समाजसेवामा रोल्पाली चेली यमकला
कार्तिक २, २०८१, शुक्रबार | दिउँसो ०२:५७ बजे | 75
नन्दलाल खरेल
‘सेवा नै धर्म हो’ भन्ने मान्यता बोकेकी ‘रोल्पाली चेली फाउण्डेशन’ कि अध्यक्ष यमकला के.सी. दशैंको कोजाग्रत पूर्णीमा कार्तिक १ गतेको दिन शङ्करापुरानगरपालिका बडा नं. ६ स्थित सलम्बुटारमा रहेको द्वन्द पिडित तथा अपांग समाज नेपालका बालबालिकालाई टीका लगाई दक्षिणा दिई फलफूल खुवाएकी छिन् ।
उनीसँग समाजसेवी तथा बरिष्ठ पत्रकार राजन थापा समेत सहभागी भएका थिए । थापाले विभिन्न सहयोगी मन भएका दाता तथा समाजसेवीहरुलाई उक्त ‘अपाङ्ग समाजमा’ विगत लामो समय देखि पुर्याउने गरेका छन् ।द्वन्द पिडित तथा अपाङ्ग समाज नेपालका अध्यक्ष युवराज थापा वैरागीले फेरी आफूले बालबालिकाहरुलाई भविष्यमा पनि थुप्रै सहयोग गर्ने कुरा बताए । द्धन्द पिडित तथा अपाङ्ग बालबालिकाहरुलाई सहयोग गर्ने उनमा विशेष रुचि छ । यमकला त्यहाँ पुग्दा बालबच्चाको अवस्था देखेर भावुक बनेकी थिइन् । उनी अपाङ्ग बालबालिकासँग नाचगान गरेर समेत रमाएकी थिइन ।
द्वन्द्व पडिति तथा अपाङ्ग समाज नेपाल देशको प्रमुख प्रशासकीय भवन सिंहदरवारबाट १६ कि.मि उत्तरमा अवस्थित रहेपनि राज्यको आँखा सामाजिक कार्य गर्ने यस्ता संस्थामा कहिलेपनि नपरेको बताउँछन् ।
अध्यक्ष युवराज थापा बैरागी आफूपनि पूर्ण रुपमा अपाङ्ग छन् । उनको कम्मर चल्दै चल्दैन । तर उनले विगत दुई दशकदेख विभिन्न अपाङ्ग तथा द्वन्द्व पिडित बालबालकिाहरुको लालनपालन, औषधिउपचार तथा शिक्षा दिक्षा गराईरहेका छन् । समाजमा हाल ५३ जना बालबच्चा, बालबच्चा रेखदेख गर्ने आमाहरु,कर्मचारी र आफू सहित ६३ जना रहेका छन् । वभिन्नि सहयोगी मन भएका व्यक्तहिरु तथा दाताहरुबाट बालबालकिाको खर्च जुटाईरहेका छन् । उनी भन्छन्, राज्यले २०७३ सालदेखि वार्षिक रुपमा ५ लाख दिइरहेको भएपनि त्यसले एक छेउ पनि नपुग्ने दुखेसो पोख्छन् । स्थानीय निकायले हामीलाई कुनै सहयोग गरेको छैन । समाजसेवी तथा पत्रकार राजन थापाले हामीलाई सहयोगको वातावरण जुटाइरहनु भएको छ । आफूबसेको यो ठाउँ पनि अब ०८२ जेठ देखि छोड्नुपर्ने अवस्था रहेकोले यी लालाबाला लिएर कता जाने हो ? कुनै टुङ्गो नरहेकोले यी द्वन्द्व पिडित बालबच्चहरु अब कहाँ लगेर कसरी व्यवस्थापन गरौं भन्ने चिन्ताले पिरोलेको छ भन्दै मिडियाकर्मीसँग दुखेसो व्यक्त गर्छन् । उनी भन्छन् कुनै निकायले हामीलाई उपर्युक्त स्थान उपलब्ध गराउने हो भने त्यहिं स्थानमा हामी भबन बनाउने हिम्मत गर्छौं ।
यमकला एकदमै सरल महिला हुन् । उनमा कत्तिपनि बडब्पन छैन् । उनको सानै देखि समाज सेवामा रुचि थियो । विगत दुई दशक देखि विभिन्न समाज सेवामा उनि सक्रिय छिन् । भूकम्प, कोरोनामा उनले थुप्रै पिडित परिवार, असाहाय, गरिब , अपाङ्गहरुलाई सहयोग गरेकी थिइन् । यद्यपि उनी आफुले गरेको सहयोग लुकाउन खोज्छिन् । यमकलाले बि.सं २०८० सालमा ‘रोल्पाली चेली फाउण्डेशन’ खोली विभिन्न सामाजिकार्यहरुमा सक्रिय छिन् । यो फाउण्डेशन मार्फत उनले अनाथ बालबालिका ,बृद्ध बृद्धाहरुलाई सहयोग पुर्याउदै आएकी छिन् । त्यति मात्र होइन विभिन्न महिलाहरुलाइ सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउदै आएकी छिन् । उनले फाउण्डेशन मार्फत नेपाल सरकार, विभिन्न बाह्य निकाय बाट पनि सहयोग जुटाई समन्वय गरि उदाहरणीय काम गरेकी छिन् ।उनले आफ्नो गृह जिल्लामा खुङ्री गाउँपालिकाअन्तर्गत भव्य बृद्धा आश्रम बनाउदै छिन् । पर्यटकिय हिसाबले पनि त्यो निर्माणस्थल भविष्यमा निकै महत्वपूर्ण हुने ठानिएको छ ।
उनी समाज सेवामा जति अब्बल छिन् । त्यति नै गायनमा बेजोड छिन् । हालै तिजको नजिक गायिएको गीत ‘ शिवजीको नाम’ अहिले निकै चर्चामा छ । यो गीतमा गायन ,नृत्य र शब्द सबै उनको रहेको छ । समाजसेवा र गायनमा मात्र होइन खेलप्रति पनि उनको त्यतिकै रुचि छ । उनी ताइक्वान्दो खेलाडी हुन् । खेलले मानिसलाई अनुशासित बनाउने उनको धारणा छ । खेलको माध्यमले देशलाई विश्वमा चिनाउने काम गर्दछ उनी भन्छिन् । उनी कुनैपनि राजनितिक दलमा आबद्ध छैनन् । यद्यपि सबै राजनीतिक दलका नेताहरु संग उनको सहकार्य छ । भविष्यमा उनी राजनीतिका माध्यमबाट समेत देश र समाजसेवा गर्ने इच्छा व्यक्त गर्छिन् । राजनीति भनेको सेवा र त्याग हो । तर यहाँ राजनीतिलाई फोहोरी बनाइयो उनी भन्छिन् ।