मध्यपुर थिमिमा नापतौल डोर कार्यक्रम सुरु


असोज ६, २०८१, आइतबार | विहान ११:०१ बजे | 35


मध्यपुर थिमिमा नापतौल डोर कार्यक्रम सुरु

भक्तपुर ः मध्यपुर थिमी नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा मध्यपुर थिमी नगरपालिकामा आइतबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ । 
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले मध्यपुर थिमी नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । पहिलो दिन मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमी स्कुल अगाडि कार्यालय राखेर सञ्चालन गरिएको डोर कार्यक्रममा स्थानीय व्यवसायी, व्यापारीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गराएको संघले जनाएको छ । संघका अनुसार मध्यपुर थिमी नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत सोमबार शंखधर चोकमा र मंगलबार ३ नं. वडा कार्यालय परिसर कौशलटारमा कार्यालय राखेर टोलीले सेवा दिनेछ । 
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले जानकारी दिइन् । 
संघका कोषाध्यक्ष एवं संघअन्तर्गतको बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले व्यापारी व्यवसायीहरु नजिकै आफूलाई पायक गर्ने स्थानमै आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा खुसी भएका छन् । नापतौल डोर कार्यक्रमबाट व्यापारी व्यापारीहरु नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए । 
गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक गोविन्द पहारीले मध्यपुर थिमी नगरपालिकाका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको जानकारी दिए । 
यसअघि जिल्लाका भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमिमा नापतौल डोर कार्यक्रम सुरु
मध्यपुर थिमिमा नापतौल डोर कार्यक्रम सुरु

Comments