भिसिंद्योको फल्चामा बस्दै गर्दा
2024-10-25 16:04:11
अर्जुन कोण्डा
हिजो जस्तो लाग्छ, भक्तपुरको तचुपाल टोलमा साथीहरुको जमघट कार्यक्रम थियो ।साँझ ६ बजे जम्मा हुनुपर्नेमा म अलि चाँदो नै पुगेछु । दत्तात्रय भगवानको दर्शन गरी पश्चिममा रहेको भिसिंद्योको दर्शन गरेँ । रिसाएको रातो मुहारमा डरलाग्दा आँखा र जुंगाले मेरो ध्यान तानिहाल्यो । किनकी घरको भित्तामा पनि यसैको चित्र थियो । एक हातमा घोडा र अर्को हातमा सिँह बोकेको चित्र मलाई असाध्यै मन पथ्र्यो । बुबाले यसलाई भिसिंद्यो भनेर सानोमै चिनाउनु भएको थियो ।
तचुपाल पुग्दा साँझको ५ः३० मात्र भएको रहेछ । साथीहरुलाई कुर्नुपर्ने भयो । अनि म सात गजुरे भिसिंद्यो मन्दिरको फल्चामा गई साथीहरुलाई कुरेर बस्दै थिएँ । मानिसहरुको बाक्लो ओहोर दोहोर भइरहेको थियो । मेरो ध्यान वरिपरिका मठहरुमा आकर्षित भयो । मठहरुको झ्यालमा रहेका कलाकृति र सुन्दर बास्तुकलाले गर्दा मनमा भावनाहरुको ज्वारभाटा माथि माथिसम्म आइरहेको थियो ।
भिसिंद्योको फल्चामा बस्दै गर्दा म हजुरबुबाको पालाको दत्तात्रय मन्दिर कल्पना गर्न थालेँ । दत्तात्रयको दायाँ बायाँ रहेका कुटुवको मुर्तिले तचुपालमा पहरा दिइरहेको भान हुन्छ । दबुको छेउमा दुईटा स्तम्भहरु थिए । स्तम्भको टुप्पोमा एउटा सिंह उडिरहेझैं लाग्ने ढलौटको प्रस्तर मुर्ति थियो । दत्तात्रय सामुन्ने रहेको अर्को स्तम्भमा भने गरुदको प्रस्तर मुर्ति नमस्कार मुद्रामा स्तम्भको टुप्पोमा देखिन्थ्यो । दबुमा बुढापाकाहरु दौरा सुरुवाल(कोफेनङ) मा सज्जिएर आराम गर्दै थिए । कोहि भने कम्मरमा पटुकी कसेर तपालंमा इस्टकोट लगाएर आपसमा गफिदै थिए । उनीहरुका टाउकामा सगरमाथाझै अग्लिएको टोपी देखिन्थ्यो । दत्तात्रय मन्दिरको आँगनमा मिसालंं र हाकुपटासी लगाएका महिलाहरु हरिया सागसब्जी बेच्दै थिए । अनि कोहि भने रंगाइएका पर्सी (सारी) मा पटुकाले बाँधेर तरकारीको मोलतोल गर्दै थिए । उभिँदा उनीहरुका पिडौलामा राधा कृष्णको लाञ्चा पनि स्पष्ट देखिन्थ्यो ।बाटामा खर्पन बोक्नेहरुको बाक्लो उपस्थिति थियो । मुश्किलले साइकल चढेको देखिन्थ्यो । अनि पुर्वमा रहेको इनारमा बाल्टिन खसालेर माटाको गाग्रीमा पानी भर्नेहरुको कचमच पनि सुन्न सकिन्थ्यो । महिलाहरुले बोकेका कुनै गाग्री पित्तलबाट बनेका भएपनि परबाट हेर्दा सुनकै देखिन्थ्यो । कुनै महिलाको कानमा सुनको ढुङ्री असाध्यै सुहाएको देखिन्थ्यो । कोहि भिसिंद्यो पछाडिको ढुङ्गे धारामा नुहाउँदै थिए ।
एक जना महन्त भने पासुका झ्यालमा बसेर सम्पूर्ण गतिविधि नियालेर हेरिरहेका थिए । अनि मठका पेटी (फः)मा बुढापाकाहरु आराम गरिरहेका पनि देखिन्थे ।
एकाएक मेरो नजर केहि ठिटाहरुमा पुग्यो । उनीहरु दत्तात्रयको आँगनमा कबड्डी खेल्दै थिए । कोहि एकदम अग्ला थिए त कोहि पहलमान जस्ता । अनि कोहि दुब्ला पातला थिए । कबड्डी गजबको थियो । विपक्षी समूहलाई झुक्याएर छुने प्रयास रमाइलो थियो । बुढापाकाहरु यसैमा रमाइरहेका थिए । यसरी खेल चलिरहँदा भिसिंद्यो मन्दिर मुनिको सिंढीबाट उक्लेका एक युवकले पनि कबड्डीमा भाग लिए ।
कबड्डी घमासान चलिरहेको थियो । भर्खर खेल्न थालेको युवकको खेल रोमाञ्चक थियो । हेर्दा पहलमान त थिएन, शरीर पातलै थियो । तर पहलमानलाई पनि भुुइमा पछार्न सक्षम थियो । अनि
उसले कबड्डी कबड्डी भनिरहँदा उसलाई समाउने आँट कसैको थिएन । मैले त्यहाँ उपस्थित ठिटाहरुसँग नयाँ युवकको परिचय मागेँ । तर थाहा नभएको जानकारी पाएँ । अरु थुप्रैलाई सोधेँ ।कसैले पनि नयाँ खेलाडिलाई चिनेकै रहेनछन् । खुलदुली कायम थियो । मैले थाहा पाएँ कि त्यो युवक हरेक दिन कबड्डी खेल्न आउँदा रहेछन् । अनि सधैँ आफ्नो समूहलाई जिताएरै जाँदा रहेछन् । मलाई ईष्र्या लाग्यो । मैले त्यो युवकलाई हेरिरहेँ । त्यो युवकले अँध्यारो नभएसम्म कबड्डी खेलिरह्यो । खेलको अन्तमा उनी कहाँ जान्छन् भन्ने हेर्न चाहेको थिएँ । उनी कसका छोरा हुन् भनेर पत्ता लगाउन चाहेको थिएँ । तर मेरो आँखा उसलाई पछ्याउन असफल भए । उनी कहाँ हराए, कहाँ हराए , थाहै पाउन सकिनँ ।
बुढापाकालाई सोध्दा उनी कुस्तीबाज पनि रहेको थाहा पाएँ । तर कसैले पनि उनको खोजी गरेका रहेनछन् ।दत्तात्रय चोकको प्रत्येक कुनामा त्यही युवक खोजेँ । फेला पार्न सकिनँ । उनी यसरी हरेक दिन कबड्डी खेल्न आउने गरेको नजिकै बसिरहेका बुढापाकाले बताए ।
यतिकैमा एउटा साँढे हुत्तिदै म भएतिर आयो । म आफूलाई बचाउन उफ्रेर भागेँ । त्यहाँ त अरु थुप्रै साँढेहरु पनि रहेछन् । महन्त र धनी साहु महाजनहरु टिन र थाल बजाउँदै साँढेको जुढाइ हेर्न पो बसेका रहेछन् ।
अग्ला अग्ला पेटीमा बसेर साँढे जुढेको हेरेर रमाइरहेका महन्त र साहु महाजनलाई हेरेर तरकारी बेच्न आएका ज्यापूनी महिलाहरु सरापिरहेका थिए । अनि डराएर लाखापाखा लागिरहेका थिए ।
मलाई सराप्नुको कारण जान्न मन लाग्यो । मैले सोधेँ , किन त्यसरी सराप्दै हिड्नु भएको? कोफेनङ लगाएका एक युवकले भने, दिउँसो यी साँढेहरुको जुढाइ हुन्छ, राती खेतको धानबारीमा पनि साँढेकै रजाइ हुन्छ । आफूले खेतको काम नगर्ने साहूलाई त रमाइलो लागिहाल्छ नि। वर्षभरिको परिश्रम धान सत्यानास हुँदा पनि दुई तिहाइ बाली तिर्न बाध्य पार्ने पनि तिनीहरु नै हुन् । अझ बाली तिरेको भर्पाइ पनि दिन मान्दैनन्, डाँकाहरुले । अनि बाली तिर्न जाँदा धानमा अलि धूलो मिसिएको हुनुपर्छ, किसानलाई भ¥याङबाट खसाल्छन् । आफूले खाने धानको बोरालाई लात हान्छन् । कुन दिन यी साँढेहरुलाई चार भञ्ज्याङ कटाएर लखेट्छौँ, अनि थाहा हुन्छ ।
रिसले मुर्मुरिएका युवाको कुरा सुनेर आङ सिरिङ्ग भयो । साँढे ढपाउने आन्दोलन आवश्यक रहेको बताउने युवकले भर्पाइ नदिई गरी खाने जनतालाई दुःख दिनेहरुलाई तचुपालबाट लखेट्नैपर्ने बताए । कुरा सुनिरहँदा रगत उम्लिरहेको थियो । अघिको कबड्डी खेल्ने युवकबाट यिनीहरुलाई बलिया बनाउनका लागि कबड्डी खेल्न प्रशिक्षित गर्नुपर्ने महसुुस भयो । अचानक एउटा साँढे म भएतिर फेरि हुत्तिएर आयो। छल्न खोजेँ ।
अचम्म ! म त भिसिंद्योको फल्चा (पाटी) बाट तल पो खसेछु। आफू कल्पनामा डुबेर सपनामा हराएको रहेछु। केहिबेरमा साथीहरु आइपुगे । मैले सम्पूर्ण व्यहोरा बताएँ । साथीहरु गललल हाँसे । कसैले विश्वासै गरेनन् । पल्लो कुनामा बसिरहेको जुंगावाला एक जना बुढो मान्छे मलाई हेरेर मुसुमुसु हाँसिरहेका थिए ।
प्रतिक्रिया