चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रम सुरु
भदौ २६, २०८१, बुधबार | दिउँसो १२:१४ बजे | 35
भक्तपुर ः भक्तपुर जिल्लास्थित चाँगुनारायण नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा चाँगुनारायण नगरपालिकामा बुधबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले पहिलो दिन दुवाकोटमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । दुवाकोट क्षेत्रका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक बोधराज ढकालले बताए । संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नापतौल डोर कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले व्यवसायी तथा व्यापारीहरुका लागि नापतौलका सामग्री अत्यन्त महत्वपूर्ण सामग्री रहेको बताउँदै नापतौलका सामग्रीहरुको समयमा नै दर्ता तथा नवीकरण गर्नुपर्नेमा जोड दिइन् ।
गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लाका टोल टोलमा डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको संघका कोषाध्यक्ष एवं संघअन्तर्गतको बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताए ।
संघका अनुसार चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत २७ गते बिहीबार झौखेल ३ नं. वडा कार्यालय परिसर, २८ गते शुक्रबार सुडाल प्रहरी चौकी परिसर र ३० गते आइतबार नगरकोट ६ नं. वडा कार्यालय परिसरमा डोर कार्यालय राखेर टोलीले सेवा दिने भएको छ । यसैगरी, ३१ गते सोमबार कृषि सेवा केन्द्र, गोठालेचौर ताथलीमा डोर कार्यालय रहने छ ।
यसअघि भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीले भक्तपुर नगरपालिकाका विभिन्न ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...