लक्ष्मी मार्ट परिसरमा नापतौल डोर सञ्चालन


असोज २, २०८१, बुधबार | दिउँसो ०२:२६ बजे | 25


लक्ष्मी मार्ट परिसरमा नापतौल डोर सञ्चालन

भक्तपुर ः सूर्यविनायक नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सूर्यविनायक नगरपालिकामा सञ्चालित नापतौल डोर कार्यक्रमअन्तर्गत बुधबार पनि लक्ष्मी मार्ट परिसरमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ । 
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । सूर्यविनायक नगरपालिकाको पूर्वी भेगका व्यापारी व्यवसायीहरुलाई लक्षित गरी मंगलबार र बुधबार लक्ष्मी मार्ट परिसरमा कार्यालय राखेर डोर कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ । संघका अनुसार सूर्यविनायक नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत बिहीबार र शुक्रबार गाम्चा चोकमा डोर कार्यालय राखेर टोलीले सेवा दिइनेछ । 
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले जानकारी दिइन् । 
संघका कोषाध्यक्ष एवं संघअन्तर्गतको बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले व्यापारी व्यवसायीहरु नजिकै आफूलाई पायक गर्ने स्थानमै आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा खुसी भएका छन् । नापतौल डोर कार्यक्रमबाट व्यापारी व्यापारीहरु नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए । 

Comments