स्थानीयद्धारा सञ्चालित सहकारीमा समस्या छैनः– उपप्रमुख श्रेष्ठ
असोज ९, २०८१, बुधबार | विहान ०४:२७ बजे | 55
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्थानीय बासिन्दाद्धारा नीति, विधि र प्रविधिमा आधारित सहकारीमा कुनै समस्या नरहेको बताउनु भएको छ ।
मध्यपुर थिमि नपा ६ बाहाखाबजारस्थित विश्वास बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपप्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
विश्वास सहकारीका अध्यक्ष तुल्सीभक्त श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले मथिनपाले जारी गरेको सहकारी ऐनको कार्यान्वयन भइरहेको भन्दै साधारणसभामा सबै शेयर सदस्यहरु उपस्थित भएर बृहत छलफल गर्नुपर्नेमा जोड दिनु भयो ।
उपप्रमुख श्रेष्ठले मथिनपा भित्रका १ सय २८ सहकारीमा स्थानीय बासिन्दाको १५ अर्ब भन्दा बढि रकमको कारोवार भइरहेको जानकारी दिदैं सहकारी ऐन, नीति, विधि र पद्धति अनुसार स्थानीय बासिन्दाले सञ्चालन गरेका समुदायमा आधारित सहकारीमा कुनै समस्या नभएको बताउनु भयो । विश्वास सहकारीका अध्यक्ष तुल्सी भक्त श्रेष्ठले सहकारी अभियानमा विश्वास सहकारीले सबैको विश्वास जितेको भन्दै हालसम्म २ हजार २ सय २५ शेयर सदस्य र २ करोड १६ लाख ३ हजार २ सय रुपैंया शेयर पुँजी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका सञ्चालक पञ्चकृष्ण श्रेष्ठ, जिल्ला सहकारकी संघ भक्तपुरका विरेन्द्र भक्त प्रधाना»्ग, मित्र सहकारी मध्ये बाबा सहकारी शंखधरचोकका अध्यक्ष ज्ञानराम श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । संस्थाका सचिव सुरेश साहु श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विश्वास सहकारीले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, शैक्षिक, स्वास्थ्य लगायतका गतिविधिहरु बुँदागत रुपमा प्रष्ट पार्नु भयो । संस्थाका कोषाध्यक्ष लक्ष्मण कारञ्जीतले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले आ.व.२०८०=०८१ मा २५ लाख ५७ हजार ६ सय ७८ रुपैंया खुद बचत (नाफा) गर्न सफल भएको तथ्य प्रस्तुत गर्नुभयो । लेखा संयोजक माधव बहादुर श्रेष्ठले लेखा सपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । मध्यपुर बैंक्वेट बाहाखाबजारमा भएको उक्त कार्यक्रममा संस्थाका असल बचतकर्ता, ऋणि, उत्कृष्ट बालबचतकर्तालाई पनि उपहार सहित सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थाको हालसम्मको संक्षिप्त गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।