ज्ञानमाला गुरुकाे स्मृति सभा
असोज २, २०८१, बुधबार | दिउँसो ०१:१७ बजे | 95
मध्यपुर थिमि, असाेज २ । मध्यपुर थिमि क्षेत्रका ज्ञानमाला भजनकाे अग्रज गुरु स्वर्गीय देव बहादुर बज्राचार्यकाे स्मृतिमा मंगलबार श्रद्धाञ्जली सभा सम्पन्न भयाे ।
मध्यपुर थिमि नगर क्षेत्रमा पहिलोपटक महिलाहरुलाई सार्वजनिक रुपमा भजनमा सहभागिता गराउन सबै भन्दा पहिला ज्ञानमाला भजन प्रशिक्षण दिई सामाजिक रुपान्तरणमा नेतृत्व गर्नु भएका अग्रणी ब्यक्तित्व भजन गुरु देवबहादुर बज्राचार्यका शिष्यहरुद्वारा स्थापित पलिस्था पुचः मरुटाेलले गुरुकाे सम्मान तथा स्मृतिमा श्रद्धाञ्जली सभा आयाेजना गरिएको थियाे ।
भजन गायनमा पुरुषकाे साथ साथै महिलालाई पनि सहभागी गराई गीत, संगितकाे माध्यमद्वारा समाज परिवर्तन र विकास गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु भएका गुरु आफैले गीत, संगित रचना गरि निरन्तर ज्ञानमाला भजनकाे श्रीबृद्धीमा लाग्नु भएका भजन गुरु बज्राचार्य ७५ बर्षकाे उमेरसम्म पनि ज्ञानमाला भजन लेखन, गीत, संगितकाे साधना तथा नयाँ पिढीका युवा पुस्तालाई भजन प्रशिक्षणमा सक्रिय रहनु भएकाे थियाे । ।
पलिस्था पुचःका अध्यक्ष सम्झना श्रेष्ठको संयाेजन तथा अध्यक्षतामा सम्पन्न शाेक सभामा मथिनपा ४ नं वडाका वडा अध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, पाटीबिहार ज्ञानमाला भजन खलःका गणेशराम प्रजापति, मैत्रीय ज्ञानमाला भजन खलःका चनेलाल मानन्धर, पलिस्था पुचःका सदस्य करुणा बज्राचार्य लगायतका भजन गायक, गीत, संगितका कलाकारहरुले लाेकेश्वर ज्ञानमाला भजनका गुरु स्वर्गीय देवबहादुर बज्राचार्यले मध्यपुर थिमि क्षेत्रकाे ज्ञानमाला भजनकाे विकास र विस्तार तथा सामाजिक सेवामा गर्नु भएकाे याेगदानकाे महत्व र अनुकरणीय कार्यहरुकाे बारेमा मन्तव्य दिनु भएको थियाे । ज्ञानमाला भजन गुरुकाे सम्मान र स्मृतिमा पाटीबिहार ज्ञानमाला भजन खल:, मैत्रीय ज्ञानमाला भजन खल:, पलिस्था पुच:, नवदुर्गा भजन खल:, बालकुमारी आईतबार भजन खल:, र गायक तथा संगीतकार हरिसुन्दर लाखे श्रेष्ठ लगायतका कलाकारहरुले ज्ञानमाला भजन, गीत संगित र शाेक भजन गायनहरु प्रस्तुत गरिएको थियाे ।