाजवादी सोचको विकास, कलासंस्कृतिलाई भौतिकवादसंग जोड्ने, साँस्कृतिक क्रान्तिबाट अन्धविश्वास चिर्ने, अध्यात्मिक र वैज्ञानिक सम्मिश्रणले प्रेमको संदेश फैलाई सार्वभौम देश निर्माणमा टेवा पु¥याउने र यहाँको जीवनशैली, भक्तपुरले गरेको शिक्षा र स्वास्थ्यमा गरेको परिवर्तन, सम्पदा संरक्षणमा निभाएको भूमिका, नमुना सरसफाईमा गरेको प्रगति, आन्तरिक र बाह्य पर्यटक भित्र्याई रोजगारी सृजना गर्ने सोच, शान्त, सुन्दर, सुरक्षित भक्तपुर देखाउने र यसको सिको गरी नेपाल भरी यस्तै विकास गर्ने गराउने उदेश्य रहेको छ । 
नेपाल कृषि प्रधान देश हो । कृषिमा आधारित देशमा मलको अभाव, उन्नत विउविजन नहुँदा, देशको सन्तुलित विकास नहुँदा सबै काठमाण्डौं उपत्यका छिर्ने नेता तथा हरेक व्यक्ति उपत्यका नछाड्ने र आफ्नो जन्मथलो विकासमा ध्यान नदिँदा जनसंख्या बृद्धिसंगै काठमाण्डौं उपत्यका धुवाँधूलो, फोहर, चोरी डकैती, दिनदहाडै हत्या लुट, खानेपानी अभाव र सबै कृषि योग्य जमिन कंक्रिटको जंगल बन्न थालेसंगै काठमाण्डौं उपत्यकाका रैथाने आदिवासीहरु रोग, भोक र असुरक्षित महसुस गर्दै छ । कृषि उत्पादन घटेसंगै खानपानको सबै बस्तु विदेशबाट आयात गर्नुपर्दा आर्थिक भार थप्ने नै भयो त्यसमाथि देश गरिबी तर्फ धकेलिने भयो । खेती जमिन घटेपछि काममा पनि कमी आई बेरोजगार उत्पादन भयो । विकासोन्मुख देश भएकोले ठूल्ठूला उद्योगहरु विकास गर्ने सम्भावना छैन भने शासक दलका नेताहरु इमान्दार नहुँदा भ्रष्टाचारमा लिप्त हुँदा उद्योगधन्दा विकास हुने सम्भावना नै रहेन भने भएको उद्योगधन्दा पनि कौडिको मोलमा विदेशीलाई बेच्दा थप नेपालीहरु बेरोजगारको सामना गर्न बाध्य बनायो । यस्तो अवस्थालाई चिर्दै भक्तपुरका जनताहरुलाई रोजगारी प्रवद्र्धन गर्न महोत्सवले टेवा पु¥याउने छ साथै यहाँको परम्परागत नाचगान, दाफाभजन, चाडपर्वलाई पर्यटकसंग जोड्न सके पर्यटकहरुलाई अवलोकन गराएर त्यसबाट शुल्क उठाएर त्यसलाई व्यवसायीकरण गर्न सके त्यसमा नै रोजगारी सृजना हुने अवस्था हुनेछ । त्यस्तै भक्तपुरको नेवारी खाजामा लोभ्याउने योमारी, चटामारी, ओ(बारा), छोय्ला, कचिला, दहीको स्वाद खाना स्टलहरुले रसपान गराएर बाह्य र आन्तरिक पर्यटकहरु भक्तपुरमा खान आउने आकर्षण बढाई त्यससँग सम्बन्धित सरोकारवालाहरुलाई रोजगारी सृजना गर्न सक्ने र स्वस्थ्यवद्र्धक खाजा खानाले स्वस्थ्य, निरोगी स्फुर्ति र फुर्तिला व्यक्ति तयार गरी देशको निम्ति योग्य व्यक्ति निर्माणमा टेवा पु¥याउने छ । यसलाई मध्ये नजर गरी भक्तपुर नगरपालिकाले पर्यटन उद्योगसंग सम्बन्धित विभिन्न समयमा विभिन्न गतिविधि गर्दै आएको छ । यसले भक्तपुर नगरपालिकालाई आत्मनिर्भर नगरको रुपमा विकास गर्न सकिने छ ।
अतिथि देव भवः भन्ने वाक्यलाई साक्षात्कार गर्ने अभियानको रुपमा महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउनु सबैको साझा दायित्व हो । लोपोन्मुख संस्कार, संस्कृति संरक्षण गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ । महोत्सव अवधिभर नगरको आर्थिक गतिविधि वृद्धि हुने साथै सार्वजनिक सम्पत्ति संरक्षणमा टेवा पुग्ने छ । भक्तपुर महोत्सव व्यापारको लागि मात्र नभई संसारभर भक्तपुरको प्रचारप्रसार गर्न हो । महोत्सवले कोभिडमा धेरै आर्थिक क्षति भोगेको भक्तपुरलाई दिगो विकास गर्न आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने छ ।
२०५४ साल कार्तिकमा आयोजित भक्तपुर महोत्सव, २०६९ पुस १६ गते आयोजित भक्तपुर सडक महोत्सव, २०७६ पुस १६ गते आयोजित सन्ध्याकालिन सांस्कृतिक सम्पदा पदयात्रा, २०७९ चैत्र १८ र १९ गते आयोजित सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला, २०८० श्रावण २० गते भक्तपुरका पोखरीहरुको पदयात्रा मेला, २०८० पौष १४ गते बहाबही पदयात्राका साथ योमारी उत्सव भक्तपुर नगरपालिकाले सम्पन्न गरिसकेको छ । त्यसको अनुभव संगाल्दै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउन र भक्तपुर भित्रिने हरेक बाह्य वा आन्तरिक पर्यटकहरुको भक्तपुरमा बास बस्ने गरी उत्प्रेरित गर्न महोत्सवले टेवा पु¥याई यहाँका होटल व्यवसायी लगायत पर्यटनसंग सम्बन्धित हरेक व्यवसाय प्रवद्र्धनको लागि काम गर्ने छ । 
भक्तपुर नगरको गल्लीगल्ली चोकचोक, पुरानो र नयाँ बस्तीहरु सबै समेट्ने गरी यसपालिको भक्तपुर महोत्सवले विभिन्न स्थानमा विभिन्न स्टलहरु राख्ने जमर्को गरेको छ । भक्तपुरको लायकु, क्वाठण्डौं, दत्तात्रय, टौमढी र नगरको विभिन्न स्थानमा हुने प्रगतिशील भजन प्रदर्शनी व्यवस्थापन व्यवस्थित गर्न र त्यहाँ देखाउने भैल प्याखं, शेरसिंह प्याखं, देवि प्याखं, म्हेखा, धुँ, खिचा, माक, भालु, लुसिचा, कुमारी र चर्या नृत्यहरुले महोत्सव थप आकर्षण बनाउने छ । नगरा वादन लायकुमा हुनेछ । पौभा र तस्वीर तब सतःमा, पचपन्न झ्याल चोक(लायकु) र वाँचु त्वःमा हुनेछ । चित्रकला, छ्वालीकला र तस्वीर प्रदर्शनी लायकु, थथुवहि र कुथुबहिमा, परम्परागत पोशाक लायकु, टौमढी, दत्तात्रय र तःपुखुमा, खाना महोत्सव यातु बारे, नागपुखु, खलाँ, जेलाँ, खौमा र भाज्यपुखुमा, हलिमलि छुमा गणेश, वाकुपति नारायण, दत्तात्रय, याछें र टौमढीमा, परम्परागत बाद्यवादन सामग्री मुलाछें र वाकुपति नारायणमा, कुमारी प्रशन्नशील महाविहार, दिपंकर बुद्ध प्रशन्नशील महाविहार, झौरबहि, चतुब्रंम्ह महाविहार, थथुबहि र कुथुबहिमा, नवदुर्गा गछेंमा, शैक्षिक प्रदर्शनी ख्वप कलेज र ख्वप ईन्जिनियरिङ्ग कलेजमा, नौका विहार यातु बारे पुखु, तःपुखु, रानी पुखु र भाज्या पुखु, साइक्लिङ नःपुखुमा, मृत्तिका कलाको सूर्यमढीमा, खेलकुद व्यासी, भौलाछें, लाकुलार्छे, तलातुछिंमा, नेवार जीवन शैलीको गतिविधि व्यासी, ब्रम्हायणी द्यःछे., गछें, जेलाँ, नागपुखु, गलसी पुखु, चोछें, देगमना, दुमलाचा र तापालाछिमा, नौ बाजा सूर्यमढी, सकोलान, दत्तात्रय, टौमढी र बंशगोपालमा, दही महोत्सव याछें, लालाछें, जेंला, चोर्चामा, दीपावली यातुबारे पुखु, तःपुखुमा, बौद्ध प्रकाशन र तस्वीर झौरबहिमा, सहकारीको गतिविधि गोल्मढी याता, बालबालिका मैत्री गतिविधि शहीदस्मृति उद्यान र ल्योसिं ख्यःमा, कृषि उत्पादन पसिखेलमा, घरेलु उत्पादन नासमना, तेखापुखु र नःपुखुमा, व्यापार मेला ब्यासी र पाँचाख्यःमा, पुस्तक लाँम्हुगमा, बुद्ध अस्तु धातु तथा बौद्ध दर्शन मुनिविहार खँचामा, विभिन्न खेलकुद गतिविधि शहीद स्मृति खेल मैदानमा, परम्परागत तोरी तेल बनाउने सःकोलान र ईचाडोलमा, सांस्कृतिक जात्रा पर्व गःहितिमा र परम्परागत बाद्यवादन बाँसुरी प्रतियोगिता प्रदक्षिणा मार्ग हुँदै क्वाठण्डौंमा प्रदर्शनी हुनेछ । 
भक्तपुरमा बसेर कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्ने व्यवसायीहरुले नगरपालिका प्रति जिम्मेवार भई ऐन नियम परिधि भित्र बसेर व्यवसाय गर्ने भक्तपुर महोत्सव नगरपालिकाको लागि नभई नगरबासी र व्यवसायीहरुको आर्थिक र व्यवसायीक प्रवद्र्धनको निम्ति होे । भक्तपुका परिश्रमी जनताको अथक मेहेनत र परिश्रमले भक्तपुरको विकास अगाडि बढेको हो ।
महोत्सवमा कमीकमजोरी भए त्यसको परिणाम नकारात्मक सन्देश जाने भएकोले भक्तपुर महोत्सवलाई जनताको महोत्सव, साझा महोत्सव बनाउनुपर्छ ।
भक्तपुर महोत्सव भक्तपुरका कला संस्कृति, सांस्कृतिक सम्पदा, चाडपर्व, रहनसहन, खाना, परम्परागत खेल आदिलाई देश विदेशमा चिनाउने र देखाउने सुनौलो अवसर हुने छ । विश्वविद्यालयको रुपमा महोत्सवलाई अध्ययन र अध्यापन गर्ने थलोको रुपमा विकास गर्ने छ । धन्यवाद ! 

Comments