एक प्रश्न : ग्लोबलाइजेसन कि आइसोलेसन?
मंसिर १५, २०८१, शनिबार | विहान ०१:२६ बजे | 0
सुनील सापकोटा
म अहिले अस्ट्रेलियाको राजधानी क्यानबेरामा छु। यहाँ नेपालीसहित विभिन्न देशका मानिस हरू रोजगारीका लागि आएका देखिन्छन् । उनीहरूको यो आगमनको मुख्य कारण गाँस, वास, कपास र सुरक्षा हुन सक्छ। एउटा राम्रो घर, आकर्षक फर्निचर, मिठो खाना र उत्कृष्ट लुगा लगाउने रहरले हाम्रो देशका हजारौँ युवाहरु पनि विदेश पलायन भइरहेका छन्।
यदि उनीहरूलाई सोधिन्छ - " तिमीहरू विदेश किन जान्छौ ?" उनीहरूको उत्तर प्रायः एउटै हुन्छ "आजको युग वैश्वीकरणको हो। संसार एउटा ग्लोबजस्तो छ र हामी यसबाट अलग रहन सक्दैनौँ।" यो शौख हुन सक्छ र त्यो पूरा गर्न धन आर्जन गर्ने चाहना व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्ति पनि होला। यहि सोच पुँजीवादको आधार हो र यही कुरामा वैश्वीकरणको जरो गाडिएको छ भन्ने मलाई लाग्छ ।
आज प्रकृतिमा मानवजातिको आवश्यकताहरू पूरा गर्न पर्याप्त साधनहरू छन्। तर हाम्रा अनावश्यक विलासिताका कारण के पृथ्वीको दोहन भैरहेको छैन र ? निरीह जनावरहरूको वध, उपयोगी वनस्पतिहरूको विनाश र सीमाभन्दा बढी खनिज दोहनले गर्दा हामी भूकम्प, सुनामी, तापक्रम वृद्धि र पारिस्थितिक असन्तुलनको सामना गर्दै छैनौ र ? अहिले त कोरोना भाइरस जस्ता नयाँ नयाँ रोगहरूले पनि मानवजातिलाई चुनौती दिएको छ। त्यसैले अब प्रश्न उठ्छ– आफ्नो विलासिताको लागि हामी कति दिनसम्म पृथ्वीको दोहन गरिरहने? आफ्ना शौख पूरा गर्न अझै कति चाहिन्छ? मलाई लाग्छ मनुष्यले आफ्नै विनाशको बाटो आफैँ बनाउँदैछ।
जीवनको संध्याकालमा रोग र एक्लोपन सँग जुध्दै, हाम्रा बुढाबाबु-आमाहरू " मेरो छोराछोरी विदेशमा वेल सेटल्ड छन्" भनेर खुशी मान्ने स्थिति कति दिन टिक्ला ? विकास र उत्पादकत्वको नाममा आजको युगले जीवनका मूल्यहरूलाई जति ह्रास गराएको छ, त्यस्तो विगतमा कहिल्यै भएको थिएन। के जीवन वस्तुहरूको संग्रह र उपभोगका लागि मात्र हो?
यो उपभोग गर्ने को हो ? केवल शरीर हो कि मन र चेतना पनि हो? यदि मनमा प्रेम छैन भने त्यो मानिस खिन्नता, हताशा, छटपटी र डिप्रेसनमा अवश्य पुग्नेछ।
विदेशमा बसेका हाम्रा धेरै नेपाली दाजुभाइहरू जसको मुटु देशका लागि धड्किँदैन, जसले आफ्नो बाल्यकाल बिताएको ठाउँ भुलिसकेका छन्, जसलाई साथीभाइ र नातेदारको सम्झना हुँदैन भने ति कहिल्यै फर्कनेवाला छैनन्। तिनीसँग अब कुनै आशा नराख्दा पनि हुन्छ। विदेशको दौडले केवल शरीरको दूरी मात्र बढाउँदैन, हृदयबाटै आफ्ना नजिकका मानिसहरूलाई टाढा गरिदिन्छ। यो कुरा कोरोनाकालमा बाबुआमा बिरामी हुँदा उनीहरूले अवश्य बुझे होलान्।
म ग्लोबलाइजेसनको विरोधी होइन। तर यसको नाममा जीवनका मूल्यहरू बलिदान गर्नु, आफ्नो धरातललाई बेवास्ता गर्नु, आत्मीय नाताहरूलाई बिर्सनु वैश्वीकरण होइन बरु संकुचन होला । यस्तो वैश्वीकरण मूल्यहीन छ , जसको आधार स्वहितमा टेकेको छ। हामी हिन्दुहरूको अवधारणा वैश्वीकरण होइन। त्यसैले आजका हाम्रा देशका नयाँ आउने युवाहरूलाई म सोध्न चाहन्छु– तपाईंहरूले के रोज्नुहुन्छ? ग्लोबलाइजेसन कि आइसोलेसन? धन्यवाद !