एमाले सरकारमा जान हुँदैन थियोः विजुक्छें
बैशाख २७, २०८२, शनिबार | दिउँसो ०३:३९ बजे | 60
मोरङ, २७ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विराटनगर मोरङमा अवस्थित मकालु टेलिभिजनका सञ्चारकर्मी अभय राईसँग समसामयिक विषयमा छलफल गर्नुभयो ।
कार्यक्रममा उहाँले भन्नुभयो, नेपालको संसदीय प्रणाली वेस्ट मिनिस्टर अनुसार भएकोले दोस्रो दल एमाले सरकारमा जान हुँदैन, कि त चीनको जस्तो संसदीय प्रणाली अवलोकन गरको भन्नुपर्छ । उहाँले प्रतिपक्ष कमजोर भएको खण्डमा सरकारको हावी हुने बताउँदै नेमकिपा बाहेकका सबै पार्टी मिलेर सरकार गठन हुँदा पनि कामदार जनताका लागि काम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारमा गएका पार्टीहरुले देश र जनताको हितमा कानुन बनाउनुपर्नेमा व्यक्तिगत स्वार्थमा लाग्दा नेपाली जनताले दुख पाएको बताउनुभयो । उहाँले नेपाली काङ्ग्रेसका वीपीले प्रजातान्त्रिक समाजवादको कुरा उठाएको तर व्यवहार त्यसो नदेखिएको र एमालेले जनताको मत लिनको लागि मात्र कम्युनिस्ट नाम राखेको धारणा व्यक्त गर्दै मुख्य कुरा सिद्धान्त रहेको उल्लेख गर्नुभयो ।
उहाँले जनतालाई सैद्धान्तिक रुपमा सचेत पार्न समय लाग्ने कुरा बताउँदै हिन्दुस्तानमा पनि कुनै बेला कम्युनिस्टहरुको बहुसंख्यक रहेकोमा पुँजीपतिहरुले जातजाती, भाषा, संस्कृति र धर्मको नाउँमा विभाजन गराएको बताउनुभयो । उहाँले अहिले पनि हिन्दुस्तानको केरालामा कम्युनिस्ट सरकारले राम्राराम्रा काम गरि रहेको हुनाले पुँजीपतिहरु डराइ रहेको हो, भन्नुभयो ।
उहाँले नेपालको बुद्धिजीविहरुबीच पनि विधिवता रहेको हुनाले वास्तविक प्रजातन्त्रको विषयमा छलफल हुनुपर्ने बताउँदै बुद्धिजीविहरु पद र पैसाको लागि लाग्न नहुने बताउनुभयो । उहाँले कम्युनिस्टले चलाएको सरकारले गरेको आर्थिक विकास अरुले गर्न नसकेको प्रस्ट पार्नुभयो । उहाँले अगाडी बढी सकेको विचार र व्यवस्थाका शक्तिहरुबीच मतभेद भएपछि प्रतिगामीहरु अघि आउन खोज्नु स्वाभाविक हो, भन्नुभयो ।