झौखेलमा दिइयो नापतौल डोर सेवा
भदौ २७, २०८१, बिहीबार | विहान ११:२८ बजे | 60
भक्तपुर ः भक्तपुर जिल्लास्थित चाँगुनारायण नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा चाँगुनारायण नगरपालिकामा सञ्चालित नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन बिहीबार झौखेलमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।
नगरपालिकाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । पहिलो दिन बुधबार दुवाकोटमा डोर कार्यक्रम सञ्चालन गरिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक बोधराज ढकालले जानकारी दिए । डोर कार्यक्रममा स्थानीय व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको उनले बताए ।
संघका अनुसार चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत २८ गते शुक्रबार सुडाल प्रहरी चौकी परिसर, ३० गते आइतबार नगरकोट ६ नं. वडा कार्यालय परिसर र ३१ गते सोमबार कृषि सेवा केन्द्र, गोठालेचौर ताथलीमा डोर कार्यालय रहने छ । संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
आफ्नै घरआँगनमा आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताए । गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ ।
यसअघि भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीले भक्तपुर नगरपालिकाका विभिन्न ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...