चाँगुनारायण नगरपालिकास्थित सुडालमा नापतौल डोर


भदौ २८, २०८१, शुक्रबार | विहान १०:०४ बजे | 10


चाँगुनारायण नगरपालिकास्थित सुडालमा नापतौल डोर

भक्तपुर ः भक्तपुर जिल्लास्थित चाँगुनारायण नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा चाँगुनारायण नगरपालिकामा सञ्चालित नापतौल डोर कार्यक्रमअन्तर्गत तेस्रो दिन शुक्रबार सुडालमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।
नगरपालिकाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । पहिलो दिन बुधबार दुवाकोट र दोस्रो दिन बिहीबार दुवाकोटमा डोर कार्यक्रम सञ्चालन गरिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक बोधराज ढकालले जानकारी दिए । 
संघका अनुसार चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत ३० गते आइतबार नगरकोट ६ नं. वडा कार्यालय परिसर र ३१ गते सोमबार कृषि सेवा केन्द्र, गोठालेचौर ताथलीमा डोर कार्यालय रहने छ । संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उद्योगी, व्यवसायीहरुले आफ्नै घरनजिकबाट सेवा प्राप्त गरी लाभान्वित भएको बताइन् । 
संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको बताए । 
चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन गर्नुअघि भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीले भक्तपुर नगरपालिकाका विभिन्न ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

चाँगुनारायण नगरपालिकास्थित सुडालमा नापतौल डोर

Comments