अनमोल साकोसको १५ औं वार्षिक साधारण सभा सम्पन्न
असोज १३, २०८१, आइतबार | विहान ०९:३१ बजे | 90
भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यविनायकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष बच्चुराम थापाले गरेका हुन् ।
सभामा बोल्दै अध्यक्ष थापाले सरोकारवाला निकायबाट उचित अनुगमन र निर्देशनको कमीले केही सहकारीमा आइपरेको समस्याले गर्दा समग्र सहकारीले आक्षेपको सामना गर्नु परेको बताए ।
संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको उनले बताए ।
नियमित बचत गर्नै बानीको विकास गर्नका लागि आफ्नो सहकारीले विगतका वर्षमा विभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी दिँदै अध्यक्ष थापाले आगामी दिनमा अझै थप नयाँ योजना अगाडि सार्ने जानकारी दिए ।
सभामा बोल्दै वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले इजरायलबाट नेपालले सहकारी शिक्षा सिकेको तर छोटो समयमै इजरायलले सहकारी क्षेत्रमा ठूलो फड्को मारेको बताए । उनले भने, “इजरायलमा समुदायमा रहेर सहकारी चलेको थियो भने नेपालमा समुदायमा भन्दा पनि सञ्चालकमुखी भएर सहकारी चलाएकै कारण नेपालका केही सहकारीले गर्दा सबै सहकारीको बदनाम भएको हो ।”
उनले सहकारीका बचतकर्ता र शेयर सदस्यहरुले आफूले बचत गरेको सहकारीले कुन क्षेत्रमा कसरी लगानी गरिरहेको छ भनी चासो लिनुपर्नेमा जोड दिए ।
नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बिदुरमानसिंह बस्नेतले समुदायमा आधारित भएर सञ्चालनमा आएको सहकारीमा कुनै समस्या नभएको स्पष्ट पारे । सहकारी क्षेत्रमा आएको संकटपूर्ण समयमा पनि सदस्यहरूको विश्वास र निरन्तरको साथले अनमोल संस्था सबल बन्दै गएको उनले जनाए ।
सभामा साकुरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र कुमार मिश्र, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, श्रीकृष्ण प्रणामी सेवा समिति कटुञ्जेका संरक्षक तुलसी प्रसाद कोइरालालगायतले सहकारीमा देखिएको समस्या, आर्थिक मन्दि लगायतका विविध समस्याका बाबजुद पनि अनमोल सहकारीले गरेको उपलब्धी अत्यन्तै सम्मान जनक रहेको बताए ।
संस्थाका सचिव राजु श्रेष्ठले संस्थाले सहकारी सिद्धान्त, ऐन, नियम, विनियम र आचार संहिताको पूर्ण पालना गर्दै आफ्नो सदस्यहरुका छरिएर रहेको पूँजीलाई संकलन गर्दै आफ्ना सदस्यहरुका बीच उत्पादनमूलक, सिपमूलक, आयमूलक, व्यवसायमूलक र रोजगारमूलक क्षेत्रहरुमा लगानी गरी आर्थिक तथा सामाजिक रुपले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको बताए ।
उनले आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधि तथा चालु आर्थिक वर्ष २०८१र०८२ को योजनाको जानकारी गराए ।
कोषाध्यक्ष वेल्सी दाहाल थापाले संस्थाले आफ्नो वित्तिय कारोबारलाई मात्र सीमित नराखी संस्थाले समाजमा खेल्नु पर्ने सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सो सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बारे जानकारी दिइन् ।
उनले संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा २ करोड ७ लाख ८६ हजार ५ सय १६ रुपैयाँ खूद आम्दानी गरी एक करोड २४ लाख ८६ हजार ५ सय ९२ रुपैयाँ खर्च गरी ८२ लाख ९९ हजार ९ सय २४ खूद नाफा गरेको जानकारी दिइन् ।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी वृद्धि गर्ने उद्देश्यले संस्थाका सदस्यहरुलाई नियमानुसार शेयर खरिद गर्न र थप सुविधा सहितको नयाँ कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए ।
उनले संस्थामा काम गर्ने कर्मचारीहरुको मनोबल र आत्मबल बढाउन समय, काल, परिस्थिति अनुरुप आवश्यक नयाँ ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने नीति अवलम्बन गर्नुपर्ने तथा संस्थाको आर्थिक एवं प्रशासनिक व्यवस्था समयानुकुल सुदृढ गर्नका लागि विद्यमान नीति नियम र कार्यविधिहरु परिमार्जन गर्दै लैजानु पर्ने सुझाव दिए । साथै उनले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका प्रबन्ध निर्देशक राजु थापाले आफ्नो दीर्घकालिन विकासको लागि स्पष्ट रणनैतिक योजना बनाई लागू गर्दै जाने हो भने संस्थाले लिएको उद्देश्य सहजै पूरा गर्न सकिने बताए । उनले आर्थिक वर्ष २०८१र०८२ का लागि संस्थाले लिएको लक्ष्य तथा कार्य योजना प्रस्तुत गरे ।