काँग्रेस, एमाले र माओवादीले आफ्नो स्वार्थ र सत्ता जोगाउनेबाहेक केही पनि काम नगरेको आरोप
मोरङ, २७ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले मोरङका विभिन्न सञ्चारका सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुभयो ।
भेटघाटका व्रmममा अध्यक्ष बिजुक्छेँले आजसम्म पटकपटक सरकारमा गएका काँग्रेस, एमाले र माओवादीले आफ्नो स्वार्थ र सत्ता जोगाउने बाहेक देश र जनताको हितको निम्ति कुनै पनि काम नगरेको बताउनुहुँदै उहाँले निर्वाचनको बेला राजनीतिक दलले घोषणापत्रमा उल्लेख गरेअनुसार काम नगर्नु जनतालाई विश्वासघात गरेको बताउनुभयो ।
उहाँले वर्तमान समयमा एमालेले काम गर्न नसक्नु र काँग्रेसभित्र पनि विभिन्न असन्तोषहरू देखिएको हुँदा निर्वाचनबाट बहुमत प्राप्त राजनीतिक दलले मात्र सरकार सञ्चालन गर्नुपर्ने र दोस्रो ठूलो दलले प्रतिपक्षमा बसेर सरकारलाई बाटो देखाउने काम गर्नुपर्नेे विचार व्यक्त गर्नुभयो ।
उहाँले व्यापक जनता सैद्धान्तिक रूपमा सचेत नभएसम्म काम गर्न गाह्रो हुने विचार व्यक्त गर्नुहुँदै उत्पादनका साधन राष्ट्रियकरण नहुने र कलकारखानालाई निजीकरण गर्ने व्यवस्था समाजवादी सिद्धान्त विपरीत भएको प्रष्ट पार्नुभयो ।
समाजवादमा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुने भएकोले पुँजीवादी व्यवस्थामा जसले काम गर्न सक्छ ऊ अघि बढ्ने र जसले काम गर्न जान्दैन ऊ पछि पर्ने हुँदा समाजवादी सिद्धान्तको व्यापक प्रचारप्रसार सञ्चारकर्मीहरूले पनि गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालको शासक पार्टीको नाम कम्युनिष्ट हुँदैमा कामदार जनतको हित नहुने बताउँदै नाम भन्दा पनि काम हेर्नुपर्ने औल्याउनुभयो । उहाँले किसान र मजदुरहरुको नेतृत्वमा जबसम्म आन्दोलन हुँदैन त्यसबेलासम्म किसान र मजदुरवर्गले सुख नपाउने भन्नुभयो ।
उहाँले नेमकिपाले लिएको सिद्धान्तलाई जनतामाझ पु¥याउन कार्यकर्ताहरु गाउँगाउँमा गएर जनताबीच अन्तरक्रिया गर्दै आएको उल्लेख गर्दै जनताले कम मत दिनुको अर्थ प्रतिपक्षमा बस्नु भनेकोले नेमकिपा जनताको मतअनुसार आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताउनुभयो ।
उहाँले शासक दलभित्र पनि केही राम्रो मान्छे भएको तर पार्टी भित्रको आलोचना र आत्मलोचनाको दरले त्यसलाई दबाउनाले समग्र देशलाई समस्या भएको हो, भन्नुभयो । उहाँले पञ्चायती व्यवस्थाविरुद्ध लड्नका लागि वामपन्थी र नेपाली काङ्ग्रेस मिलेर विगतमा आन्दोलन गरी बहुदल पुनःस्थापना भएको कुरा बताउँदै सबै पार्टीले आ–आफ्नो सिद्धान्तबारे जनतालाई बताउनुपर्छ, भन्नुभयो ।
उहाँले पञ्चायतको समयमा नेपाल मजदुर किसान पार्टी र कार्यकर्ताहरुलाई नस्ट पार्न खोज्ने राजतन्त्रको पक्षमा नेमकिपा कहिल्यै नरहेका स्पष्ट पार्दै जनताले पुरानो कुरा मन नपराएरै पञ्चायतको अन्त्य गरेको बताउनुभयो । कार्यक्रममा अध्यक्षज्यूले पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुदीप अधिकारीलाई पार्टी प्रकाशन दिनुभएको थियो ।