नौ रात कुनकुन दिन कुनकुन शक्तिपीठमा गइन्छ ?
असोज १६, २०८१, बुधबार | दिउँसो ०२:२७ बजे | 50
भक्तपुर । दसैको सुरुवातसँंगै भक्तपुरमा हुने नवरात नवरात (नौ राते) मेला बिहीबारदेखि सुरु हुँंदैछ । प्रत्येक वर्ष दसैंको घटस्थापनासँंगै सुरु हुने नौ राते मेला यहाँंका विभिन्न नौ शक्तिपीठहरुमा दैनिक फरकफरक दिनहरुमा लाग्ने गर्दछ ।
रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरु यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्छन् । तथापि विहान पनि मेला नलाग्ने होइन । तर विहानको तुलनामा साँंझको समयमा मेला भर्न सयौं बाजागाजाका साथ टोलटोलबाट हजारौ भक्तालुहरु सहभागी हुने गर्दछन् । त्यसकारण यसलाई नवरात भनेर धेरै स्थानीयहरु बुझ्ने गर्दछन् ।
नवरातको नौ दिन नौ छुटाछुटै शक्तिपीठमा बिहान र साँंझ दिनमा दुई पटक मेला लाग्ने गर्दछ । यस अनुसार पहिलो दिन भक्तपुरको ब्रम्हायणीमा मेला लाग्छ । अन्तिम दिन पनि यही ठाउँंमा मेला लाग्ने गर्दछ ।
परम्परा अनुसार पहिलो दिन ब्रम्हायणी, दोश्रो दिन द्धिदीयामा महेश्वरी, तृतीयामा अर्थात् तेस्रो दिन कुमारी, चतुर्र्थी अर्थात चौथो दिन भद्रकाली, पञ्चमी पाचौं दिन बाराही, षष्ठी छैटौ दिन इन्द्रयणी, सप्तमी सातौ दिन महाकाली, महाअष्टमी आठौ दिन महालक्ष्मी, महानवमी नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन विजया दशमीको दिन फेरी ब्रम्हायणीमा मेला लाग्ने गर्छ ।
अन्तिम दिन ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्छ । यस दिन यो ठाउँंमा भक्तपुरसहित काठमाडौं, ललितपुर र भक्तपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरुबाट दसौं हजार जात्रालु मेला भर्न ब्रम्यहाणी जाने गर्दछन् । दशैको यी दिनहरुमा विहान र बेलुका भक्तपुर दरवार स्क्वायरस्थित तलेजु मन्दिर विशेष मेला लाग्ने परम्परा छ । यी मेलाहरुमा नगरभरिका दसौं हजार भक्तजनहरु बजागाजाकासाथ उल्लासमय रुपमा सहभागी हुने गर्दछन् ।
नवरातको क्रममा बालकालिकादेखि बृद्धबृद्धासम्म सहभागी हुने गर्दछन् । तर पनि युवा उमेरका युवायुवती वढी रमाउने गर्दछन् । यो बेला तन्नेरी उमेरका युवायुवती एक आपसमा जिस्किएर रमाउने परम्परा अझै छ ।
यसबाहेक भक्तपुरको दसैंका विभिन्न विशेष आकर्षणहरु रहेका छन् । खम्ये जात्रा (राँंगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरु यहाँंको दशैका आकर्षणहरु हुन् । यीबाहेक पनि दसैंको दस दिन भक्तपुर नगरका ठाउँंठाउँंमा विभिन्न मेला जात्रा हुने गर्दछन् ।
इतिहास एवं संस्कृतिविद् डा वीरेन्द्रप्रसाद कायष्ठ मुल दशैं देशभरि मनाउने गरे पनि भक्तपुरको दसै विशेष आकर्षण रहने सुनाउँंछन् । उनका अनुसार दसैको दस दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्दछन् । प्रत्येक दिन एकएक शक्तिपीठमा जात्रा हुने गर्दछ । उनका अनुसार विजयादशमीको दिन तलेजुमा खड्गको पुजा हुन्छ । यसलाई नेवारीमा पायोन्हायाकेगू भन्ने चलन छ । यो दिन प्रेम सम्बन्धमा बसेका जोडीहरुले भागेर विवाह गर्ने गरिन्छ । यसरी यो दिनको विवाहलाई कानुनी मान्यता दिइन्छ । यस दिन भागी विवाह बाहेक मागी विवाह, ब्रतबन्ध आदि शुभ कार्यहरु गर्ने चलन छ । यो दिनलाई शुभ साइतको रुपमा लिने गरिन्छ । यस दिन साइत नजुडेका जोडीहरुको विवाह गरिदिने चलन छ ।