स्वयम्भूमा अत्याधुनिक शौचालय ः यी हुन् शौचालयका विशेषता
मंसिर ११, २०७७, बिहीबार | दिउँसो ०३:०८ बजे | 30
काठमाडौं ः स्वयम्भूको बुद्धपार्कमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ । स्वचालित नमूना सार्वजनिक शौचालयको काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उदघाटन गर्नुभयो । ४०० बर्ग फिट क्षेत्रफलमा निर्मित उक्त शौचालय ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । शौचालय निर्माणका लागि वडा नं. १५ ले ५ लाख रुपैयाँ र बाँकी एरोसानले लगानी गरेको हो । शौचालयमा मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड निकाल्न मिल्ने मेसिन समेत जडान गरिएको छ ।
यी छ शौचालयको विशेषता
स्वचालित शौचालयमा भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएको छ । यस्तै शौचालय भवनबाट आकाशेपानी संकलन गर्ने प्रविधि जडान गरिएको हो । १२ हजार लिटरको पानी संकलन ट्याङ्की राखिएको एरोसानका राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री छ ।
उहाँका अनुसार शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई डाईपर फेर्न मिल्ने ठाउँ, महिनावारी भएका बेला प्याड लिन र फेर्न मिल्ने ठाउँ तथा प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (हृयाण्ड ड्रायर) समेत जडान गरिएका छन् ।
सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय ः प्रमुख शाक्य
काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । शौचालय उदघाटन गरेपछि शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको बताउनुभयो ।
महानरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले उक्त ठाउँलाई शौचालय पार्कका रुपमा विकास गर्ने वडाको योजना रहेको बताउनुभयो । उहाँले पार्कमा आउने व्यक्तिले १० रुपैयाँ शौचालयमा तिर्नुभन्दा त्यस बराबरको चिया खाने र उनीहरुले त्यागेको दिशापिसाब संकलनबाट बायोग्याँस उत्पादन हुने बताउनुभयो ।
सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्ने, पहुँच बढाउने, पेटोल पम्प लगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्ट लगायत निजी तथा व्यवसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिक रुपमा सञ्चालन गर्ने महानगरपालिकाको योजना रहेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा ३० देखि ४० वटासम्म शौचालय निर्माण गर्ने योजना बनाएको छ ।