छोलश्वरको १० औ वार्षिक साधारण सभा सम्पन्न
मंसिर १२, २०८१, बुधबार | दिउँसो ०३:५१ बजे | 50
भक्तपुर । छोलेश्वर कृषि सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा भक्तपुर नगरपालिका वडानं ६ का वडा अध्यक्ष हरिराम सुवालको प्रमुख आतिथ्यतामा बासु माविको सभाहलमा सम्पन्न भयो ।
साधारण सभाको उद्घाटन पानसमा दीप प्रज्वलित गरी भएको थियो। कार्यक्रममा प्रमुख अतिथि हरिराम सुवालले वडाका संस्थाहरुमा ऋण लिएर सावा ब्याज नतिर्नेको नामावली वडामा उपलब्ध गराएमा शिफारिश रोक्का गरी तिनीहरुबाट ऋण र ब्याज तिराउन विशेष पहल गरिदिने बाचा गर्दै साधारण सभा सफलताको शुभकामना दिनुभयो ।
मित्र संस्था ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राजकुमार लघुले छोलेश्वर साकोस समुदाय आधारित संस्था भएकोले समुदायको हितका लागि सामाजिक गतिविधी र शेयर सदस्यहरुलाई शीपमूलक आयमूलक तालिम समय समयमा आयोजना गर्नुपर्छ ।सदस्यहरुको सांस्कृति विकासको लागि बाजागाजाको तालिम दिंदा संस्थाको लोकप्रियतामा थप बृद्धि हुन्छ भन्दै साधारण सभा पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
अर्को मित्र संस्था भिन्तुना साकोसका कोषाध्यक्ष गणेशप्रसाद सुवालले सहकारीले सदस्य केन्द्रीत कार्यक्रम मात्र नगरी समुदायको विंकासका लागि पनि योगदान दिनु पनि जरुरी छ भन्नुभयो ।
संस्थाका अध्यक्ष श्यामकृष्ण बासुकलाको सभापतित्वमा सम्पन कार्यक्रममा जिल्ला सहकारीका प्रचण्ड प्रकाश प्रधान, संस्थाका उपाध्यक्ष नारामांन दथेपुथे र सचिव दीपक बासुकलाले पनि संस्थाको गतिविधीबारे चर्चा गर्दै संस्थाको १० औं वार्षिक साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।कार्यक्रमको दोश्रो सत्रमा संस्थाका सचिवद्धारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्यराम बासुकलाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरियो ।