केही सञ्चालकका कारण सहकारी क्षेत्रमा प्रश्न


असोज ८, २०८१, मङ्गलबार | दिउँसो ०१:४७ बजे | 40


केही सञ्चालकका कारण सहकारी क्षेत्रमा प्रश्न

सागर गरागाईं
मध्यपुर थिमि । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले केही सहकारीका सञ्चालक एवं व्यक्तिका कारण सहकारीमा समस्या देखिएको र शेयर सदस्यहरुले विभिन्न प्रश्न उठाएको बताउनु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधर चोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री थापामगरले उक्त विचार व्यक्त गर्नुभएको छ । 
कार्यक्रमका प्रमुख अतिथि मन्त्री थापा मगरले नीति, विधि र पद्धतिमा सञ्चालित समुदायमा आधारित शंखधर साकोसका आर्थिक, सामाजिक एवं शैक्षिक कार्यको प्रशंसा गर्दै केही बहुउद्देश्यीय सहकारीका कारण बचत तथा ऋण सहकारीका सञ्चालक प्रति पनि सर्वसाधारणले शंका गरेको धारणा राख्नु भयो । शंखधर सहकारीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि बल्ल, भक्तपुर जिल्ला सहकारी संघका सचिव रामप्रसाद कासुला, मध्यपुर थिमि नपा सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित लगायतका अतिथि वक्ताहरुले बढि ब्याज र उपहारको लोभमा पर्दा साँवा पनि गुम्ने खतरा रहेको भन्दै स्थानीय बासिन्दाद्धारा समुदायमा आधारित सहकारीमा मात्र कारोवार गर्न सबैलाई आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले राष्ट्रिय विभूतिको नाममा सञ्चालित शंखधर सहकारीले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, शिक्षा सम्मान, स्वास्थ्य शिविरदेखि संस्कृति संरक्षण लगायतका कार्यहरु गर्दै आएको बताउनु भयो । संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले संस्थाको हालसम्मको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै कोरोना महामारीदेखि नै शेयर सदस्यहरुसँग निरन्तर सहकारीमा देखिएका चुनौति, समस्या र समाधानका उपाय सम्बन्धमा जानकारी, अन्र्तक्रिया गर्दै आएकोले संस्था प्रति शेयर सदस्यहरुको विश्वसनियता कायम रहेको बताउनु भयो । 
संस्थाका कोषाध्यक्ष न्हुछेराज बज्राचार्यले आ.व. २०८०=०८१ मा शंखधर सहकारीले ८२ लाख ६७ हजार ७ सय ९४ रुपैंया खुद बचत (नाफा) भएको तथ्य प्रस्तुत गर्नुभयो । संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष केशवमान श्रेष्ठले स्वागत मन्तव्य र लेखा संयोजक हिरारत्न बज्राचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जेष्ठ पुरुष र महिला शेयर सदस्यलाई दोसल्ला र उपहार सहित सम्मान गरिएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरक्षेत्र भित्रका आदर्श मावि लाय्कु, गणेश मावि नगदेश, बालप्रेमी मावि सुँगाटोल र जनक सिद्धिकाली मावि सिद्धिकाली चोकमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रछात्रालाई नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो । शेयर सदस्यका छोराछोरी मध्ये गतवर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका छात्रछात्रालाई पनि नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा गत वर्ष मध्यपुर थिमि व्यापि अन्तर सहकारी बुद्धिचाल प्रतियोगिताका विजयी शेयर सदस्य रवि श्रेष्ठलाई नगद रु.१० हजार सहित सम्मान गरिएको थियो । संस्थाद्धारा आयोजित विभिन्न तालिम, शिविर आदिमा सहयोग गर्ने संस्था र व्यक्तिलाई कदरपत्र प्रदान गरिकएको उक्त साधारणसभा स्थानीय शंखधर बैंक्वेटमा भएको थियो । 

Comments