हुनुपर्ने देशभक्त र अन्तर्राष्ट्रवादी हो, तर भएन


कार्तिक २६, २०८१, सोमबार | दिउँसो ०२:२९ बजे | 0


हुनुपर्ने देशभक्त र अन्तर्राष्ट्रवादी हो, तर भएन

राजु तामाङ, काभ्रे 

 हरेक सच्चा कम्युनिस्टहरू सिद्धान्तनिष्ठ र देशभक्त मात्र होइनन् अन्तर्राष्ट्रवादी हुन्छन्। कम्युनिस्टहरू आफ्नो मातृभूमि रक्षा गर्न अन्याय र अत्याचार गर्ने जुनसुकै महाशक्तिसङ्ग पनि मुकाबिला गर्छन्।
कम्युनिस्टहरू निडर र निस्वार्थी हुन्छन्। कम्युनिस्टहरूले यमराजको ढोका ढकढक्याउने साहस गर्छन्।अन्याय र अत्याचार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय जस्तोसुकै शक्तिको अगाडि संघर्ष गर्न डराउने, शिर झुकाउनेहरू र आत्मसमर्पण गर्नेहरू न त कम्युनिस्ट हो,न त तिनीहरू प्रजातन्त्रवादी नै हुन! तिनीहरू त केवल कायर र सच्चाईको निम्ति लड्न नसक्ने काँतर हुतिहाराहरू मात्रै हुन्। तसर्थ कुनै विदेशी शक्ति राष्ट्रले गर्ने आक्रमणको कम्युनिस्ट पार्टीले हर्दम विरोध र भत्सर्ना गर्छ।
साम्राज्यवाद र विस्तारवादको कम्युनिस्ट पार्टीले विरोध गर्नैपर्छ।संसारमा साम्राज्यवादी देश र विस्तारवादी देश भएसम्म कुनै पनि देशको जनताले शान्ति र सुरक्षाको अनुभूति गर्न पाउने छैनन्।उनीहरू स-साना स्वाधीन र सार्वभौम देशहरूमा आक्रमण,अतिक्रमण,थिचोमिचो र दबाब दिइरहेका हुन्छन्। साना देशलाई कहिले आर्थिक सहयोग तथा कहिले विकासको योजना देखाएर असमान सन्धि सम्झौता गरिएको हुन्छ भने कहिले देशको श्रोत साधन आफ्नो नियन्त्रणमा राखिएको हुन्छ। जस्तै पुँजीवादी देशहरू अमेरिकी साम्राज्यवादले भारतीय विस्तारवादलाई आफ्नो दलाल बनाएको र भारतीय विस्तारवादले नेपालको सरकारमा गएका शासक र शासक दलहरूलाई दलाल बनाई कहिले एकापसमा मिलाइदिने,कहिले एकापसमा भिडाइदिने गरेर देशमा राजनीतिक अस्थिरता गराइरहेको,विभिन्न विकासको लोभलालचहरु देखाएर नेपालको नदीनालाहरु,कोशी,गण्डक महाकाली,टनकपुर,माथिल्लो कर्णाली,अरुण तेस्रो र पश्चिम सेती लगायतको जलस्रोतहरु देशघाती असमान सन्धि,सम्झौताहरू गरेर एकाधिकार पुजीको कब्जामा राखेको,नेपालको सिमानाहरु मिचेको र रातारात सीमास्तम्भहरु गायब गरेर हजारौं हेक्टर नेपाली भूमि भारत तर्फ पार्ने काम भारतीय विस्तारवादले गरी नेपाललाई दुख दिने काम गरिरहेको कुरा घामजतिकै छर्लङ्ग छ।त्यस्तै अमेरिकी साम्राज्यवादले पनि नेपाललाई बर्सेनि ५५ अरब अमेरिकी डलर आर्थिक अनुदान दिने र नेपालको आर्थिक उन्नति तीब्र हुने लोभ देखाएर वर्तमान र भविष्यको अमेरिकी नीति र कानूनको पालना गर्नुपर्ने देशघाती एमसीसी सम्झौता तथा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक सोझै कब्जा गर्ने देशघाती एसपीपी सम्झौता पनि नेपालको संसदबाट कानून सरह गरि अनुमोदन गर्यो र पारित पनि गरिदियो।यस्तो देशघाती सम्झौता सहजै पारित गरेर देशमाथि घात गर्ने नेपालको शासक दलहरू काङ्ग्रेस,एमाले,माओवादी लगायत मधेसवादी दलहरूले आफूलाई देशघाती र देशद्रोही दलको रूपमा उभ्याएर परिचित गरिसकेको छ। अब देशभक्त न्यायप्रेमी नेपाली जनताहरुले यी देशघाती विदेशीको दलाल शासक दलहरूलाई चिनेर निर्वाचनमा सचेत हुँदै देशभक्त दलहरूलाई मतदान गरेर संघर्ष गर्न हौसला र साथ दिदै देशघातीहरुलाई दण्डित गर्नुपर्ने स्थिति छ। यी देशघाती शासक नेता र पुँजीवादी पार्टीहरुको झुठो आश्वासन,भोजभतेर,पैसा र अन्य सामनहरुमा आफूलाई पशुको मूल्यमा बेचेर चुनावमा भोट दिनु हुँदैन ।यदि दिएको खण्डमा नेपाली जनताहरुले भविष्यमा आफ्नो देश र आफ्नो अस्तित्व गुमाउनु पर्ने स्थिति आउनेमा कुनै शङ्कै छैन।आफ्नो खुट्टामा आफैले बन्चरो हानेको सावित हुनेछ ।त्यसैले कम्युनिस्टहरूले आक्रमण,अतिक्रमण,र थिचोमिचोको बहादुरी र दृढताका साथ विरोध गर्नुपर्छ तर हाम्रो देशको पटकपटक सरकारमा गएका कम्युनिस्ट भनाउँदा शासक पार्टीहरू माओवादी,एमाले र आफूलाई लोकतान्त्रिक दल दाबी गर्ने नेकाले पनि विदेशी आक्रमण,अतिक्रमण,र थिचोमिचोको विरोध नगरेको र देशको उद्योग कलकारखानाहरू निजीकरण गरि देशको छोराछोरीहरूलाई रोजगारको नाममा विदेशीलाई दस बनाएर बेचेको र सिङ्गो देशलाई नै विदेशी ऋणको पासोमा पारिदिएको हुनाले यिनीहरू कम्युनिस्ट, प्रजातन्त्रवादी र देशभक्त होइनन। यस्तो किसिमको विदेशी आक्रमण,अतिक्रमण र थिचोमिचोको प्रतिकार गरिएन भने कुनै पनि बेला नेपालजस्ता स्वाधीन र सार्वभौम देशहरू साम्राज्यवादी र विस्तारवादी देशहरूले आफ्नो नियन्त्रणमा लिन सक्छ। हो कम्युनिस्टहरू सच्चा मार्क्सवादी र लेनिनवादी हुनुपर्छ।खुस्चेभको जस्तो मार्क्सवाद,लेनिनवादको जामा पहिरिएर सच्चा कम्युनिस्ट पार्टी हुँदैन।आफूलाई ठूला र शासक दल भनिने कम्युनिस्ट पार्टीहरू कम्युनिस्टको सिद्धान्त र विचार व्यवहारमा ल्याउँदैनन। मार्क्सवाद र लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने ती दलको नेताहरू कहिले पनि आमूल परिवर्तन कुरा गर्दैनन्। वर्गसंघर्षको आवश्यकता ठान्दैनन। ती दलका नेताहरू बहुमत कामदार जनताको पक्षमा बोल्दैनन्,बहुमत कामदार जनताको पक्षमा कानून बनाउँदैनन्। ती दलहरू कहिले सत्ताको नेतृत्व गर्छन्,त कहिले प्रमुख प्रतिपक्षमा बस्छन्। उनीहरूको उदेश्य नै कम्युनिस्टको भजन गाएर सत्तामा जान मरिहत्ते गर्ने,सत्तामा बस्ने र प्रतिपक्षमा बस्दा सरकार ढाल्नु रहेकोे हुन्छ। चर्को चर्को कुरा गरेर र सत्ताको निम्ति चलखेल गरेर देशको मुहार फेरिदैन। यो संघीय लोकतान्त्रिक गणतन्त्रले बहुमत कामदार जनताको सेवा गर्न नसकेको समयले देखाइसकेको छ। किनभने यो पुँजीवादी व्यवस्था हो। पुँजीवादी व्यवस्थाले पुँजीपति वर्गकै सेवा गर्छ। विश्वमा भइरहेको शोषण,दमन,अन्याय,अत्याचार,हत्या,हिंसा,लुटपाट,विध्वंस र युद्धको कारक नै पुँजीवाद हो। विश्व सर्वहारा वर्गका महान गुरु कार्ल मार्क्सले भन्नुभएको छ 'पुँजीवादी व्यवस्थामा सरकार भनेको पुँजीपति वर्गको सञ्चालक समिति मात्रै हुनेगर्छ।'र त्यो समिति भनेको पुजीपति वर्गले आफ्नो स्वार्थ अनुरुप आफ्नो हितमा चलाउँछ। कामदार वर्गको सेवालाई त्यसले बेवास्ता गर्छ। त्यसैले पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गको हालीमुहाली हुनु स्वभाविक हो।त्यस कारण बहुमत जनताको सेवा नगर्ने पुँजीवादी व्यवस्था बदल्न कम्युनिस्ट पार्टीले पुर्वाधार तयार पार्दै जानुपर्ने हो। मार्क्सवाद र लेनिनवादबारे या कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारको उदेश्य बारे जनतालाई सुसूचित पार्नुपर्ने हो,संगठित गर्नुपर्ने हो। के ठूला र शासक भनिने कम्युनिस्ट पार्टीले त्यो जिम्मेवारी पुरा गरिरहेको छ?पुरा गरिरहेको छैन भने देशमा कसरी कम्युनिस्ट शासन चल्छ?कुनै कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्दैमा कम्युनिस्ट शासन हुँदैन। अत:सबै कम्युनिस्ट पार्टीहरू समाजवादी गणतन्त्र स्थापना गर्न अगाडि बढ्नुपर्छ। समाजवादी व्यवस्थाको निम्ति राजनीति गर्नुपर्छ।

Comments