निर्माण व्यवसायीहरु काम गर्नका लागि होइन, ठेक्का पार्नका लागि टेण्डर भर्छन्


मंसिर १०, २०८१, सोमबार | विहान ०८:५२ बजे | 50


निर्माण व्यवसायीहरु काम गर्नका लागि होइन, ठेक्का पार्नका लागि टेण्डर भर्छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले निर्माण व्यवसायीहरुले काम गर्नका लागि नभई ठेक्का पार्नका लागि टेण्डर भर्ने गरेको आरोप लगाएका छन् । नेपाल निर्माण उद्योग परिषद् कार्यालयको सोमबार राजधानीमा उदघाटन गर्दै उनले त्यहीबाट गुणस्तरहिन कामको सुरुवात हुने गरेको दावी गरे । 
कार्यक्रमका प्रमुख अतिथि एमाले महासचिव पोखरेलले काम गर्न नसकिने भएपनि न्युन दरमा टेण्डर भर्ने र त्यही टेण्डर त्यही कम दर भरेकालाई पर्ने बताए । टेण्डर परेपछि काम गर्नुपर्ने बाध्यता हुने र त्यसैका लागि न्युन दरमै कमसल काम गरी कर्मचारीहरुसँंगै पैसाका लागि सेटिंग गर्नुपर्ने आवश्यकता सुरु हुने उनले बताए । किनकि कम दरमा गुणस्तरीय काम हुन नसक्ने अनि गुणस्तरीय काम हुन नसकेपछि भुक्तानी पाउनका लागि कर्मचारीतन्त्रसँंगै मिलेमतो गर्नुपर्ने आवश्यकता सुरु हुने बताए । 
निर्माण व्यवसायीहरुले काम गर्नका लागि नभई अरुलाई काम पार्न नदिनका लागि त्यसो गर्ने गरेको उनको भनाई थियो । अरुलाई भडकाए पछि अरु विषयमा फाइदा हुने गरे पनि निर्माण व्यवसायको क्षेत्रमा घाटा हुने उनले बताए । कममा टेण्डर भरेपछि आफूलाई काम आउने र त्यो काम गर्न नसक्ने भएर आफैंलाई घाडो हुने उनको भनाई थियो । 
फरक प्रसंगमा उनले राजनीतिक पार्टी र नेतालाई मात्रै गाली गरेर देश नवन्ने बताए । देश बनाउनका लागि सवै मिलेर समस्याको समाधानको बाटोतिर लाग्नुपर्ने खाँंचो उनले औंल्याए ।  
नेपाल निर्माण उद्योग परिषद्को कार्यालयको सोमबार राजधानीमा भएको समुदघाटन कार्यक्रममा उनले समाधानको बाटोतिर नलागी एकले अर्काेलाई गाली गरेर मात्रै केही नहुने बताए । 
लोकतन्त्रको खम्वा भनेको राजनीतिक दल हुने र राजनीतिक दललाई बलियो बनाउन सके मात्रै लोकतन्त्र बलियो हुने धारणा उनले पोखे । उनले राजनीतिक दल बलियो भए राज्य बलियो हुने र राज्य बलियो भए मात्रै जनता सक्षम हुने बताए । 
देशको नेतृत्व गर्न अहिले एमाले र कांग्रेस मात्रैले गर्न सक्ने भन्दै उनले अन्य पार्टीहरु आवश्यक नभएको बताए । अहिलेलाई देश कि त एमालेले कि त कांग्रेसले मात्रै अगाडि वढाउन सक्छ, उनले भने, अरुले पनि नेतृत्व गर्ने हो भने त्यही अनुसारको तयारी गरेर अगाडि वढ्नुपर्छ । यही कारण अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएको उनको भनाई थियो । 
हरेक समस्याको समाधान समस्यासँंगसँंगै आएका हुन्छ, उनले भने, त्यसकारण समस्याको समाधानतिर पनि लाग्नुपर्छ, समस्याको मात्रै कुरा गरेर केही हुँदैन । उनले नेपालमा रोजगारी छैन, नेपालमा बसेर केही पनि हुँंदैन भनेर भाष्य निर्माण गरिरहेको बताए । नेपालमै पनि धेरै अवसरहरु रहेको उनले उदाहरणसहित व्याख्या गरे । 
एकजना नेपालीले खाडी गएर जति कमाउँंछ, त्यो भन्दा दोव्वर बढी भारतबाट नेपाल आएका एकजना साइकल व्याईले कमाउँंछ, उनको उदाहरण थियो । काठमाडौंसहित धेरै सहरहरुमै भारतीय नागरिकहरुले धाक्न थालेको भन्दै उनले नेपालमै अवसरहरु हुँंदाहुँंदै नेपालीहरु विदेशिने गरेको बताए । 
कार्यक्रममा नेकपा एमाले जनसंगठन विभाग समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, एमाले केन्द्रिय सदस्य कृष्णबहादुर केसी, नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष बलीभद्र राणा, महासचिव रामशरण देउजालगायतले निर्माण व्यवसायका विविध क्षेत्रबारे चर्चा गरेका थिए । 

Comments