आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा योजनामा छौं ः एआईजी बज्राचार्य


असोज २१, २०८१, सोमबार | दिउँसो ०२:४० बजे | 75


आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा योजनामा छौं ः एआईजी बज्राचार्य

भक्तपुर ः काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले चाडपर्वको बेला कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने सम्भावना रहेको भन्दै त्यस्तो गरेको पाइएमा जोकोही कानुनी कारबाहीमा पर्ने बताएकी छिन् । 
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबार संघको सभाहलमा आयोजित व्यवसायमैत्री वातावरणका लागि प्रहरी प्रशासन र ट्राफिक व्यवस्थापनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा एआईजी बज्राचार्यले कानुन भन्दा बाहिर गएर कसैले काम नगर्न आग्रह गरिन् । उनले बजारमा अनुगमन टिम परिचालित रहेको जानकारी दिँदै कालोबजारी लगायतका क्रियाकलाप हुन नदिन सबै सचेत हुनुपर्नेमा जोड दिइन् । सबै नागरिकले कानुनलाई टेकेर काम गर्नुपर्ने भन्दै उनले कानुन विपरीत क्रियाकलाप गर्नेहरु कारबाहीमा पर्ने बताइन् । 
एआईजी बज्राचार्यले असोज ११ गतेदेखि उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सुरु गरेको जानकारी दिइन् । ‘विशेषगरी चाडपर्वको बेला मदिरा सेवन, होहल्ला गर्ने, तिहारमा पटाका पड्काउने, झगडा, चोरी लगायतका क्रियाकलापमा बढी हुने गरेको छ’, उनले भनिन्, ‘यस्ता क्रियाकलाप हुन नदिनका लागि प्रहरीले सुरक्षा योजना सुरु गरेको हो ।’
ट्राफिक प्रहरीबाट अहिले सबैभन्दा बढी मापसे गरी सवारी चलाउनेहरु कारबाहीमा पर्ने गरेको भन्दै उनले दोस्रोमा ओभरस्पिड र तेस्रोमा अनुशासन विपरीत सवारी चलाउनेहरु कारबाहीमा पर्ने गरेको बताइन् । चालकको लापरवाहीका कारण सबैभन्दा बढी सडक दुर्घटना भइरहेको हुनाले चालकहरु अनुशासित हुन जरुरी रहेको उनको भनाइ छ । 
भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले प्रशासनले जिल्लामा सुशासन कायम गर्ने सवालमा जिम्मेवारीपूर्वक लागिपरेको बताइन् । उनले बजार सुशासन र सडक सुशासन गर्न प्रहरी एक्लैको प्रयासले मात्रै सम्भव नहुने भएकाले आमनागरिक सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले ट्राफिक नियमलाई सबैले पालना गरे मात्र सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । जिल्लाका व्यवसायीहरुले व्यवसाय सञ्चालनको क्रममा भोगिरहेको ट्राफिक समस्याको बारेमा आफूहरुको ध्यानाकर्षण भएको भन्दै व्यवहारिक समस्या समाधानका लागि आफूहरु पनि सकारात्मक रहेको उनले जानकारी दिए । 
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले भक्तपुर उद्योग वाणिज्य संघ जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुको छाता संस्था रहेकोले उद्योगी व्यवसायीहरुले भोग्दै आएका समस्या समाधान गर्न सम्बन्धित निकाय र कार्यालयहरुमा पहल गर्दै आएको बताइन् । व्यवसायीहरुले भोगिरहेका समस्याहरु समाधानका लागि प्रहरी प्रशासन र ट्राफिक प्रहरीसँग आवश्यक सहयोग तथा समन्वय हुने विश्वासका साथ अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताइन् । 
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, महासचिव नविन प्रजापति लगायत जिल्लास्थित विभिन्न वस्तुगत संघका अध्यक्षहरुले उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याको बारेमा जानकारी गराएका थिए । 
यसैबीच, संघले एक कार्यक्रमको आयोजना गरी हालै सरुवा भइआएका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकी, सशस्त्र प्रहरी बल नं. २२ हेक्वाका सशस्त्र प्रहरी उपरीक्षक बासुदेव लोहनी, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपाने, प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक रमेश पाल, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका ट्राफिक प्रहरी निरीक्षक प्रदिप खत्री र औद्योगिक क्षेत्र बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भुपालराज शाहलाई जिल्लामा स्वागत गरेको छ । 

फाेटाेमा हेर्नुहाेस्...

आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा योजनामा छौं ः एआईजी बज्राचार्य

Comments

ताजा खबर