आदर्श आजादमा भक्तपुर काण्डको भर्त्सना
भदौ २१, २०८१, शुक्रबार | दिउँसो ०१:३३ बजे | 60
भक्तपुर । नेपाल क्रान्तिकारी महिला संघको आयोजनामा आदर्श आजादमा "भक्तपुर काण्ड"को भर्त्सना गरियो। २०४५ साल भाद्र ९ गते नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट गर्ने उद्देश्यले निर्दलीय पञ्चायति व्यवस्थाले राज्यस्तरबाट रचेको भक्तपुर काण्डको स्मरणमा एक कार्यक्रमको आयोजना गरिएको थियो।
नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय प्रतिनिधि रोशनमैयाँ सुवालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्राचार्य एवम् तत्कालीन राजबन्दी श्रीकृष्ण किसी, सहायक प्राचार्य चक्रबहादुर चाकतु, नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका प्रतिनिधि एवम् इकाई अध्यक्ष शिवराम बोहजूले आ-आफ्नो मन्तव्यका साथ अनुभव आदानप्रदान गरिएको थियो।
निरंकुश र तानाशाही पञ्चायती राज्यसत्ताले निर्दोष भक्तपुरबासीप्रति गरेको दमन,चरम यातना र ज्यादतीको विरोधमा भक्तपुरबासी र न्यायप्रेमी जनता ,पत्रकार ,वकिलहरु एकजुट भइ लागेको चर्चा गर्दै तानाशाही शासकहरुले गर्न सक्ने यस्ता अन्याय- अत्याचारको विरुद्धमा सदा लाग्नुपर्ने र नयाँ पुस्ता पनि सदा सचेत रहनुपर्ने चर्चा गरिएको सो कार्यक्रम आयोजक समितिका अध्यक्ष सुभद्रा दुवालको सभापतित्वमा सम्पन्न भएको थियो।