सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने चन्दादाताहरु सम्मानित
असोज १३, २०८१, आइतबार | विहान ०६:३५ बजे | 40
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ६ बाहाखाबजारस्थित मन्दिर, पाटी, पोखरी, कुवा आदिको पूर्ननिर्माणमा आर्थिक एवं भौतिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको छ ।
पुरानो थिमि महादेव मन्दिर, पाटी, पोखरी तथा कुवा पुर्ननिर्माण उपभोक्ता समितिद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उक्त ऐतिहासिक सम्पदाहरुको पुननिर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गर्दै मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले हाम्रा मौलिक अनि ऐतिहासिक सम्पदा हाम्रा पहिचान भएकोले यसको पुननिर्माण र संरक्षण हाम्रो दायित्व भएको बताउनुभयो ।
उक्त सम्पदाहरु पुननिर्माणमा मध्यपुर थिमि नगरपालिकाबाट रु.२२ लाख र स्थानीय मनकारी चन्दादाताबाट आर्थिक र भौतिक सहयोग प्राप्त भएको स्थानीय समाजसेवी एवं अभियन्ता महेश कारञ्जीतले जानकारी दिनुभयो । जीपकृष्ण चित्रकारको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, मथिनपाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, निवर्तमान उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मथिनपा वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापति, मथिनपा वडा नं. ६ की महिला नगरसभा सदस्य एवं समाजसेवी अरुणा कारञ्जीत लगायतका अतिथि वक्ताहरुले परम्परागत, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरुको महत्वबारे प्रष्ट पार्दै सहयोगी एवं सम्मानित सबैलाई बढाई दिनुभयो । स्थानीय समाजसेवी राजेश कारञ्जीतले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा पुरुषोत्तम कारञ्जीतले स्वागत मन्तव्य र सुर्जेलक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त सम्पदा पुननिर्माण कार्यक्रम पुरानो थिमि महादेव मन्दिर पुननिर्माण उपभोक्ता समिति, महादेव मन्दिर पाटी पुननिर्माण उपभोक्ता समिति र बाहाखाबजार पोखरी तथा कुवा निर्माण उपभोक्ता समितिले संयुक्त रुपमा आयोजना गरिएको स्थानीय समाजसेवी महेश कारञ्ज्ीतले जानकारी दिनुभयो । कार्यकक्रमका सभापति जीपकृष्ण चित्रकारले हाम्रा मौलिक, सांस्कृतिक अनि ऐतिहासिक सम्पदाहरु हाम्रा पहिचान भएकोले यसको पुननिर्माण र संरक्षण स्थानीय सरकार र स्थानीय बासिन्दाको दायित्व भित्रै पर्ने बताउनु भयो । मध्यपुर बैंक्वेट बाहाखाबजारमा भएको उक्त सम्मान कार्यक्रममा रु.५० हजार भन्दा बढि आर्थिक सहयोग गर्ने व्यक्तिलाई दोसल्ला सहित चाँदीको फ्रेम भएको प्रमाणपत्रद्धारा विशेष सम्मान गरिएको थियो ।
त्यसैगरी रु.२५ हजार भन्दा बढि आर्थिक सहयोग गर्ने स्थानीय बासिन्दा, रु.५ हजार भन्दा बढि आर्थिक भौतिक सहयोग गर्ने झण्डै १ सय जना स्थानीय बासिन्दाहरुलाई सम्मान गरिएको थियो । स्थानीय समाजसेवीहरु हितराज श्रेष्ठ, कृष्णबहादुर घजु, मधुसुदन कारञ्जीत, सुन्दरी कारञ्जीत लगायतका चन्दादाताहरुलाई मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, निवर्तमान नगरउपप्रमुख अञ्जनादेवी मधिकर्मी, मथिनपा वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापति लगायतका अतिथिले सम्मान गर्नु भएको थियो ।