थिमि जेसीजद्धारा सम्पदा पदयात्रा
2024-09-03 12:19:46
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमिको अग्रणी सामाजिक संस्था मध्येको थिमि जेसीज्ले सामाजिक कार्य अन्तर्गत मध्यपुर थिमिमा बृहद् सम्पदा पदयात्रा गरेको छ ।
थिमि जेसिज् वर्ष २०२४ का अध्यक्ष जेसी उज्जवल श्रेष्ठको सभापतित्वमा भएको उक्त पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले युवाहरुको व्यक्तित्व अनि नेतृत्व विकासमा कार्य गर्दै आएको थिमि जेसिजले ऐतिहासिक सम्पदास्थल मध्यपुर थिमिमा सम्पदा पदयात्रा मार्फत थिमि क्षेत्रलाई राष्ट्रिय अनि अन्र्तराष्ट्रिय स्तरमा परिचित गराएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री थापाले स्वास्थ्य बिमा मार्फत वार्षिक ५ लाख रुपैंया सम्मको उपचार खर्च मिलाउन आफू संघीय सरकारसँग समन्वय गरिरहेको जानकारी पनि दिनुभयो । मन्त्री थापाले भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगायतका अस्पतालहरुको स्तरोन्नति, सेवा, सुविधा विस्तार एवं गुणस्तर कायम गर्न आफू सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर छलफलमा रहेको समेत जानकारी दिनुभयो । मन्त्री थापाले स्वास्थ्य सेवा सबैको पहुँचमा, सरल, सहज, छिटो र सस्तो गराउन आफू प्रयत्नशील रहेको भन्दै स्वास्थ्य सेवा हाम्रो जीवनसँग सोझै जोडिएको संवेदनशील विषय भएको धारणा राख्नु भयो । थिमि जेसीज्को आयोजना र मध्यपुर थिमि नपा ४ वडाको आर्थिक सहयोगमा भएको उक्त सम्पदा पदयात्रा कार्यक्रमको बारेमा उक्त वडाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, थिमि जेसीज्का अध्यक्ष उज्ज्वल श्रेष्ठ लगायतले प्रष्ट पार्नु भएको थियो । थिमि जेसिज्को लोगो अंकित टिसर्ट लगायतका करीब १ सय युवायुवतीले शंखधरचोकदेखि बोडेको कुमारीपार्क सम्म पदयात्रा गरेका थिए । थिमि जेसिज्का पूर्व अध्यक्षहरु विजय श्रेष्ठ, जीवन श्रेष्ठ, नवीन श्रेष्ठ लगायत थिमि जेसिज्का झण्डै १ सय जना युवायुवतीहरु उक्त सम्पदा पदयात्रामा सहभागी थिए । सम्पदा पदयात्रा मध्यपुर थिमिको शंखधरचोकबाट सुरु भई शंखधर पार्क, बालकुमारी, विष्णुवीर, लाय्कु, दुइपोखरी, दिगुटोल, सिद्धिकाली मन्दिर, नगदेश, मीलरोड, बोडे कमलपोखरी हुँदै कुमारीपार्कमा पुगेर समापन गरिएको थियो । युवापुस्तादेखि वयस्क सबैले विहान बेलुका हिड्दा मध्यपुर थिमिका सम्पदास्थल घुमेर मनोरञ्जनसँगै स्वास्थ्यलाभ गराउने एवं हाम्रा मौलिक, सांस्कृतिक, ऐतिहासक पहिचानहरुको प्रचार प्रसार गर्ने उद्देश्यले थिमि जेसीज्ले सम्पदा पदयात्रा आयोजना गरेको थिमि जेसिज्का अध्यक्ष उज्जवल श्रेष्ठले जानकारी दिनुभयो । थिमि जेसीजले सम्पदा पदयात्रा, हाजिरीजवाफ, वतृत्वकला, चित्रकला, विभिन्न विषयमा अन्तक्र्रिया लगायतका व्यक्तित्व र नेतृत्व विकासका कार्यहरु गर्दै आएको थिमि जेसीज्का अध्यक्ष उज्ज्वल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया